चौरजहारी नगरपालिका रुकुम पश्चिमको प्रमुख प्रशासकीय अधिकृतको भूमिकाको जिम्मेवारीबाट औपचारिक रुपमा अलग भएको सहर्ष जानकारी गर्दछु ।
नगरपालिकाको समग्र विकास, सुशासन, सेवा प्रक्रिया सहजीकरण तथा व्यवस्थापन र संस्थागत क्षमताको उन्नयनमा सहकार्य गर्न पाउँदा प्राप्त जिम्मेवारीप्रति गौरवको महसुस भएको छ । २०७९ साल असार १३ गते आकस्मिक रुपमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त भई नगरपालिकाको प्रशासनिक नेतृत्व आवश्यक हुन पुग्यो ।
आर्थिक वर्षको अन्त्यमा भुक्तानीको अत्यधिक चाप थियो । त्यस अवस्थामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीका लागि मप्रति नगर प्रमुखज्यू, उपप्रमुखज्यू तथा सम्पूर्ण नगर कार्यपालिकाले ममाथि देखाउनु भएको विश्वासप्रति कृतज्ञ छु । त्यही विश्वास नै मेरो मार्गदर्शक शक्ति बन्न पुग्यो र यस यात्रालाई दृढतापूर्वक अगाडि बढाउने प्रेरणा मिल्यो ।
हाम्रो यस चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटाइदिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयललाई सर्वप्रथम धन्यवाद व्यक्त गर्दछु । नगर प्रमुखज्यू, उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरू, नगर कार्यपालिका तथा नगरसभा सदस्यज्यूहरू, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यज्यूहरू, पूर्व जनप्रतिनिधि, राजनीतिक दल, नगर कार्यपालिकाको कार्यालय र सोअन्तरर्गतका निकायमा कार्यरत कर्मचारी, जिल्ला स्थित कार्यालय प्रमुखज्यूहरू, प्रदेश तथा सङ्घका विभिन्न मन्त्रालयमा कार्यरत अग्रज व्यक्तित्त्व, सुरक्षाकर्मी, पत्रकारसहित समग्र चौरजहारी नगरवासीहरूबाट यस अवधिमा मलाई प्राप्त सहयोग, विश्वास, समन्वय, सहकार्य र सद्धावप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु ।
यस अवधिमा नगरपालिकाले साधन स्रोत र क्षमताले सम्भव भएसम्म उपलब्धी हासिल गर्ने प्रयास गरेको छ । जे जति उपलब्धी हासिल भए ती कुनै एक व्यक्तिको प्रयासका परिणाम नभइ सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा नगरवासी महानुभावहरूको साझा सोच, सामूहिक प्रतिबद्धता र निरन्तर सहकार्यको सफल प्रतिफल हुन् । यही सामूहिकता नै हाम्रो सबलता हो । यही भावनाले चौरजहारी नगरलाई अगाडि बढाएको छ ।
उपलब्धितर्फ फर्केर हेर्दा कक्षा ८ को औसत सिकाइ उपलब्धि ४२ प्रतिशत रहेकोमा २०८२ सम्म आइपुग्दा ६५.६७ प्रतिशतसम्म पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ८५ लाख रहेको आन्तरिक राजश्वको प्रगति ३ करोड ७ लाखसम्म पुग्न सफल भएको छ । संस्थागत क्षमता स्वमूल्याङ्कनमा आर्थिक वर्ष २०७८/०७९ मा ६४ अङ्क रहेकोमा २०८२/०८२ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट समेत गुणस्तर परीक्षण हुँदा ८४ अङ्क प्राप्त गर्न सफल भएका छौं ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार २०७८ मा ३.०६ प्रतिशत रहेको बेरुजु पछिल्ला आर्थिक वर्षहरूमा कम गर्दै ०.७८ प्रतिशतमा झरेको छ । करिव चार वर्षको अवधिमा १७ वटा ऐन, २९ वटा कार्यविधि र अन्य ११ वटा कानुनको मस्यौदा गर्नुका साथै पारित भए पश्चात् कार्यान्वनय गर्ने अवसर समेत मिलेको छ । यस क्रममा नगरसभा ८, कार्यपालिका ५८, शिक्षा समिति १८, विपद् व्यवस्थापन समिति २४ र अपाङ्गता समन्वय समितिका २८ वटा बैठकको व्यवस्थापन गर्ने कार्य समेत भएको छ ।
आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् र संस्थागत विकास तथा सुशासनका क्षेत्रमा उल्लेख्य कार्य समेत भएका छन् । विशेष गरी २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भइ गएको विनासकारी भूकम्पबाट भएको जनधनको क्षति, उद्धार, राहत वितरण, अस्थायी आवास अनुदान र पुनर्निर्माणका कार्यमा प्रत्यक्ष खटनपटन भइ पीडादायी क्षणमा सम्भवत सरकारको प्रतिनिधिका रुपमा चौरजहारी नगरवासी ७ हजार ४०३ घरपरिवारमा पुग्ने अवसर पनि प्राप्त भयो ।
नगरपालिकाको दिगो आन्तरिक आयका लागि सेयर लगानी, सीप तथा क्षमता विकास तालिम, कृषि र पशुपालन व्यवसाय प्रवर्धन लगायतका नीति तथा कार्यक्रमसँग सहकार्य भएको छ । ब्लड बैङ्क सञ्चालन, नगरवासीको बल्ड ग्रुप पहिचान र अभिलेख व्यवस्थापन, स्वास्थ्य जनशक्ति, पूर्वाधार र उपकरण व्यवस्थापन, विद्यालय भवन, ICT ल्याव स्थापनाका साथै शैक्षिक गुणस्तर सुधारका लागि थुप्रै प्रयाससँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन भएका छन् । अन्तरजातीय विवाह गर्ने जोडी सम्मान, लक्षित वर्ग विशेष कार्यक्रम पनि सञ्चालनमा आएका छन् ।
सडक, पुल, खानेपानी, सिंचाइ लगायतका पूर्वाधार निर्माणका काम पनि प्रत्यक्ष जोडिने अवसर प्राप्त भयो । नगरपालिकाको सेवा प्रवाहलाई छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र, टोकन तथा टाइम कार्ड प्रणाली, सेवाग्राही सन्तुष्टि सर्वेक्षण, कार्यालय स्वचालन, आफ्नै डाटा सर्भर स्थापना, प्रविधिमा आधारित गुनासो व्यवस्थापन प्रणाली तथा Chat Bot जस्ता नवीनतम प्रविधिमा आधारित असल अभ्यासहरू पनि सामूहिक सोच र सहकार्यकै उपज हुन् ।
यी प्रयासहरूले सेवा प्रवाहमा सुधार ल्याउनुका साथै नागरिक विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएका छन् । चौरजहारी नगरपालिकाको अवलोकन भ्रमण एवम् असल अभ्यास आदानप्रदानका लागि यस अवधिमा सङ्घ, प्रदेश र स्थानीय तहका ३७ वटा कार्यालयका जनप्रतिनिधि र कर्मचारीज्यूहरूसँग साक्षात्कार गर्ने अवसर समेत मिलेको छ ।
यस अवधिमा चौरजहारी नगरपालिकालाई विभिन्न निकायहरूबाट सम्मान प्राप्त हुँदा त्यसको हिस्सेदार बन्ने अवसर पनि मिलेको छ । हरेक वर्ष नगरपालिका सङ्घले प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार, २०८० बाट चौरजहारी नगरपालिका विभूषित हुन पुग्यो । प्रिन्सीपल एसोसियसन अफ नेपालबाट कर्णाली प्रदेशबाट शिक्षामा उत्कृष्ट लगानी गर्ने स्थानीय तहका रुपमा २०८१ मा चौरजहारी नगरपालिका सम्मानित भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयबाट प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने स्थानीय तहका रुपमा पनि सम्मान प्राप्त गरेको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले २०८० मा स्वास्थ्य तर्फ उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहको रुपमा सम्मान गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१र/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा ८२.१५ अङ्क प्राप्त गरी राष्ट्रिय स्तरमै दोस्रो स्थान हासिल गर्नुले हाम्रो कार्यशैलीको पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी दृष्टिकोणलाई प्रमाणित गरेको छ ।
यस क्रममा नगर प्रमुखज्यू, उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरू, नगरसभा तथा कार्यपालिका सदस्यज्यूहरू, प्रतिनिधिसभा र प्रदेश सभाका माननीय सांसदज्यूहरू, पूर्व जनप्रतिनिधि, सम्पूर्ण कर्मचारी साथीहरू, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखज्यूहरू, सुरक्षाकर्मी, पत्रकार मित्रहरू, नागरिक समाज, बुद्धिजीवि, शिक्षक, व्यापारी तथा सेवाग्राही महानुभावहरूको निरन्तर सहयोग, समन्वय र सद्भावले कार्यसम्पादनलाई प्रभावकारी बनाउन अमूल्य योगदान दिएको छ । यसका लागि म सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।
कति गरियो कति गर्न सकिएन ? समग्रमा चौरजहारी नगरको विकास र समृद्धिका लागि दत्तचित्त भएर भलो चिताइ काम गर्ने प्रयास गरिएको छ । अपेक्षाकृत रुपमा राम्रो गर्न सकिन हुँला तर नराम्रो भने गरेको छैन ।
कार्यसम्पादनका क्रममा प्राप्त सल्लाह, सुझाव, आलोचना तथा उजुरीहरूले पनि प्रशासनिक कार्यशैलीलाई अझ परिष्कृत, जिम्मेवार र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । यस सन्दर्भमा सचेत रूपमा प्रश्न उठाउने, खबरदारी गर्ने तथा सुधारका लागि प्रेरित गर्ने सम्पूर्ण महानुभावहरू प्रति म विशेष सम्मानसहित धन्यवाद ज्ञापन गर्दछु, जो अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, जिल्ला प्रशासन कार्यालय, सम्मानित अदालतसम्म पुग्नु भयो ।
अन्त्यमा, यस जिम्मेवारीबाट अलगिँदै गर्दा मसँग पदको औपचारिकता समाप्त भए पनि यहाँहरूसँगको आत्मीय सम्बन्ध, सहकार्यका स्मरणीय क्षणहरू र सिकाइका अमूल्य अनुभवहरू सधैं साथ रहनेछन् । 'समृद्ध चौरजहारी : जनउत्तरदायी सरकार'को सोच पूरा गर्न नगरको समृद्धि, सुशासन र नागरिक जीवनस्तर उकास्ने यात्रामा मेरो सद्भाव, सहयोग र शुभेच्छा सधैं यथावत रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
८, वैशाख २०८३