नेभिगेशन
समसामयीक
सम्झनामा बुवा

बाबा, जहाँ भए पनि सुखी–खुसी हुनुहोला

बाबा ४४ वर्षको र आमा ३० वर्षको उमेरमा पुग्दा जन्मिएको म-हाम्रो परिवारको तेश्रो र आमाबाट दोस्रो सन्तान । म भन्दा करिब साढे दुई वर्ष कान्छी बहिनी उनि भन्दा पछाडी एक बहिनी र एक भाई गरी कुल ६ भाई बहिनी। त्यसबेला घरमा ५/७ वटा भैंसी, ३०/३५ वटा गाई र २५/३० वटा बाख्रा थिए । ती सबैको हेरचाह गर्नु, रंगेनी, असारेगोठ, आरीबाङ, कोटघारी, दत्कुना, फुर्कासम्म फैलिएका घर–जग्गा सम्हाल्नु-आमा-बाबाका लागि सानो जिम्मेवारी थिएन ।

सायद यही कारणले मेरो बाल्यकाल आमाभन्दा बाबासँग बढी बित्यो ।

खाँदा बाबासँगै, सुत्दा बाबासँगै । ग्वाला जाँदा पनि बाबाले मलाई बोकेरै लैजानुहुन्थ्यो । उहाँको काँध, उहाँको हात र उहाँसँगै बितेका ती दिनहरू नै मेरो बाल्यकालका सबैभन्दा सुन्दर पाठशाला रहेछन् । उमेर सानो थियो, तर गाई, भैंसी र बाख्रासँग मेरो चिनजान भने निकै पुरानो थियो ।

कुन ठाउँमा लग्दा गाई–भैंसी अप्ठ्यारोमा पर्दैनन्, कहाँ हरियो र राम्रो घाँस पाइन्छ, कुन बाटो सुरक्षित हुन्छ, कहाँ आफूलाई पनि सहज हुन्छ-यी कुराहरू मैले सानै उमेरमा सिकिसकेको थिएँ । त्यसैले बिदाको समय होस् वा आई.ए.सम्मको पढाइ सकिने समय, म प्रायः ग्वाला जान्थेँ । भैंसीलाई घाँस काट्न पनि मलाई खासै गाह्रो लाग्दैनथ्यो । बरु नयाँ–नयाँ काम सिक्नुमा छुट्टै आनन्द आउँथ्यो ।

म कामहरू बाध्यताले भन्दा पनि रहरले सिक्थेँ

गाई-भैंसी दुहुनदेखि मही मथ्नसम्म, दाम्लो–नाम्लो बनाउनदेखि चोया र चेत्रो बुन्नसम्म, हलो–फालो चलाउनदेखि काठ र ढुङ्गाका सामान्य काम गर्नसम्म-धेरै कुरा मैले कुनै औपचारिक तालिम लिएर होइन, बिदाको समयमा बाबासँगै हिँडेर, हेरेर र गर्दै सिकेको हुँ आज सम्झँदा लाग्छ, ती दिनहरूमा बाबाले मलाई केवल काम सिकाइरहनुभएको थिएन; उहाँले जीवनसँग जुध्ने एउटा मौन सीप सिकाइरहनुभएको रहेछ ।

बाबा ५७ वर्ष पुग्नुभएको बेला हाम्रो परिवारमा छैटौँ सन्तानका रूपमा कान्छो भाइ जन्मियो । बुढेसकालको सन्तान भएकाले उसको हेरचाह र भविष्यको जिम्मेवारी विस्तारै मेरो काँधमा पनि आउने अवस्था बन्यो । घरको जिम्मेवारी क्रमशः बढ्दै गयो । त्यसैले २० वर्ष नपुग्दै विवाह गर्नुपर्ने परिस्थिति पनि आयो ।

जीवनका बाटाहरू कहिल्यै आफूले चाहेअनुसार मात्र कहाँ हिँड्न पाइन्छ र !

जिम्मेवारी थपिँदै गए, तर पढाइ छोड्ने मनले कहिल्यै मानेन । घर–व्यवहार मिलाउँदै, परिवार सम्हाल्दै, पढ्दै र ट्युसन पढाउँदै जसोतसो बी.ए., बी.एड. हुँदै एम.ए.सम्मको अध्ययन पूरा गर्न भ्याएँ । त्यसबेला थुप्रै कुरा कठिन थिए, तर जिम्मेवारीले थिचे पनि सपनालाई थिच्न दिइएन ।

बाबा–आमाको बुढेसकालको सन्तान जगेर्ना गर्न गाह्रो होला भन्ने लागेको थियो । तर जिम्मेवारीको भार बढे पनि जीवनले सोचेभन्दा धेरै सहज बाटो पनि देखायो  बाबाको उहाँको अन्ति २ वर्ष बाहेक अरु आफ्ने उत्पादनशिर उमेर बन्यो । समय आफ्नै गतिमा अगाडि बढ्दै गयो ।

एक–एक गर्दै सबै भाइबहिनीको विवाह भयो । अन्तिमको कान्छो भाइको पनि विवाह भयो, उसका सन्तान जन्मिए । ठूली दिदीका सन्तानबाट बाबाले जनातीसमेत देखिसक्नुभ
एको थियो । तीन भाइ र तीन बहिनी सबैलाई आफ्नो–आफ्नो घर–परिवारमा सुखी र खुसी देख्न पाउनु उहाँका लागि जीवनकै ठूलो सन्तोष थियो होला ।

सायद त्यसैले होला, अन्तिम समयतिर उहाँका आँखामा कुनै ठूलो पछुतो बाँकी थियो जस्तो मलाई लाग्दैन ।

बाबाले ८० वर्षको उमेरमा संसार छोड्नुभयो । मस्तिष्कमा पानी जमेको रोग समयमै पहिचान हुन नसक्दा उहाँले करिब ८/१० महिना निकै दुःख सहनुपर्‍यो । करिब एक महिना बिर अस्पतालमा उपचार गरायौँ । सम्भव भएसम्म उपचारका प्रयासहरू भए, तर अवस्था सुधारिएन । अन्ततः उहाँलाई घर फर्कायौँ । त्यसपछि करिब छ महिनापछि उहाँले सदाका लागि हामीलाई छोडेर जानुभयो ।

आज बाबा गुमाएको पनि १२ वर्ष पुगिसकेको छ ।

समय बित्दै जाँदो रहेछ । तर केही मानिसहरू समयसँगै टाढा हुँदैनन्; झन् गहिरिँदै जान्छन् । बाबा पनि त्यस्तै हुनुहुन्छ । उहाँसँग बिताएका ती बाल्यकालका दिनहरू, उहाँको काँधमा बसेर ग्वाला गएको सम्झना, उहाँसँगै खाएको खाना, उहाँसँगै सुतेका रातहरू-आज पनि मनको कुनै कुनामा उस्तै ताजा छन् ।

आज मेरो उमेर त्यति पुगेको छ, जति उमेरमा बाबा हुँदा म जम्मा दुई वर्षको थिएँ । 
यो हिसाबले हेर्दा कहिलेकाहीँ लाग्छ-त्यो उमेरमा उहाँले कति धेरै जिम्मेवारी बोकेर हिँड्नुभयो होला ! परिवार, खेतीपाती, गाई–भैंसी, बाख्रा, छोराछोरी र जीवनका अनगिन्ती दुःख–सुखहरू उहाँले कसरी सम्हाल्नुभयो होला !

अनि फेरि आफूलाई हेर्छु-आज त्यही उमेरको आसपास पुग्दा बाबाको जीवनलाई अझ गहिरो गरी बुझ्न थालेको महसुस हुन्छ ।

आमा अहिले ७७ वर्ष पुग्नुभएको छ । उमेरले धेरै कुरा बिस्तारै खोस्दै लगे पनि उहाँको मनमा अझै गाउँको माटो र पशुपालनप्रतिको माया उस्तै छ । एक बछेली भैंसी, दुई–चारवटा खसी पालेर कान्छो भाइसँग खुसीसाथ बसिरहनुभएको छ । हामी सबै आ–आफ्नो ठाउँमा काम विशेष वा भनौं बसाई विशेष टाढा छौँ । त्यसैले महिली बहिनी, कान्छी बहिनी र म प्रायः फोनमार्फत आमासँग जोडिइरहन्छौँ । वर्षमा एक–दुई पटक प्रत्यक्ष भेट हुँदा भने लामो समयको दूरी एकैछिनमा हराएजस्तो लाग्छ ।

आज जीवनले हामी सबैलाई आ–आफ्नै बाटोमा पुर्‍याएको छ । घरको आँगन उही होला, बाटाहरू उही होलान्, खेतबारी उही होलान्, ग्वाला जाने डाँडाकाँडा पनि उस्तै होलान्-तर ती बाटामा बाबाका पाइला छैनन् ।

तर उहाँका पाइला हराएका छैनन् ।

उहाँले सिकाएका काममा छन्,
उहाँले सिकाएको आत्मनिर्भरतामा छन्,
उहाँले दिएको जिम्मेवारी बोधमा छन्,
र हामी सन्तानको जीवनमा उहाँले छोडेर जानुभएको संस्कारमा छन् ।

बाबा, तपाईंले जीवनभर परिवारका लागि गर्नुभएको दुःखको मूल्य कुनै शब्दले तिर्न सकिँदैन । कोईलाबास, बटौली, नेपालगञ्ज आदी शहरबाट नुन बोकेर एकसरो कपडाको लागि महिनैं खाली खुट्टा हिंडेर परिवार बालबच्चा हुर्काउँन कम्ता गाह्रो थिईन । तपाईंले बोकेको जिम्मेवारीको गहिराइ मैले उमेर बढ्दै जाँदा मात्र बुझ्दै गएको छु । तपाईंले मलाई सानैदेखि बोकेर ग्वाला लैजानुभयो; आज पनि लाग्छ, तपाईंले त्यसबेला मलाई केवल काँधमा होइन, जीवनकै बाटोमा बोकेर हिँडाउनुभएको रहेछ ।

आज तपाईं हामी माझ हुनुहुन्न । तर तपाईंको सम्झना, तपाईंका सिकाइ र तपाईंले देखाउनुभएको बाटो हामीसँगै छ ।

जहाँ भए पनि बाबा, सुखी–खुसी हुनुहोला ।
तपाईंले छोडेर जानुभएको परिवारलाई हामीले सकेसम्म सम्हालिरहेका छौँ ।
तपाईंले देख्न चाहनुभएको सुख र खुसीलाई जोगाइरहेका छौँ ।
र तपाईंलाई सम्झिरहनेछौँ-जबसम्म हाम्रो स्मृतिले साथ दिइरहन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्