नेभिगेशन
समाज

रुकुममा श्रीमान् - श्रीमतीको झगडा मिलाउन गएका वडा अध्यक्ष माथि नै कुटपिट 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३ का वडा अध्यक्ष माथि कुटपिट भएको छ । 

वडा अध्यक्ष श्रीकृष्ण शर्मा माथि आफ्नै वडाका एक पुरुषले कुटपिट गर्दा उहाँ घाईते हुनुभएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार शुक्रबार बिहान वडा अध्यक्ष शर्मा माथि कुटपिट भएको हो । उहाँका अनुसार सोही वडाको रातामाटा टोलका २५ वर्षीय सुदिप रोकाया र उहाँको श्रीमती डम्मरी रोकाय बिच झैझगडा भईरहेको बेला वडा अध्यक्ष शर्मा विवाद मिलाउन जानुभएको थियो । 

उनीहरुलाई सम्झाई बुझाई गर्ने क्रममा सुदिप रोकायाले वडा अध्यक्ष माथि नै हातपात गरेका थिए । रोकायले कुटपिट गर्दा वडा अध्यक्ष शर्माको कम्मरमा भित्रि चोट लागेको छ । उहाँलाई उपचारको लागि चौरजहारी अस्पताल लगिएको छ । 

स्थानीयका अनुसार रोकायाले श्रीमतीलाई लछारपछार गरेर कुटपिट गरिरहेको बेला वडा अध्यक्ष शर्माले रोक्न खोज्नु भएको थियो । आवेगमा रहेका रोकायले वडा अध्यक्षलाई धक्का दिदाँ काल्नाबाट लड्नुभएको थियो । ढुङ्गामा बजारीदा उहाँको ढाडमा चोट लागेको हो । 

श्रीमती र वडा अध्यक्ष माथि कुटपिट गर्ने रोकायलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक कारबाहि अगाडी बढाएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्