नेभिगेशन
समसामयीक

सम्झनामा तिलक दाई !

औसत जीवन बाँचेर पनि असाधारण छाप छोडेर जान सक्ने मानिसहरू विरलै हुन्छन्। आदरणीय तिलक दाइ त्यस्तै व्यक्तित्व हुनुहुन्थ्यो। उहाँसँग जीवनमा धेरथोर संगत गर्ने क्रममा मैले पहिलो भेटमै महसुस गरेको कुरा के थियो भने, उहाँ राजनीतिभन्दा धेरै सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो। मानिसको दुःखमा साथ दिनु, अप्ठ्यारोमा हात बढाउनु र सकेसम्म सहयोग गर्नु नै उहाँको स्वभाव थियो।

एउटा घटना आज पनि मानसपटलमा ताजै छ। नेपालगञ्जबाट रुकुम फर्कने क्रममा सल्यानको दांग-राम्री क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परेका दुई युवालाई देखेपछि उहाँ आफ्नो गन्तव्यतिर हतारिनुभएन। बरु उनीहरूलाई आफ्नै जिम्मेवारी ठानेर तुल्सीपुरसम्म पुर्‍याई उपचारका लागि अस्पतालमा सुरक्षित छोडेपछि मात्र रुकुम फर्कनुभयो। यो एउटा सामान्य घटना थिएन, यसले उहाँभित्रको मानवीय संवेदना, करुणा र जिम्मेवारीबोध कति गहिरो थियो भन्ने स्पष्ट देखाउँछ। उहाँका लागि राजनीति भन्दा ठूलो कुरा मानवता थियो।

तिलक दाइले सकेको र सम्भव भएसम्म सहयोग गर्न कहिल्यै कन्जुस्याइँ गर्नुभएन। उहाँसँग पदको शक्ति थिएन, तर मनको विशालता थियो। कुनै ठूलो राजकीय जिम्मेवारीमा नहुँदासमेत समाजका हरेक सकारात्मक काममा अग्रसर हुनु उहाँको विशेषता थियो। सीमित पार्टीगत जिम्मेवारीभन्दा माथि उठेर उहाँले समाज र समुदायलाई जोड्ने काम गर्नुभयो।

वि.सं. २०६२/०६३ को जनआन्दोलनपछि रुकुममा नेपाल प्रेस युनियन गठन गरी लोकतन्त्रवादी सञ्चारकर्मीहरूलाई संगठित गर्ने अभियानमा उहाँले खेलेको प्रभावकारी भूमिका र पुर्‍याउनुभएको सहयोग आज पनि स्मरणीय छ। उहाँ स्वयं सञ्चारकर्मी नभए पनि स्वतन्त्र प्रेस, लोकतान्त्रिक मूल्य–मान्यता र सामाजिक उत्तरदायित्वप्रति उहाँको सम्मान र प्रतिबद्धता अनुकरणीय थियो।

आज तिलक दाइ हाम्रो बीचमा हुनुहुन्न भन्ने यथार्थ स्वीकार्न निकै कठिन भइरहेको छ। तर उहाँले देखाएको मानवताको बाटो, सहयोगी मन, सरल व्यवहार र समाजप्रतिको निस्वार्थ समर्पण सधैं हाम्रो सम्झनामा जीवित रहनेछ। केही मानिसहरू केवल आफ्ना लागि बाँच्दैनन्, उनीहरू अरूको जीवनमा उज्यालो छरेर जान्छन्। तिलक दाइ त्यस्तै उज्यालो व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको अभाव सधैं खड्किरहनेछ, तर उहाँका कर्म र सम्झनाहरूले हामीलाई सधैं प्रेरणा दिइरहनेछन्। 

जहाँ, जहिले भेट भए पनि उहाँले कहिल्यै औपचारिक कुरा मात्र गर्नुभएन। आफ्नै दुःख, आफ्नै व्यस्तता र आफ्नै विवशता भए पनि पहिलो प्रश्न सधैं यही हुन्थ्यो - “के छ ? केही समस्या छ ? मैले केही गर्नुपर्ने छ ? ” यही एउटा प्रश्नले उहाँको विशाल हृदय, आत्मीयता र मानिसप्रतिको जिम्मेवारीलाई स्पष्ट पार्थ्यो। उहाँका लागि सम्बन्ध केवल चिनजान थिएन, जिम्मेवारी थियो।

उहाँ सत्यको पक्षमा निडरतापूर्वक उभिने व्यक्तित्व हुनुहुन्थ्यो। पार्टीभित्र देखिएका गलत प्रवृत्तिहरूका विरुद्ध खरो र प्रखर रूपमा बोल्ने साहस उहाँमा थियो। त्यसैले उहाँको व्यक्तित्व कुनै पद, प्रतिष्ठा वा राजनीतिक सीमाभित्र कैद थिएनस उहाँको निष्ठा सत्य, न्याय र सिद्धान्तप्रति थियो।

२०७९ सालको प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा मैले लिएको निर्णयको पक्षमा खुलेर उभिनुभएको क्षण आज पनि मेरो मानसपटलमा ताजै छ। नेपाली कांग्रेसले मलाई गरेको कारबाहीको विरोधमा जिल्लादेखि केन्द्रसम्म तपाईले उठाउनुभएको बुलन्द आवाज मेरो जीवनको अविस्मरणीय ऋण बनेर रहनेछ। त्यो समर्थन केवल एउटा राजनीतिक समर्थन थिएन, त्यो एउटा अभिभावकले आफ्ना भाइप्रति देखाएको विश्वास, साहस र आत्मीयताको प्रतीक थियो। म बाँचुन्जेल त्यो गुन कहिल्यै बिर्सन सक्ने छैन।

आज तपाईं शारीरिक रूपमा हामीबीच हुनुहुन्न। तर तपाईंले सिकाउनुभएको साहस, तपाईंले देखाउनुभएको आत्मीयता, तपाईंले बचाउन खोज्नुभएको सिद्धान्त र तपाईंले निभाउनुभएको सम्बन्धको मूल्य सधैं जीवित रहनेछ। तपाईंको अभाव केवल परिवारको मात्र होइन, रुकुमको, नेपाली कांग्रेसको, शिक्षा क्षेत्रको, व्यवसायिक समुदायको र तपाईंलाई माया गर्ने हजारौं मनहरूको अपूरणीय क्षति हो।

आज मन बारम्बार एउटा प्रश्न गर्छ - अब कसले सोध्ला, “के छ ? केही समस्या छ ? मैले केही गर्नुपर्ने छ ?” ती शब्दहरू अब केवल सम्झनामा बाँकी रहनेछन्। तपाईंको त्यो आत्मीय स्वर अब कहिल्यै सुनिने छैन भन्ने यथार्थ स्वीकार्न मनले मान्दैन।

आदरणीय तिलक दाइ, तपाईंले जीवनभर अरूका लागि बाँचेको जीवन कहिल्यै मृत्युले अन्त्य गर्न सक्दैन। तपाईंका कर्म, विचार, संघर्ष र मानवीयता सधैं जीवित रहनेछन्। तपाईंप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंको आत्माले चिरशान्ति प्राप्त गरोस्। शोकसन्तप्त सम्पूर्ण परिवारजनमा यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछु।

(रुकुम पश्चिमको चौरजहारी निवासी नेपाली कांग्रेसका महासमिति सदस्य तिलक भण्डारीको गत शनिबारका दिन हृदयघातका कारण निधन भएको थियो भने आज उहाँको अनत्येष्टि गरिएको छ । युवा नेता के.सी.ले भण्डारीको सम्झनामा यो लेख तयार गर्नुभएको हो ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्