नेभिगेशन
समाज

रुकुम पूर्वमा जङगली च्याउ खाँदा बिरामी भएका सात जनाको अवस्था सुधार हुँदै

खराब मौसमको कारण उद्धारको लागि हेलिकप्टर जान सकेन, मध्यरात पुगेका स्वास्थ्यकर्मीले जोगाए ज्यान

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ को रल गाउँमा जङगली च्याउ खाँदा सात जना बिरामी भएका छन् ।  जिल्लाको विकट तथा दुर्गम गाउँ रलमा शनिबार बिहान बिरामी भएका उहाँहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास असफल भएपछि पाँच घण्टा पैदल हिँडेर गएका स्वास्थ्यकर्मीले ज्यान जोगाएका छन् ।

स्थानीय ६० वर्षीय धर्मटेक पुन, ३२ वर्षीय लोकेन्द्र पुन, ३४ वर्षीय रचन पुन, ४३ वर्षीय खडक पुन, ३७ वर्षीया रथना पुन, ४१ वर्षीय दन्त रोका र ४९ वर्षीय बरण रोका बिरामी हुनुभएको हो । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार शनिबार बिहान जङगलबाट ल्याएको च्याउ खाँनासँगै खाएपछि उहाँहरु बिरामी परेको खबर आएको थियो । उहाँहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, बेहोस् हुने जस्ता समस्या देखिएको थियो ।

दुर्गम र विकट गाउँमा घटना घटेको र स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भनेर स्थानीयले खबर गरेपछि उद्धारको लागि हेलिकप्टर ल्याउने सबै प्रक्रिया पुरा गरिएको थियो । खराब मौसमको कारण हेलिकप्टर जाने अवस्था नै नभएको प्रमुख जिल्ला अधिकारी कोलिपा राईले जानकारी दिनुभयो । शनिबार दिनभर हेलिकप्टर पठाउने तयारी गरिएको तर सफल हुन नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार मैकोटबाट घण्टौ हिँडेर गएका स्वास्थ्यकर्मीहरुले बिरामीको ज्यान जोगाउनु भएको छ । 

शनिबार दिनभर, राती अबेला र आज बिहान पनि बिरामीका आफन्तजन, प्रमुख जिल्ला अधिकारी, जिल्लाको सुरक्षा निकायको टोली, जिल्ला अस्पताल र गाउँपालिकाको टोलीले समन्वयमा गरिरहेको छ । बिरामीका आफन्तले स्वास्थ्य अवस्था सुधार भएकोले अब हेलिकप्टर आवश्यक नपर्ने भनेर खबर गरेको प्रजिअ राईले जनाउनुभयो । 

पुथा उत्तरगंगा गाउँपालिकाका स्वास्थ्य शाखाका सह संयोजक कलिभान बिष्टका अनुसार अहिले उहाँहरुको स्वास्थ्य अवस्था सामान्य बन्दै गईरहेको छ । वडा नम्वर १ को मैकोटमा रहेको स्वास्थ्य चौकीबाट तीन जना स्वास्थ्यकर्मीहरु करिब पाँच घण्टा पैदल हिडेर बिरामीहरुको उपचारको लागि रल गाउँ पुगेको बिष्टले जानकारी दिनुभयो । 

प्यारामेडिक्स दिपेन्द्र शाही र सन्तोष कापर र नर्सिङ निर्मला पुन गएराती ११ बजे बिरामीको घरमा पुगेर उपचार गरेपछि बिरामीहरुको अवस्था सामान्य बन्दै गएको हो । बिरामीहरु हिड्न सक्ने भएपछि थप चेकजाँचको लागि मैकोटस्थित स्वास्थ्य चौकीमा ल्याउने सल्लाह भईरहेको सह संयोजक बिष्टले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्