नेभिगेशन
समाज

विकास आयोजनाको निगरानीका लागि समिति बनाउँदै सामाजिक विकास कार्यालय 

सामाजिक विकास कार्यालय रुकुम पश्चिमले विकास निर्माण आयोजना अनुगमन तथा निगरानी सहकार्य समिति गठन गर्न थालेको छ ।

जिल्लामा सञ्चालन हुने विकास निर्माणका आयोजना तथा कार्यक्रमको गुणस्तरीय, पारदर्शी र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न कार्यालयले समिति गठन गर्ने जनाएको छ । 

जसका लागि कार्यालयले राजनीतिक दलहरु र नेपाल पत्रकार महासंघबाट प्रतिनिधि पठाउन आग्रह गरेको छ । कार्यालय प्रमुख मितलेश कुमार यादवका अनुसार चालु आर्थिक वर्ष ०८३/०८४ मा सञ्चालन हुने विकास निर्माण आयोजना तथा कार्यक्रमको स्थलगत अनुगमन, समस्या पहिचान, सुझाव संकलन तथा सम्बन्धित सरोकारवालाबीच आवश्यक समन्वय गर्न विकास निर्माण आयोजना अनुगमन तथा निगरानी सहकार्य समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

उहाँले जिल्लाभित्रका विभिन्न स्थानीय तह तथा स्थानमा सञ्चालन हुने विकास निर्माणका आयोजना तथा कार्यक्रमको नियमित अनुगमन तथा निगरानी गर्न स्थानीय तहमा सरोकारवाला तथा राजनीतिक दलहरुको रचनात्मक सहभागिता र सहकार्य आवश्यक रहेकोले समिति गठन गर्न थालिएको बताउनुभयो । 

यसका लागि जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दललाई प्रत्येक स्थानीय तहका लागि आफ्नो दलको तर्फबाट एक जना प्रतिनिधिको नाम, पद र जिम्मेवारी र सम्पर्क नम्बर समेत उपलब्ध गराउन अनुरोध गरिएको छ । 

कार्यालयले यस्तो सहकार्यबाट विकास निर्माण आयोजनामा सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तर कायम गर्न सहयोग पुग्नुका साथै स्थानीय जनताको सहभागिता र जनविश्वास अभिवृद्धि हुने अपेक्षा गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज