नेभिगेशन
समसामयीक

भगवान् भरोसामा चलिरहेको नेपालको स्वास्थ्य प्रणाली

मिति २०८३-१-१९ गते !

बिहानै ७ बजे,मोबाईलको घन्टी बज्छ।

"दाई एउटा बिरामीको Hb 6 मात्रै छ, A Positive रगत तुरुन्तै चाहिएको छ, हजुर झट्टै आईहाल्नुपर्यो।" यो फोन ड्युटी डा.साबले अघिल्लो दिन मात्रै २४ घन्टा ड्युटी सकेर बसेका अर्का डाक्टरलाई थियो।

त्यसपछि हतार हतार Blood Sample Collection,Cross matching सकिएपछि मैले 1 pint fresh whole blood Donate गरेँ।

त्यसपछि मैले सोधेँ - Case के हो? बिरामीको History बुझ्दै जाँदा करिब साँढे ४ महिनाको अनिच्छित गर्भ घर नजिकैको मेडिकलबाट ओेषधी सेवनबाट खेर फाल्न खोज्दा अत्यधिक रक्तश्राव भएको रहेछ। यद्यपि यो उनको चौथो गर्भ थियो तर नचाहेको।

यतिबेलासम्म बिरामीको लागि गर्नुपर्ने आकस्मिक ओेषधि,उपचार व्यवस्थापन भईसकेको थियो। बिरामी अस्पताल प्रवेश गर्दा अर्धचेत अवस्थामा थिए ।  तर यतिबेला मानव शरीर संचालनका लागि अत्यावश्यक प्रमुख संकेतहरु रक्तचाप,नाडीको चाल, श्वासप्रश्वास, अक्सिजनको मात्रा, तापक्रम लगभग सामान्य दायरामा आईसकेको थियो।

उपचारमा प्रत्यक्ष संलग्नमा थिए MDGP डा.सन्दिप, Medical officer डा.अन्जना, डा.खगेन्द्र, Nursing staff मा अस्पताल नर्सिङ निरिक्षक भगवती थापा लगायत Team, प्रयोगशालामा पृथ्वी बहादुर बुढा लगायत Team, कार्यालय सहयोगीहरु।

IMG_6763-1777716625.jpegसिँगो Team को अथक प्रयासले बिरामीको ज्यान त जोगियो तर यहाँसम्म आईपुग्दा पनि जनमानसमा सामान्य चेतनाको कमी, व्यक्तिगत स्वास्थ्यप्रतिको गैरजिम्मेवारीपन, कानुनी व्यवस्थाबारे थौरै पनि जानकारी नहुनु कुरालाई चिकित्सक भएको नाताले मलाई चाहिँ गम्भीर बनायो।

आजकल हरेक दिनजसो डाक्टरको लाभरवाहीवाला हेडलाईनहरु हेरेर अझै पनि देशमै रहेर सेवा गर्न तत्पर एक लाचार चिकित्सकको लागि यो नौलो,पहिलो घटना होईन।बिरामी स्वय्मले गरेका यस्ता अनेकन लापरवाहीको पटक पटक साक्षी भएको छु।त्यसो त आजको रक्तदान मेरो चौधौँ रक्तदान थियो।

के छ गर्भपतनबारे कानुनी व्यवस्था?

नेपालमा गर्भपतन (abortion) सम्बन्धी कानुनी व्यवस्था मुख्य रूपमा मुलुकी अपराध संहिता २०७४ मा उल्लेख गरिएको छ। यसले निश्चित अवस्थाहरूमा सुरक्षित र कानुनी रूपमा गर्भपतन गर्न अनुमति दिन्छ।

 कानुनी रूपमा गर्भपतन गर्न मिल्ने अवस्था:

१. १२ हप्तासम्मको गर्भ : महिलाको इच्छाअनुसार सुरक्षित रूपमा गर्भपतन गर्न पाइन्छ।

. १८ हप्तासम्म (बलात्कार वा हाडनाता करणीको घटना) : यदि गर्भ बलात्कार वा हाडनाता करणी (incest) बाट रहेको छ भने १८ हप्तासम्म गर्भपतन गर्न पाइन्छ।

.जुनसुकै समयमा (विशेष अवस्था) :  यदि,

    • आमाको ज्यानमा जोखिम छ
    • आमाको शारीरिक वा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्था छ
    • भ्रूणमा गम्भीर विकृति (fetal anomaly) छ भने जुनसुकै समयमा पनि महिलाको मन्जुरीमा चिकित्सकको सिफारिसमा गर्भपतन गर्न मिल्छ।

 कानुनविपरीत गर्भपतन गराएमा (समय अनुसार सजाय)

. १२ हप्ताभन्दा कम गर्भ नष्ट गरेमा :  १ वर्षसम्म कैद वा जरिवाना वा दुवै

. १२ हप्ताभन्दा बढी तर २५ हप्ताभन्दा कम गर्भ नष्ट गरेमा : ३ वर्षसम्म कैद र जरिवाना

. २५ हप्ताभन्दा बढी गर्भ नष्ट गरेमा : ५ वर्षसम्म कैद र जरिवाना

 थप कडा अवस्था:

  • यदि गर्भपतनका कारण महिलाको मृत्यु भएमा :  अझ कडा सजाय (अलग अपराध अन्तर्गत)
  • लिङ्ग छनोटका लागि गर्भपतन : सिधै कडा कैद र जरिवाना

ध्यान दिनुपर्ने कुरा:

  • माथिका सजाय कानुनले अनुमति नदिएको अवस्थामा मात्र लागू हुन्छ ।
  • कानुनी शर्त (१२ हप्ता, १८ हप्ता, वा विशेष अवस्था) भित्र गरिएको गर्भपतन अपराध मानिँदैन।

सीमीत भौतिक संरचना,सीमित जनशक्तीको सिकारमा अधिकांश अस्पताल : 

म कार्यरत मेहलकुना अस्पताल कर्णाली प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय मातहतमा रहेको कागजमा मात्र सीमित रहेको ५० सैयाको अस्पताल हो। खासमा हाल मुस्किलले २५ सैया संचालनमा छ।जसका कारण अधिकांश सेवाहरु खुम्चिएर प्रदान गरिराख्नुपरेको विडम्बना छ।

५३ स्थायी दरबन्दी मा २४ जना मात्रै स्थायी कर्मचारीहरु छन्। प्राथमिक स्वास्थ्य केन्द्र हुँदाको पुरानो भवनबाट सकीनसकी सेवा प्रदान गरिरहेछ अस्पताल। २०७४ पौषमा ठेक्का सम्झौता भएर बन्दै गरेको अस्पतालको नयाँ भवन अझै सम्पन्न भएको छैन। Blood Bank नहुँदा Blood transfsion को लागि Walking blood Bank बाटै अधिकांश समय उपचारमा संलग्न स्वास्थ्यकर्मीकै भर पर्नुपर्ने अवस्था छ।

त्यसो त हाल यस अस्पतालमा Caesarean Section.Appendicitis,Hydrocele,Hernia,Haemorrhoids,Fistula,Fissure लगायतका सेवाहरु नियमित रुपमा संचालनमा छन्। Blood Bank नहुँदा पलपलमा बिरामी,स्वास्थ्यकर्मी र अस्पताल व्यवस्थापनले कठिनाई भोगिराख्नु परेको छ।

समय समयमा सत्ता समिकरण,सरकार परिवर्तन भईराखेको छ तर सरकार दीर्घकालीन समाधानको बाटोमा छैन। २०४८ यता ONM Survey हुन सकेको छैन। स्वास्थ्यकर्मी, चिकित्सकको duty hour,safety,motivation मा सिन्का भाँच्न सकेको छैन।

नियन्त्रणभन्दा बाहिर जान लागिसकेको स्वास्थ्य बीमाको safelanding हुने छाँटकाँट छैन।जहिल्यै लापरवाही मात्रै भएको देख्ने आँखाहरुले त्यस्ता कमजोरी,विरलै हुने लापरवाहीको Root cause पत्ता लाउन सकेको छैन भनौँ या चाहेको छैन। 

- (डा.भुजेल मेहलकुना अस्पताल, सुर्खेतमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्