समुन्द्रमा एउटा यस्तो अचम्मको जीव हुन्छ Cymothoa Exigual । यसलाई सामान्य भाषामा जिब्रो खाने परजीवी भनिन्छ। यो माछा होइन,एउटा परजीवी हो।
यो सानो जीव माछाको मुखबाट प्रबेश गर्छ, माछाको जिब्रोमा टासिन्छ र समयसङ्गै जिब्रोको कामलाई विस्थापित गर्दै अन्तत जिब्रो कै स्थान ओगटेर बस्छ। अचम्मको कुरा के हो भने माछा तुरुन्त मर्दैन। माछा बाँचिरहन्छ, पौडिरहन्छ, आहार खाइरहन्छ र आफ्नो जीवन अगाडि बढाइरहछ। तर माछाको शरीर भित्र एउटा यस्तो जीव बसिरहेको हुन्छ,जसले माछाको अन्त्यन्त महत्वपूर्ण स्थान कब्जा गरिसकेको हुन्छ।
यहि माछा र एउटा परजीवीको दृश्यलाई हेर्दा मेरो मस्तिष्कमा एउटा समाजाजिक प्रश्न उब्जिन्छ। कुनै जीवलाई नष्ट नगरी पनि उसको जिवनमाथी नियन्त्रण गर्न सकिन्छ। सायद यहि गम्भीर प्रश्न मानीसको जिवनमा पनि लागु हुन्छ।
मानिस बाँचिरहेको हुन सक्छ, काम गरिरहेको हुन सक्छ, पैसा कमाइरहेको हुन सक्छ, घर बनाइरहेको हुन सक्छ, बजारमा सामान किनिरहेको हुन सक्छ, चुनावमा मतदान पनि गरिरहेको हुन सक्छ। बाहिरबाट हेर्दा उसको जीवन सामान्य देखिन सक्छ। तर प्रश्न यो कि के मानिस आफ्नो जिवनको वास्तविक मालीक पनि छ ?
समाज कसले बनाउँछ ?
हामी हाम्रो समाज एक पटक नियालेर हेरौं। किसानले जमिनमा बीउ रोप्छ, घाम, पानी र आफ्नो श्रमसङ्ग संघर्ष गर्दै खाद्यान्न उत्पादन गर्छ।
हामी बस्ने घर कसैले बनाएको हुन्छ, सडक कसैले निर्माण गरेको हुन्छ, पुल कसैले बनाएको हुन्छ, कारखानामा वस्तु कसैले उत्पादन गरेको हुन्छ, बिद्यालय शिक्षकले ज्ञान बाँड्छन, प्रयोगशालामा बैज्ञानिकले नयाँ ज्ञान सिर्जना गर्छन, चिकित्सकले उपचार गर्छन, प्रोग्रामरले डिजिटल संसार निर्माण गर्छन, चालकले मानिस र सामान ओसार्छन, सरसफाइकर्मिले सहरलाई बस्न योग्य बनाउछन अर्थात् समाज केवल संसद, कार्यालय, बैंक, कम्पनी र ठुला ठुला लग्जरि भवनहरुमा ऐस आराम गर्नेहरुले बनाएका होइनन्।
समाजको वास्तविक जीवन मानिसहरुको श्रमबाट चल्छ। हामिले प्रयोग गर्ने हरेक वस्तुको पछाडि लगभग कसको समय,सीप,श्रम र जिवनको कुनै हिस्सा जोडिएको हुन्छ। तर यहाँ एउटा गम्भीर प्रश्न उत्पन्न हुन्छ। यदि समाज निर्माण गर्ने मानिस हुन भने समाजको निर्माणबाट उत्पन्न शक्ति र सम्पतीमाथि निर्णय गर्ने अधिकार उनिहरुकै हातमा कति छ।
जमिन कसको, कारखाना कसको, पूंजी कसको, प्राकृतिक स्रोत कसको र सबैभन्दा महत्वपूर्ण कुरा मानिसहरुले सिर्जना गरेको संसारको दिशा निर्धारण गर्ने अधिकार कसको?
माछा किन मर्दैन ?
Cymothoa Exigua को रुपमा सबैभन्दा रोचक कुरा यहि हो । परजीवीले माछालाई तुरुन्तै मार्दैन, किन? किनभने परजीवीलाई माछा जिवित चाहिन्छ। माछा जिवित रह्यो भने उसले आफ्नो जीवन चलाउन सक्छ। परजीवी पनि त्यसैबाट लाभान्वित हुन्छ।
यसलाई सामाजिक जिवनको रुपकका रुपमा हेर्ने हो भने हामी एउटा गहिरो कुरा देख्न सक्छौ। कुनै सामाजिक ब्यबस्था मानिसलाई नष्ट गरेर मात्र टिक्दैन। कहिलेकाही मानिसलाई बाचन,काम गर्न र उत्पादन गर्न सक्षम राखेरै उसबाट लाभ लिन सकिन्छ। मानिस काम गर्छ, उसले आफ्नो श्रम दिन्छ, उसले आफ्नो उत्पादन गर्छ, सेवा दिन्छ, ज्ञान सिर्जना गर्छ, समाज चलाउछ,त्यसपछी आफ्नो जीवन चलाउन फेरि काम गर्नु पर्छ।
यसरी जिवनको ठूलो हिस्सा काम गर्नमा बित्छ। त्यसैले एउटा गम्भीर प्रश्न जन्मिन्छ। मानिस जीवन धान्न काम गर्छ कि काम गर्न जीवन धान्छ ? यो प्रश्न सामान्य लाग्न सक्छ तर यसको गहिराइमा पुग्दा यसले सम्पुर्ण सामाजिक संरचनालाई प्रश्न गर्छ।
श्रम भनेको समय मात्र होइन
मानिसले काम गर्दा केवल आफ्नो समय मात्र बेचिरहेको हुदैन। उसले आफ्नो जिवनको एउटा ठूलो हिस्सा दिन्छ। आठ घन्टा काम गर्नु केवल आठ घन्टा समय बिताउनु होइन। त्यो आठ घन्टामा मानिसको शरिर हुन्छ। उसको उर्जा हुन्छ। उसको ध्यान हुन्छ। उसको सीप हुन्छ। उसको अनुभव हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा उसको जीवन हुन्छ।
आज बितेको आठ घन्टा भोलि फेरि फर्केर आउदैन। त्यसैले श्रमको प्रश्न अन्तत जीवनको प्रश्न हो। जब मानिस आफ्नो जिवनको ठूलो हिस्सा कुनै संरचनालाई दिन्छ,तब प्रश्न केवल उसले कति पैसा पायो भन्ने मात्रै होइन। प्रश्न यो पनि हो। उसले आफ्नो जीवनको प्रयोग कसरी गर्ने भन्ने निर्णय कति आफै गर्न पायो?
उत्पादन गर्ने मानिस र उत्पादनमाथिको अधिकार
एक पटक गम्भीर भएर सोचौं, एउटा ठूलो भवन निर्माण भयो। त्यो भवन निर्माण गर्ने मानिसहरु को हुन ? सिमेन्ट घोल्ने मानिस, फलाम काट्ने मानिस, इट्टा बोक्ने मानिस, मेसिन चलाउने मानिस, नक्सा बनाउने मानिस, विद्युत जडान गर्ने मानिस। त्यहाँ काम गर्ने सयौं मानिसको श्रमले भवन निर्माण हुन्छ तर भवन बनेपछि प्रश्न उठ्छ।
त्यो भवनमाथी निर्णय गर्ने अधिकार कसको हुन्छ? कहिलेकाही उत्पादन गर्ने मानिस र उत्पादन माथी निर्णय गर्ने मानिस एउटै हुदैन। यो दुरि जति ठूलो हुँदै जान्छ,त्यति नै एउटा अनौठो सामाजिक अवस्था निर्माण हुन्छ। मानिसले आफ्नो श्रमबाट संसार बनाउछ। तर उसले बनाएको संसारले नै पछि उसका जिवनका सर्तहरु निर्धारण गर्न थाल्छ।
उसले घर बनाउँछ तर आफू भाडाको कोठामा बस्न सक्छ। उसले खाना उत्पादन गर्छ तर आफैलाई प्रयाप्त खाना किन्न कठिन हुन सक्छ।उसले प्रबिधि निर्माण गर्छ तर प्रबिधिको निर्णय गर्ने अधिकार उसको हातमा नहुन सक्छ। उसले ज्ञान सुर्जना गर्न सक्छ तर ज्ञान कसरी प्रयोग हुने भन्ने निर्णय अरुले गर्न सक्छन। यहाँ प्रश्न गरिबी मात्र होइन,उत्पादनमाथिको नियन्त्रणको हो ।
मानिसले आफ्नै सिर्जनाबाट आफैलाई किन पराया महसुस गर्छ ?
मानिसले इतिहासभरि संसार निर्माण गरेको छ।उसले औजार बनायो, औजारबाट उत्पादन बढायो, उत्पादनबाट शहर बनायो, शहरबाट संस्था बनाए, संस्थाबाट विशाल सामाजिक संरचना बनाए। मानिसले विज्ञान निर्माण गर्यो, प्रबिधि निर्माण गर्यो, कम्युटर बनायो, कृतिम बुद्धिमता निर्माण गर्दै छ।
तर एउटा अद्भुत अवस्था देखिन्छ। मानिसले बनाएका संरचना यति बिशाल भएका छन् कि कहिलेकाहीँ मानिस स्वयं ती संरचनाको सानो हिस्सा मात्र बनेको अनुभव गर्छ। उसले बनाएको प्रबिधिले उसको काम निर्धारण गर्न सक्छ। उसले बनाएको बजारले उसको आवस्यकताको मूल्य निर्धारण गर्न सक्छ।उसले बनाएको संस्थाले उसको व्यबहार नियन्त्रण गर्न सक्छ।
उसले बनाएको आर्थिक संरचनाले उसको समय कसरी खर्च गर्ने भन्ने निर्धारण गर्न सक्छ। यसरी मानिसले आफ्नो हातले बनाएको संसारभित्र आफुलाई अपरिचित महसुस गर्न सक्छ।सिर्जनाकर्ता आफै आफ्नो सिर्जनाको अधिनस्थ बन्न सक्छ। यो नै सायद हाम्रो समयको सबैभन्दा ठुलो बिरोधाभाष मध्ये एउटा हो।
समस्या मानिस कमजोर हुनु मात्र होइन
यदि कुनै मानिस गरिब छ भने हामी प्राय भन्छौ, अझ बढी मेहनत गर। यदि कुनै मानिस सफल छैन भने आफुलाई बदल भन्छौ। यदि कसैसङ्ग अवसर छैन भने भन्छौ अझ प्रयास गर। निश्चित रुपमा ब्यक्तिगत प्रयास महत्वपूर्ण छ। तर एउटा प्रश्न अझै बाँकी रहन्छ।
यदि हजारौ मानिसले मेहनत गरिरहेका छन् भने पनि उनिहरुले प्राप्त गर्ने अवसर र परिणाममा ठुलो अन्तर किन रहन्छ? यदि समस्या केवल ब्यक्तिगत कमजोरी हो भने समान परिस्थितिमा रहेका मानिसहरुको परिणाममा यति ठुलो संरचनात्मक अन्तर किन देखिन्छ।
त्यसैले कुनै समाजलाई बुज्न मानिसको ब्यक्तिगत चरित्र हेरेर मात्र पुग्दैन । उसले काम गर्ने परिस्थिति हेर्नुपर्छ। उसको पहुँच हेर्नुपर्छ।उसको स्वामीत्व हेर्नूपर्छ। उसको निर्णय गर्ने अधिकार हेर्नूपर्छ र सबै भन्दा महत्वपूर्ण उसले आफ्नो जिवनलाई प्रभावित गर्ने निर्णयहरुमा कति वास्तविक शक्ति राख्छ भन्ने हेर्नुपर्छ।
स्वतन्त्रता भनेको के हो ?
हामी स्वतन्त्र छौ भन्छौ। तर स्वतन्त्रताको अर्थ के हो ? आफुले चाहेको कुरा बोल्न पाउनु, आफ्नो धर्म रोज्न पाउनु, मतदान गर्न पाउनु,आफ्नो पेशा रोज्न पाउनु। यि सबै स्वतन्त्रताका महत्वपूर्ण पक्ष हुन् । तर एउटा अर्को गम्भीर प्रश्न पनि छ। यदि मानिससङ्ग आफ्नो जीवन चलाउने आवश्यक साधन माथी आफ्नो नियन्त्रण छैन भने उसको स्वतन्त्रता कति वास्तविक हुन्छ ?
कागजमा मानिस स्वतन्त्र हुन सक्छ तर यदि आफ्नो आधारभुत आवश्यकता पूरा गर्न उसले आफ्नो श्रम बेच्नु पर्छ, आफ्नो जिवनको समय कसरी प्रयोग गर्ने भन्ने आफ्नो हातमा छैन र आफ्नो जिवनलाई प्रभाबित गने महत्वपूर्ण निर्णयहरुमा उसको आवाज अत्यन्त कमजोर छ भने त्यो स्वतन्त्रताको गहिराई कति छ ?
त्यसैले स्वतन्त्रता केवल बन्धन नहुनु होइन। स्वतन्त्रता आफ्नो जिवनको दिशा निर्धारण गर्ने वास्तबिक क्षमता पनि हो।
परजीवी हटाउने प्रश्न भन्दा गम्भीर प्रश्न
अब एक पटक माछातर्फ फर्केर हेरौं। यदि माछाले आफ्नो शरिरमा परजीवी रहेको थाह पायो भने समाधान के होला ? केवल माछालाई अझ बलियो बनाउने ? अझ धेरै खाना खोज्न लगाउने? उसलाई अझ छिटो पौडिन सिकाउने? अझ धेरै मेहनत गर्न लगाउने? वा उसको शरीर भित्र स्थापित भएको सम्बन्धलाई नै परिवर्तन गर्ने?
यहिबाट अझ गहिरो प्रश्न सुरु हुन्छ। हामी केवल प्रतिस्पर्धा गर्न सिकाउँने कि यस्तो समाज बनाउने जहाँ मानिसले आफ्नो सामुहिक जिवनमाथी पनि प्रभाबकारि नियन्त्रण राख्न सकोस। हामीले मानिसलाई केवल जिवित रहन सिकाउने कि अर्थपूर्ण रुपमा वाँच्न सक्ने अवस्था निर्माण गर्ने। हामीले केवल सम्पती बढाउने कि सम्पतिले मानिसको जिवनलाई कसरी प्रभावित गरिरहेको छ भनेर पनि प्रश्न गर्ने?
मालिक को हो ?
सायद मानव सभ्यताको पुरानो प्रश्न मध्ये एउटा प्रश्न हो, मालिक को हो ? जमिनको मालिक को हो? पानीको मालिक को हो? जङ्गलको मालिक को हो ? ज्ञानको मालिक को हो? प्रबिधिको मालिक को हो? मानिसको श्रमबाट बनेको सम्पतिको मालिक को हो? र अन्तत मानिस आफ्नै जिवनको मालिक होकि होइन ?
यदि समाज मानिसहरुले निर्माण गरेका छन् भने समाजमाथिको नियन्त्रण पनि मानिसहरुको सामुहिक जीवनसङ्ग जोडिनुपर्छ। यदि उत्पादन सामुहिक श्रमबाट हुन्छ भने त्यसबाट सिर्जित अवसर,शक्ति र निर्णयमा पनि सामुहिक सहभागिताको प्रश्न उठ्नुपर्छ। यो कुनै एउटा वर्ग, समूह वा ब्यक्ती बिरोधी प्रश्न मात्र होइन। यो मानव स्वतन्त्रताको प्रश्न हो।
माछालाई जिब्रो फिर्ता दिनु
Cymothoa Exigua को स्वरुपलाई सामाजिक अवस्थासङ्ग जोड्दा अध्ययनलाई यहि ठाउँमा ल्याउछ। समस्या माछा जिवित छ कि छैन भन्ने मात्र होइन।माछा आफ्नो जीवन आफ्नै तरिकाले चलाउन सक्ने अवस्थामा छ कि छैन भन्ने पनि हो।
मानिस केवल जिवित हुनु प्रयाप्त छैन। उसले खाना खानुपर्छ, काम गर्नुपर्छ, सृजना गर्नुपर्छ, प्रेम गर्नुपर्छ, सोच्नुपर्छ, आफ्नो भबिष्यबारे निर्णय लिनुपर्छ र आफुले निर्मण गरेको संसारमा आफुलाई पराया होइन, मालिकको रुपमा अनुभब गर्नसक्नुपर्छ।
त्यसैले मेरो प्रश्न यस्तो हो, हामीले मानिसलाई केवल बाँच्ने क्षमता दिने समाज बनाउने कि आफ्नो जीवन माथी नियन्त्रण गर्ने समाज बनाउने ? हामीले केवल श्रमिक खोज्ने समाज बनाउने कि सृजनाकर्तालाई पनि निर्णयकर्ता बनाउने? हामीले केवल उत्पादन बढाउने कि उत्पादनको उदेश्य पनि सोद्ने? हामीले केवल सम्पती सृजना गर्ने कि त्यो सम्पतिले कसको जिवनलाई कस्तो बनाइरहेको छ भनेर पनि हेर्ने ?
निष्कर्ष :
Cymothoa Exigua परजीवी हो। पूंजि, बजार, स्वामीत्व, संस्था वा सामाजिक संरचनालाई त्यससङ्ग बैज्ञानिक रुपमा तुलना गर्न मिल्दैन। तर रुपकले हामीलाई सोच्न बाध्य बनाउँछ। एउटा माछा पौडिरहेको छ,उ खाना खान्छ,बाँचिरहेको छ। बाहिरबाट हेर्दा उसको जीवन सामान्य देखिन्छ। तर उसको शरिरको एउटा महत्वपूर्ण स्थानमा अर्को जिव बसिरहेको छ।
त्यसैले म फेरि प्रश्न उब्जन्छ, माछा जिवित छ तर जिब्रो कसको नियन्त्रणमा छ ?
मानिस काम गर्छ, कमाउँछ, खर्च गर्छ, परिवार पाल्छ, घर बनाउँछ,सभ्यता बनाउँछ, प्रबिधी बनाउँछ। तर अन्तत प्रश्न यति मात्र होइन कि मानिस कति उत्पादन गर्छ। प्रश्न यो हो, उसले उत्पादन गरेको संसारमाथी उसको नियन्त्रण कति छ? किनकी यसलाई केवल जिवित राख्नु र मानिसलाई स्वतन्त्र बनाउनु एउटै कुरा होइन।
समाजको अन्तिम उपलब्धी मानिसलाई उत्पादन गर्न लगाउनु मात्र होइन। मानिस आफ्नो श्रम,आफ्नो समय,आफ्नो सृजना र अन्तत आफ्नो जिवन माथी अर्थपुर्ण नियन्त्रण गर्न सक्ने अवस्था निर्माण गर्नु हो। सायद भबिष्यको सबैभन्दा ठूलो सभ्यता त्यही हुनेछ। जहाँ मानिसलाई केवल माछा जस्तै बाच्न दिइने छैन,उसलाई आफ्नो जिवनको जिब्रो आफै चलाउने अधिकार हुनेछ।
(रुकुम पश्चिमकाे आठबिसकोट न.पा.१० निवासी लेखक रामसरण बि.क. 'दिगाे' नामले परिचित हुनुहुन्छ ।)