नेभिगेशन
राजनीति

विद्यार्थी राजनीति हुँदै अब प्रतिनिधिसभामा गोपाल शर्मा

कुनै समय एउटै पार्टी–संगठनमा रहेर सहकार्य गरेका गोपाल शर्मा र जनार्दन शर्माका बीचमा यसपल्टको निर्वाचनमा भने प्रतिस्पर्धा भयो । साबिकको माओवादीले विभिन्न दलसँग एकता गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि गोपाल यही पार्टीमा रहे भने जनार्दन उक्त एकतामा नगई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गर्नतर्फ लागे । यसपछि यी दुई पूर्व सहकर्मीको बाटो अलग–अलग भयो । 

अनि यसपल्टको निर्वाचनमा यी दुवै जना एकै निर्वाचन क्षेत्रमा तर, फरक–फरक पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिए । मतगणनाको सुरुवातीमा अग्रता जनार्दन शर्माकै भएपनि पछि गोपालले लगातार लिड गरिरहे । सुरुमा गोपाल र जनार्दनकै बिचमा प्रतिस्पर्धा देखियो पछि गोपालले कांग्रेसका उम्मेदवार राजु केसीसँग ४ हजार ९ सय ४८ मतान्तरले जित हात पारे । 

वि.सं. २०४६ सालतिर गोपाल शर्मा जम्मा १२ वर्षका थिए । देशमा भर्खरै प्रजातन्त्रको उदय भएको थियो । त्यही बेला उनको मनमा पनि एक प्रकारको हलचल पैदा भयो, परिवर्तनको लालित्य मन–मस्तिष्कसम्म पुग्यो । त्यही बेला तत्कालीन विद्यार्थी संगठन अनेरास्ववियुको कलम–तारा अंकित झन्डा उचालेर उनले आफ्नो राजनीतिक यात्राको आरम्भ गरे ।

रुकुमको चौरजहारीस्थित शीतल माध्यामिक विद्यालयमा अनेरास्ववियुको सह–इकाई कमिटीको सह–सचिवको जिम्मेवारी ग्रहण गर्दै उनले रातो झन्डामुनि परिवर्तनको कसम खाए । अनि सुरु भयो गोपाल शर्माबाट ‘कमरेड अनल’ बन्ने उनको यात्रा । तत्कालीन ‘जनयुद्ध’ताका राखिएको उनको सम्पर्क नाम हो ‘अनल’ अर्थात् ‘कमरेड अनल’ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ५ लाहरेसिमलमा आजभन्दा ४८ वर्षअघि जन्मिएका शर्माले २०४८ सालमा सोही विद्यालयमा अनेरास्ववियुको इकाई अध्यक्ष हुँदै २०५१ मा रुकुम जिल्ला कमिटी सदस्य, २०५३ मा जिल्ला अध्यक्ष र २०५४ मा केन्द्रीय सदस्य एवम् राप्ती अञ्चल इन्चार्जको जिम्मेवारी बहन गरे । यसका साथै उनी २२ वर्षको हुँदा २०५६ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष एवम् तत्कालीन नेकपा माओवादीको रुकुम जिल्ला कमिटी सदस्य तथा एरिया इन्चार्जसमेत भए ।

देशमा ‘जनयुद्ध’को राँकोले तत्कालीन राज्यसत्ताको जग हल्लिँदै गरेका बेला, गाउँदेखी सहरसम्म परिवर्तनको नारा गुञ्जिरहेका बेला उनले आन्दोलनको भुङ्ग्रोभित्र आफूलाई स्पात बनाइरहे अनि प्राप्त सबै जिम्मेवारीहरू पूरा गर्दै अघि बढिरहे । यसै क्रममा २०६० सालमा विद्यार्थी राजनीति छोडेर शर्मा पूर्णकालीन भएर पार्टी राजनीतिमा होमिए । 

२०५६ मा नेकपा माओवादीको जिल्ला कमिटी सदस्य र एरिया इन्चार्ज, २०५७ मा विशेष उप–क्षेत्रीय ब्युरोको सदस्य र त्यसको केही समयपछि भेरी–कर्णाली क्षेत्रीय ब्युरोमा स्थानान्तण, २०५८ देखी २०६० सम्म भेरी–कर्णाली क्षेत्रीय ब्युरो अन्तरगत विशेष जिल्ला इन्चार्ज र गण्डक क्षेत्रको पनि जिम्मेवारी, २०६० देखि २०६२ सम्म भेरी–कर्णाली क्षेत्रीय ब्युरो अन्तरगत बाँके र बर्दिया जिल्लाको इन्चार्ज र २०६२ माघदेखि आधार इलाका विशेष ब्युरोमा स्थानान्तरण भई २०६४ सम्म रुकुम जिल्लाको सेक्रेटरी एवम् २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचन परिचालन समितिको प्रमुख भएर खटिएको उनको इतिहास छ । 

यसपछि शर्मा २०६५ देखि २०६६ सालसम्म तत्कालीन एकीकृत नेकपा माओवादीको जिल्ला इन्चार्ज, २०६६ देखी २०६९ सम्म मगरात राज्य कार्यालय सचिव, २०७१ देखि २०७५ सम्म जिल्ला अध्यक्ष हुँदै २०७१ मा एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य समेत भए । 

२०७३ मा उनी नेकपा (माओवादी केन्द्र)को पोलिटब्युरो सदस्य र २०७५ मा एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोसमेत रुकुम पश्चिमको जिल्ला अध्यक्ष भए । यही बेला उनलाई नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारी पनि प्राप्त भएको थियो तर उनले आफू दोहोरो जिम्मेवारीमा नरहने भन्दै उक्त जिम्मेवारी अरू सहकर्मीका लागी सुम्पिए ।

२०७७ सालमा नेकपा विभाजित भई माओवादी केन्द्र साबिककै अवस्थामा पुनर्गठन भएपछि २०७८ सम्म नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिको संयोजक भए । अनि २०७९ देखि हालसम्म उनी पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

२०४६ को पेरीफेरीको परिवर्तनको झिल्को देखेका गोपाल शर्माले ‘जनयुद्ध’को रापताप भोगे । आरम्भमा विद्यार्थी नेता भएर शैक्षिक सुधारका मुद्दा उठाएका उनले सशस्त्र संघर्ष र जनआन्दोलनको उभारसँगै देश परिवर्तनको नारामा आवाज पुलन्द पारे । 

यसपछि शर्मा २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनबाट कर्णाली प्रदेश सांसदमा निर्वाचित भई २०७८ मा कर्णाली प्रदेश सरकारको अर्थमन्त्री भए । प्रदेश सभा र सरकारमा रहँदासम्म आफूले कर्णालीका अविकासका धर्साहरू मेटाउन आफ्नो ठाउँबाट सकेको कोसिस गरेको बताउँछन् । 

‘जिम्मेवारीमा हुँदासम्म मैले यसलाई भरपुर सदुपयोग गर्दै जनताको सेवा गर्ने एक महत्त्वपूर्ण अवसरका लिए,’ उनी भन्छन्, ‘मैले बाल्यकालदेखि हालसम्म जे–जति जिम्मेवारी प्राप्त गरेको छु त्यो सबै मेरो रहर, चाहना र रोजाई भन्दा पनि समयको माग थियो । अनि मेरो कार्यक्षमता र सक्षमताको परिणाम ।’

अहिलेसम्म आफूले कुनै पनि पद र जिम्मेवारी मागेर र दाबी गरेर नलिएको भन्दै उनले जे–जति कार्य–जिम्मेवारी बहन गरियो त्यो पार्टी–संगठनले विश्वास गरेर दिएको पनि बताए । 

करिब ३६ वर्ष लामो आफ्नो राजनीतिक यात्राका क्रममा यिनै गोपाल शर्मा अब प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा पुगेका छन् । रुकुम पश्चिम र सिंगो देशकै जनमनका माग र आवश्यकताको उपाय खोज्ने अनि नीति–निर्माण गर्ने काममा डटेर लाग्ने उनको प्रतिबद्धता छ । - इकान्तिपुरबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति