नेभिगेशन
समसामयीक
यात्रा संस्मरण

स्वर्गको द्वारदेखि प्रतिध्वनि पर्खालसम्म

चाइनिज साथी थियो या-दाङ । उसको अंग्रेजी नाम आदम । २७ जुलाई को बिहानै WeChat मा म्यासेज गर्‍यो । चीनमा फेसबुक, वाट्सयप लगायतका पश्‍चिमा सामाजिक सञ्‍जाल सबै बन्द । अझ उसैले बनाएको टिकटक पनि । मलाई WeChat चलाउन भनिएको थियो । दिनमा बेस्सरी गर्मी हुनेवाला थियो । बिहानै नुहाएँ, कपडा पातलो र छोटो चाहियो । म तयार भएर ब्रेकफास्ट लिदै थिएँ,आदम आइपुग्यो । हामी बेइजिङको मुटुमा रहेको Temple of Heaven गयौँ ।

“यो मन्दिर के हो, आदम ?” मैले आदमलाई सोधेँ । उसले यो मन्दिरको बारेमा बताएको कुरा सम्झनामा आएजति यहाँ उल्लेख गर्न चाहेँ । यो बेइजिङ मा रहेको प्रसिद्ध स्वर्गको मन्दिर (Temple of Heaven) को आशीर्वाद प्रार्थना मण्डप (Qinian Dian) हो । यसलाई चिनियाँ परम्परागत वास्तुकलाको सबैभन्दा उत्कृष्ट नमुना मानिँदो रहेछ ।

यो सन् १४२० मा मिङ राजवंशका सम्राट योङलेले निर्माण गराएका थिए । पछि सन् १५३० मा सम्राट जियाजिङ र सन् १७५० मा छिङ राजवंशका सम्राट कियानलोङले यसलाई पुनर्निर्माण र विस्तार गरेर हालको स्वरूप दिए । यो स्थल मिङ र छिङ राजवंशका सम्राटहरूले वार्षिक "आकाशको पूजा" गर्ने प्रमुख मन्दिर थियो । सम्राटहरू "स्वर्गको छोरा" मानिन्थे, त्यसैले उनीहरूले यही मण्डपमा बसेर खेतीपातीको राम्रो फसल (अन्नबाली) र देशको शान्तिका लागि आकाशसँग प्रार्थना गर्ने गर्थे ।

यसको गोलो आकार "आकाश" को प्रतीक हो, भने यसले अडेको चौकोर आधार "पृथ्वी" को प्रतीक हो । मूल रूपमा माथि नीलो (आकाश), बीच पहेँलो (सम्राट/पृथ्वी) र तल हरियो (वनस्पति) थियो तर पछि कियानलोङले यसलाई पूरै नीलो रंगको छानाले ढाकेर "आकाश" लाई बढी जोड दिए । यसको नीलो छाना र सुनौलो चुचुरो प्रसिद्ध छ ।

772102474_27945633738451510_1981979118012242590_n-1787381737.jpgयसमा बाहिरी १२ वटा स्तम्भ (१२ महिना), भित्री १२ वटा स्तम्भ (दिनको १२ घण्टा), र सबैभन्दा भित्रको ४ वटा स्तम्भ (चार ऋतु) ले मिलेर २८ वटा स्तम्भ बनाउँछ, जसलाई चिनियाँ ज्योतिषमा "२८ नक्षत्र" को रूपक मानिन्छ । माथिको सुनौलो बल सौर्य मण्डल वा आकाशको केन्द्रबिन्दुको प्रतीक हो ।

सन् १९९८ मा यो स्वर्गको मन्दिरलाई युनेस्को विश्व सम्पदा (UNESCO World Heritage) सूचीमा समावेश गरियो । यसलाई पूर्वी एसियाको सबैभन्दा आध्यात्मिक र वैज्ञानिक वास्तुकला मानिन्छ । आजकल यो बेइजिङको सबैभन्दा लोकप्रिय पर्यटक आकर्षण केन्द्र मात्र होइन, परम्परागत चिनियाँ समाजमा "भगवान, राजा र मानव" बीचको सम्बन्धलाई दर्शाउने जीवन्त इतिहास पनि हो ।

स्वर्गको मन्दिर (Temple of Heaven) परिसरमा अर्को प्रसिद्ध भवन ह्वाङ छ्युङ यु (शाही स्वर्ग मण्डप) पनि छ । "आशीर्वाद प्रार्थना मण्डप" भन्दा यो सानो र एकै तलाको (एकल छाना) छ । पूजाको सामग्री राख्ने भण्डार मिङ र छिङ राजवंशका सम्राटहरूले वार्षिक ठूलो अन्नबालीको पूजा गर्नुअघि "स्वर्गका सर्वोच्च देवता" (शाङडी) र आफ्ना राजवंशका पूर्वजहरूको आत्माको प्रतिमा यसै मण्डपको भित्रपट्टि राख्थे ।

यो पवित्र स्थानबाट पूजाको सुरुवात हुन्थ्यो । यो मण्डपको चारैतिर गोलो आकारको "प्रतिध्वनि पर्खाल (Echo Wall)" छ । यस पर्खालको भित्री सतह अत्यन्तै चिल्लो र गोलो भएकोले, एक छेउमा रहेको मान्छेले मुखमा सानो स्वरमा कुरा गर्दा पनि अर्को छेउमा उभिएको मान्छेले त्यो आवाज स्पष्ट सुन्न पाउँछ । यो पर्खालको ध्वनि प्रतिबिम्बको गजबको भौतिक उदाहरण हो । यसको छाना एकल तहको नीलो छ (आकाशको प्रतीक) र बाहिरी भाग राता रङका स्तम्भहरू र झ्यालहरूले सजिएको छ । माथि रहेको सुनौलो चुचुरोले आकाशलाई संकेत गर्छ ।

यी दुईबाहेक, स्वर्गको मन्दिर परिसरमा धेरै "लुकेका र चाखलाग्दा पाटोहरू" छन् । यहाँ दानबी ढुङ्गे पुल पनि छ । यो मुख्य संरचनाहरू जोड्ने ३६० मिटर लामो पुल हो । यसको बीचको बाटोलाई "देवताको बाटो" भनिन्छ, जहाँ सम्राटलाई पनि हिँड्न मनाही थियो । सम्राटले त्यसको दायाँ (भूमि बाटो) र मन्त्रीहरूले बायाँ (मानिस बाटो) मात्र हिँड्न पाउँथे ।

यो 'आकाश, पृथ्वी, मानव' को पदानुक्रमको जीवन्त प्रदर्शन हो । यहाँ ‘स्वर्गको वेदी’ नामको अर्को भवन पनि छ । यो ३ तहको खुला गोलो प्लेटफर्म हो, तर यसको ढुङ्गा अंक ९ को गणित अनुसार मिलाइएको छ: पहिलो तलामा ९ वटा ढुङ्गा, दोस्रोमा १८, तेस्रोमा २७... यसरी बढ्दै गएर सबैभन्दा बाहिरी भागमा ८१ वटा (९×९) ढुङ्गा छन् ! चिनियाँ संस्कृतिमा ९ लाई "सबैभन्दा उच्च आकाश" र "राजशक्ति" को प्रतीक मानिन्छ ।

ह्वाङ छ्युङ यु  को अगाडिको बाटोमा, प्रवेशद्वारदेखि तेस्रो ढुङ्गामा उभिएर एकपटक ताली बजाउनुभयो भने ३ पटक प्रतिध्वनि (Echo) सुनिन्छ । ध्वनि पर्खालमा छोएर फर्केर आउँदा यस्तो बहु-प्रतिध्वनि बन्छ । (पहिलो ढुङ्गाले १, दोस्रोले २, तेस्रोले ३ पटक प्रतिध्वनि गर्छ) । आशीर्वाद प्रार्थना मण्डपको भव्य भवन काठको कीला पनि प्रयोग नगरी काठ जोड्ने कलाले (मोर्टाइज एन्ड टेनन) मात्र बनाइएको छ । साथै, यसको भित्रको ४ वटा मुख्य स्तम्भ २४ मीटरभन्दा बढी  अग्ला छन् ।  स्वर्गको मन्दिरको सम्पूर्ण पार्कको क्षेत्रफल २७३ हेक्टर छ, जुन बेइजिङको फोर्बिडेन सिटी (७२ हेक्टर) भन्दा करिब ४ गुणा ठूलो छ ! यो ठूलो क्षेत्रफलले "आकाश" को विशालतालाई प्रतिनिधित्व गर्छ ।

वार्षिक ठूलो पूजा (सामान्यतया जनवरी/फेब्रुअरीमा) अघि, सम्राटले पार्कको उत्तरपश्चिम कोणमा रहेको "उपवासको दरबार " मा ३ दिनसम्म बसी मासु , मद्यपान र स्त्रीसङ्गसम्बन्ध त्यागेर पवित्र हुनुपर्थ्यो, त्यसपछि मात्र पूजा गर्न जान्थे ।  हाल, यो पार्क बिहान ६ बजेदेखि खुल्छ, जहाँ बेइजिङका स्थानीय वृद्धहरू ताईची, पखेटा नृत्य, र परम्परागत धनुषबाण खेल्ने प्रमुख सामाजिक केन्द्र बनेको छ ।

770669523_27945570951791122_491806340308886358_n-1787381738.jpgपूर्वाह्नको बेला यो प्राचीन मन्दिर हाइपर-स्थानीय जीवनको सानो झलक बन्छ । त्यहाँ सेतो ढुङ्गे सिँढीहरू देखिन्छन्, तर त्यसको सबैभन्दा बीचको ढुङ्गा वास्तवमा जादुमय छ । त्यस ढुङ्गामा उभिएर हल्का आवाजमा कुरा गर्दा वा ताली बजाउँदा, त्यसको आवाज चारैतिरको सेतो ढुङ्गे रेलिङबाट छचल्किएर आफैंमा फर्किन्छ, जसले गर्दा आवाज आश्चर्यजनक रूपमा ठूलो र गम्भीर सुनिन्छ । सम्राटहरूले यसै ढुङ्गामा उभिएर "स्वर्ग" सँग संवाद गर्थे भन्ने विश्वास छ ।

तेस्रो फोटोमा देखिएको लामो चौडा बाटो (दानबी पुल) को बीचमा एउटा सेतो धर्सा छ । सामान्यतया पर्यटकहरूले माथि मात्र हिँड्छन्, तर यो पुलको तल आधारमा एउटा लुकेको सुरुङ छ । सयौं वर्षअघि, जब सम्राटहरू प्रार्थना गर्न माथि हिँड्थे, बलि दिनका लागि गोरु, भेंडा र सुँगुरहरूलाई सम्राटको सजिलो बाटोमा भेट्न नदिन त्यसै भूमिगत मार्गबाट लगिन्थ्यो ! यो गोप्य मार्ग धेरै कम मानिसलाई थाह छ ।

सिँढीको किनारमा सेतो रेलिङका मुन्टाहरू देखिन्छन्, ती मुन्टाहरूमा "बादल र ड्र्यागन " को चित्र कुँदिएको छ । यसको नाम "वाङचु" हो, जुन मात्र सजावट होइन, यो यस क्षेत्र देवताहरूको बासस्थान हो भन्ने प्रतीक हो र यसले मानिस र आकाशबीचको सीमा (बाधा) लाई जनाउँछ ।

Temple of Heaven परिसरमा सुन्दर बगैँचा छ । यहाँ ५००–८०० वर्ष पुराना अत्यन्तै अग्ला धुपीका रुखहरू छन् । तीमध्ये एउटा "९ ड्र्यागन चीड" नामक रुख छ, जसको बोक्रामा ९ वटा ड्र्यागनले बेरेजस्तो आकार छ । स्थानीयहरूले "पवित्र रुख" मानेर यसलाई छोएर सौभाग्यको कामना गर्छन् । स्वर्गको मन्दिरको यो विशाल जंगलमा ३,५०० भन्दा बढी प्राचीन धुपीका रुखहरू छन् । तर यहाँको सबैभन्दा अनौठो कुरा के छ भने, यति ठूलो रुखको जंगल भए पनि लगभग कुनै पनि चराले यहाँ गुँड (Nest) बनाउँदो रहेनछ ।

स्थानीयहरूको विश्वास अनुसार यो भूमि देवताको हो, चराहरू यसलाई अपवित्र गर्न डराउँछन् । यी रुखहरूले विशेष प्रकारको तीखो गन्ध (Volatile oil) छोड्ने भएरपनि चराहरूलाई टाढा भगाउँछ होला । छिङ राजवंश (Qing Dynasty) का सम्राटहरू यी रुखहरूलाई पवित्र मान्थे । यदि कुनै सिपाही वा कर्मचारीले एउटा चीड रुखको डाला तोडेको पाइयो भने उसलाई कठोर सजाय (कहिलेकाहीँ मृत्युदण्ड) दिइन्थ्यो । यही कारणले गर्दा यी ८०० वर्ष पुराना रुखहरू आजसम्म यति राम्ररी सुरक्षित छन् । यहाँ हरियो घाँसको छेउछाउ, त्यो समयमा बलि चढाईने पुरोहित र बाँझो भएका महिलाहरू लाई गाड्ने ठाउँ रहेछ ।

आजको आधुनिक पर्यटक जहाँ आरामले हिँड्छ, त्यही भुइँमुनि ६०० वर्ष अघिका धार्मिक कर्मचारीहरूको चिहान रहेछ । त्यसैले यो क्षेत्रलाई "पवित्र आत्माहरूको बगैंचा" पनि भनिन्थ्यो । बिहानको समयमा, जब घाम यी अग्ला रुखहरूको बीचबाट छिर्छ, प्रकाशको छाया झर्छ । यसको जटिल छायालाई कतिपय स्थानीय पुराना मानिसहरूले "भूतको छाया" भनेर पनि चिन्छन्, किनभने छायाको रूप कहिलेकाहीँ मानिसको आकार जस्तो देखिन्छ ।

त्यहाँबाट हामी “फोरबिडन सिटी” गयौँ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्