नेभिगेशन
समाज
नयाँ शहर आयोजना

चौरजहारीमा विकसित घडेरीको अस्थायी लालपूर्जा वितरणको तयारी

१ हजार १८९ कित्ता विकसित घडेरी तयार

रुकुम पश्चिमको चौरजहारीमा नयाँ शहर निर्माण कार्य अन्तर्गत निर्माण भएका विकसित घडेरीहरुको अस्थायी लालपूर्जा जग्गाधनीलाई वितरणको काम अन्तिम चरणमा पुगेको छ ।

नयाँ शहर आयोजना कार्यालय चौरजहारीले जग्गा विकास तथा एकिकरण कार्यक्रम अन्तर्गत चौरजहारी नगरपालिका –१ घारीगाउँमा विकसित घडेरीको अस्थायी लालपूर्जा वितरणको अन्तिम चरणमा रहेको जनाएको छ । 

आयोजना प्रमुख ईन्जिनियर गौरी पण्डितका अनुसार स्थानीयको जग्गामा एक हजार १८९ कित्ता घडेरी तयार भएका छन् । वि.सं. २०७२ सालमा स्थापना भएको नयाँ शहर आयोजना कार्यालयले विभिन्न अवरोधहरु समाधान गरेर घडेरी वितरणको अन्तिम चरणमा आईपुगेको जनाएको छ । विकसित घडेरी निर्माणको लागि २०७८ मा ठेक्का खोलेर काम सुरु भएको थियो ।

आयोजना प्रमुख पण्डितले करिब ६५० जना स्थानीयको ५८५ रोपनी जग्गामा घडेरी निर्माण गरिएको बताउनुभयो । निर्माण गरिएका एक हजार १८९ कित्ता मध्य ११ वटा कित्ता बैंकद्वारा रोक्का रहेका छन् । बैंकको सहमति तथा कित्ता काँटको लागि फायल पेश भईसकेकोले उक्त समस्या समाधान हुने वित्तिकै अस्थायी लालपूर्जा वितरण हुने आयोजना कार्यालयले जनाएको छ ।

बैंकको सहमतिमा अदालतबाट अनुमति प्राप्त गर्ने बित्तिकै नापी र मालपोत कार्यालयको समन्वयमा विकसित घडेरीको अस्थायी लालपूर्जा वितरण हुनेछन् । स्थायी लालपूर्जा भने मालपोत कार्यालयले उपलब्ध गराउने छ ।

अस्थायी लालपूर्जा वितरणको कामपछि यस क्षेत्रमा घडेरीहरु बिक्रि वितरण हुने, शहरउन्मुख घरहरु निर्माण हुने अपेक्षा स्थानीयको रहेको छ । आयोजना कार्यालयका सूचना अधिकारी दलबहादुर बिकले घडेरी निर्माणपछि व्यवस्थित नाला, विद्युत लाईन बिस्तार, खानेपानीको लाईन व्यवस्था लगायत आधारभूत आवश्यकताका कामहरु नियमित हुने जानकारी दिनुभयो । 

सरकारले घोषण गरेको दश नयाँ शहर अन्तर्गतको चौरजहारी क्षेत्र सानो उपत्यकाका रुपमा रहेको छ । यहाँ आयोजना कार्यालयले सभाहल, कभर्डहल, डम्पिङ साईड, कृषि उपज संकलन केन्द्र निर्माण गरिरहेको छ । हालसम्म कार्यालयले यस क्षेत्रमा बसपार्क, सेवा केन्द्र भवनहरु निर्माण गरेको छ भने विभिन्न सडकको निर्माण, कालोपत्रे लगायतका काम समेत सम्पन्न गरेको छ ।

आयोजनाका सूचना अधिकारी बिकले हालसम्म ५७.१ किलोमिटर सडकको ट्रयाक खोल्ने, स्तरोन्नती र ग्राभेल गर्ने काम सम्पन्न भएको र ११.४ किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो । त्यसैगरी २.२ किलोमिटर सडक ढलान गरिएको, ४२० मिटर सडक क्षेत्रमा सोलिङ गरिएको र ३१.७ किलोमिटर नाली निर्माणको काम पनि पुरा गरिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्