नेभिगेशन
समाज

रुकुम  पश्चिममा आजैबाट एसइईको उत्तरपुस्तिका चेकजाँच सुरु

रुकुम पश्चिममा आजैबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका चेकजाँच सुरु भएको छ । आजैबाट परीक्षा सुरु भएतापनि परीक्षा लगत्तै उत्तरपुस्तिका जाँच गर्न सुरु गरिएको हो । 

यस वर्षको एसइईको नजिता एक महिना भित्रै सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारीका बिच सम्बन्धित परीक्षा केन्द्रहरुमै उत्तरपुस्तिका जाँचको व्यवस्था मिलाईएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षा बोर्डबाट प्राप्त उत्तरकुञ्जिका समेत सम्बन्धित परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई उपलब्ध गराएपछि उत्तरपुस्तिका जाँच सुरु भएको छ । 

उहाँका अनुसार आज पहिलो दिन अङग्रेजी बिषयको परीक्षा सकिएपछि जिल्लाका सबैजसो परीक्षा केन्द्रहरुको उत्तरपुस्तिका आजैबाट जाँच्न थालिएको छ । बाँकि रहेका केहि केन्द्रहरुको भने भोली नै बिषय विज्ञ (परीक्षक) चयन गरेर जाँच गरिने छ । एसइई परीक्षाका लागि जिल्लामा १६ वटा परीक्षा केन्द्र रहेका छन् । 

इकाई प्रमुख पुनका अनुसार सम्बन्धित परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुले रोस्टरको आधारमा परीक्षकहरु चयन गरेर उत्तरपुस्तिका जाँचको व्यवस्था मिलाउनु भएको छ । उत्तरपुस्तिका जाँच सुरु गरेको तीन दिन भित्र सक्काएर बुझाउनु पर्ने व्यवस्था रहेको पुनले जानकारी दिनुभयो । 

मुसीकोट नगरपालिका ५ सेरीगाउँस्थित यमुनानन्द नमूना माध्यमिक विद्यालयका केन्द्राध्यक्ष कमप्रसाद देवकोटाले रोस्टरमार्फत चयन हुनुभएका परीक्षकहरुलाई मुचुल्कासहितका उत्तरपुस्तिका र शिक्षा इकाईमार्फत प्राप्त भएको उत्तरकुञ्जिका उपलब्ध गराईएको बताउनुभयो । विज्ञ शिक्षकहरुले आजैबाट धमाधम उत्तरपुस्तिका चेकजाँच गरिरहेको उहाँले जानकारी दिनुभयो । 

यस व्यवस्थाले छिटो छरितो परीक्षाफल प्रकाशित हुने उहाँको भनाइ छ । सम्बन्धित विद्यालयका विद्यार्थीहरुको परीक्षा केन्द्र फरक विद्यालयमा रहेकोेले परीक्षा केन्द्र रहेकै विद्यालयका विषयविज्ञ शिक्षकहरु उत्तरपुस्तिका जाँचमा संलग्न हुनुभएको छ । यो अवसरले विज्ञ शिक्षकहरुलाई समेत उत्साह मिलेको र संवेदनशिल भएर चेकजाँचमा लागेको केन्द्राध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

रुकुम पश्चिममा आज पहिलो दिनको परीक्षामा तीन हजार ८३२ जना परीक्षार्थीहरु सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ । उनीहरु साधारण, प्राविधिक र ग्रेडबृद्धितर्फका परीक्षार्थी हुन् । जिल्लामा चार वटा संस्थागत विद्यालय र ७८ सामुदायिक विद्यालय गरी कुल ८२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्