नेभिगेशन
समसामयीक
निजामती सेवा दिवस

निजामती सेवा दिवस : उत्सवभन्दा आत्ममूल्याङ्कनको समय

आज निजामती सेवा दिवस। संयोगले आजै राष्ट्रिय शोकको दिन पनि परेको छ।

सामान्य अवस्थामा आजको दिन राज्य सञ्चालनको स्थायी संयन्त्रका रूपमा रहेको निजामती सेवाका उपलब्धि, अनुभव, सुधारका अभ्यास र आगामी कार्यदिशाबारे विमर्श गर्ने अवसर हुनुपर्ने थियो। तर, देशका केही भूभागमा बाढी र विपद्ले निम्त्याएको मानवीय क्षति, विस्थापन र पीडाबीच यो दिवस मनाइरहँदा उत्सवभन्दा आत्ममूल्याङ्कनको आवश्यकता अझ गहिरो देखिएको छ।

नेपालमा निजामती कर्मचारीलाई राज्यको ‘स्थायी सरकार’का रूपमा लिइन्छ। सरकार परिवर्तन हुन्छन्, राजनीतिक नेतृत्व फेरिन्छ, तर प्रशासनिक संयन्त्र निरन्तर रहन्छ। त्यसैले देशको नीति कार्यान्वयन, सेवा प्रवाह, विकास व्यवस्थापन, सुशासन तथा विपद् व्यवस्थापनमा निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ।

तर आज हामीले आफैँलाई एउटा गम्भीर प्रश्न गर्नुपर्ने बेला आएको छ - "हामीले अहिलेसम्म देशलाई कति विपद्–प्रतिरोधी र प्रकृतिमैत्री विकासतर्फ अघि बढाउन सकेका छौँ ?"

विकासको नाममा सडक विस्तार भइरहेका छन्, नयाँ बस्तीहरू बसिरहेका छन् र भौतिक संरचना निर्माण भइरहेका छन्। तर, कतिपय अवस्थामा नदी किनार, खोला क्षेत्र र खेतीयोग्य जमिनमै अव्यवस्थित बस्ती विस्तार भइरहेका छन्। गाउँका बस्तीहरू क्रमशः खाली हुँदैछन् भने सीमित शहरी क्षेत्र र सडक करिडोरमा जनसंख्याको अत्यधिक चाप बढिरहेको छ। खेतीयोग्य जमिनमा उत्पादनभन्दा घर र टहरा बढिरहेका छन्।

अर्कोतर्फ, देशका योग्य, सक्षम र ऊर्जाशील युवा जनशक्तिको ठूलो हिस्सा रोजगारीका लागि विदेशी भूमिमा श्रमिकका रूपमा जान बाध्य छ। यसले हाम्रो विकासको प्राथमिकता, रोजगारी सिर्जना र राज्यको दीर्घकालीन योजना कति प्रभावकारी छ भन्ने प्रश्न पनि उठाउँछ।

विपद् आएपछि उद्धार, राहत र पुनःस्थापनामा राज्यको ठूलो स्रोत खर्च हुन्छ। तर विपद् आउनुअघि जोखिम न्यूनीकरण, सुरक्षित बस्ती विकास, भू–उपयोग योजना, वातावरण संरक्षण र पूर्वतयारीमा हामीले कति लगानी र ध्यान दिएका छौँ भन्ने प्रश्न अझ महत्वपूर्ण छ। विपद् व्यवस्थापन केवल विपद् आएपछि गरिने उद्धार र राहत होइनस यो विकास योजनाकै अभिन्न हिस्सा हुनुपर्छ।

निजामती सेवामाथि पनि समाजमा अनेकौँ प्रश्न र आरोपहरू उठ्ने गरेका छन्। ढिलासुस्ती, अनावश्यक प्रक्रिया, मिलेमतो, काममा पक्षपात, स्वार्थअनुसार निर्णय गर्ने प्रवृत्ति, बजेट कार्यान्वयनमा कमजोरीलगायतका गुनासा समय–समयमा सुनिन्छन्। यी सबै आरोप सही छन् भन्ने होइन, तर नागरिकस्तरबाट उठेका प्रश्नलाई बेवास्ता गरेर मात्र निजामती सेवाप्रतिको विश्वास बलियो बनाउन सकिँदैन।

त्यसैले निजामती सेवा दिवस केवल औपचारिक कार्यक्रम, शुभकामना आदान–प्रदान र भाषणमा सीमित हुनुहुँदैन। यो दिन हामीले आफ्नो जिम्मेवारी, कार्यशैली र परिणामको समीक्षा गर्ने दिन बन्नुपर्छ।

कर्मचारी हुनु केवल एउटा जागिर गर्नु होइन। यो राज्य र नागरिकबीचको महत्वपूर्ण सेतु बन्नु हो।

एउटा कर्मचारीको एउटा निर्णयले नागरिकको जीवन सहज बनाउन सक्छ, विकासको बाटो खोल्न सक्छ र कहिलेकाहीँ गलत निर्णयले नागरिकलाई थप पीडा पनि दिन सक्छ। त्यसैले पदसँगै जवाफदेहिता, अधिकारसँगै जिम्मेवारी र सेवासँगै इमानदारी आवश्यक हुन्छ।

आजको कठिन परिस्थितिले हामीलाई अझ गम्भीर बन्न आग्रह गरेको छ। देशमा विपद् आउँदा कर्मचारीतन्त्र अग्रपंक्तिमा उभिएर नागरिकको जीवन रक्षा, उद्धार, राहत र सेवा प्रवाहमा सक्रिय हुनुपर्छ। त्यस्तै, विपद् समाप्त भएपछि त्यसको कारण, कमजोरी र सिकाइको वस्तुगत समीक्षा गर्दै भविष्यमा त्यही प्रकृतिको क्षति दोहोरिन नदिने प्रणाली निर्माणमा पनि कर्मचारीतन्त्रको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।

हामीले अब विकासको अर्थ केवल सडक, पुल, भवन र भौतिक संरचना थपिनु मात्र हो भन्ने सोचबाट माथि उठ्नुपर्छ। सुरक्षित नागरिक, सुरक्षित बस्ती, उत्पादनशील जमिन, वातावरणीय सन्तुलन र विपद्–प्रतिरोधी पूर्वाधार पनि विकासकै सूचक हुन्।

निजामती सेवाले राजनीतिक नेतृत्वलाई नीति कार्यान्वयनमा सहयोग गर्ने हो, तर दीर्घकालीन सार्वजनिक हितको पक्षमा आवश्यक प्राविधिक र प्रशासनिक सुझाव दिन सक्ने व्यावसायिक क्षमता पनि विकास गर्नुपर्छ। कर्मचारीतन्त्र न राजनीतिको प्रतिस्पर्धी हो, न राजनीतिक नेतृत्वको मात्र आदेश पालक। यसको मूल जिम्मेवारी संविधान, कानून र नागरिकप्रति उत्तरदायी भएर सार्वजनिक सेवा प्रदान गर्नु हो।

आजको निजामती सेवा दिवसले हामी सबैलाई यही आत्मबोध गराओस्, राष्ट्रसेवा पद र सुविधाभन्दा ठूलो जिम्मेवारी हो।

निजामती सेवा दिवसको अवसरमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई शुभकामना। यो दिवसले हाम्रो सेवामा जवाफदेहिता, इमानदारी, व्यावसायिकता र सेवाभाव थप सुदृढ गर्ने प्रेरणा देओस्।

साथै, रसुवा भोटेकोसी बाढीमा ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। बेपत्ताहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण होस्।

यस कठिन घडीमा सम्पूर्ण देशवासीमा संयमता अपनाउन, आधिकारिक सूचनामा विश्वास गर्न र एकअर्कालाई सहयोग गर्न हार्दिक आग्रह गर्दछु। विपद्को पीडा तत्काल सकिँदैन, तर राज्य, समाज र नागरिकबीचको सहकार्यले त्यसलाई कम गर्न अवश्य सकिन्छ।

आजको दिन उत्सव मात्र होइन हामी कस्तो राष्ट्रसेवा गरिरहेका छौँ र भावी पुस्ताका लागि कस्तो देश निर्माण गर्दैछौँ भन्ने प्रश्न गर्ने दिन पनि हो।

- आठबिसकोट नगरपालिका -९, रुकुम पश्चिम

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्