नेभिगेशन
समाज

जन्मदिन मनाउने खर्च आश्रमका असहायलाई 

पछिल्लो समय जन्मदिन मनाउन फजुल खर्च गर्ने, होटेल तथा रेष्टुरेन्टमा भोज गर्ने चलन बढिरहेको छ । तर, रुकुम पश्चिमका एक युवाले आफ्नो जन्मदिन मनाउने रकम आश्रमका असहायको लागि सहयोग गर्नुभएको छ । 

रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१० घारीखोला घर भई हाल रोजगारीको सिलसिलामा अमेरिकामा रहनुभएका बिनोद केसीले आफनो जन्मदिनको अवसरमा मुसिकोट नगरपालिका १ मा रहेको बुद्धभूमि मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री र नगद रकम सहयोग गर्नुभएको हो ।

जन्मदिनको अवसर पारेर केसीले सल्ले स्थित आश्रमलाई १० हजार मूल्य बराबरको खाद्यन्न सामाग्री (चामल, दाल, तेल, लगायत फलफूल) र पाँच हजार नगद रकम सहयोग गर्नुभएको हो । 

समाजसेवा सङ्गै सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएटरको रुपमा चिनिनुभएका केसीका बुवा केशर बहादुर खत्री र आमा गीता कुमारी खत्रीले खाद्यान्न सामग्री र नगद रकम आश्रममै पुगेर हस्तान्तरण गर्नुभएको हो । उहाँले जन्मदिनमा अनावश्यक रुपमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा लगाउँदा आत्मसन्तुष्टि प्राप्त हुने भएकाले आश्रमलाई थोरै सहयोग गरिएको बताउनुभयो ।

केसीले यसअघि पनि गरिब, असहाय, दीनदुःखी तथा विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले आगामी दिनमा समेत आफ्नो समाजसेवालाई निरन्तरता दिने बताउनुभएको छ।

सहयोग हस्तान्तरण कार्यलाई सहजीकरण गर्नुभएका रुकुमका क्रियाशिल पत्रकार अमरराज पुनले केसीले उदाहरणि र प्रेरणादायी काम गरेको बताउनुभयो । शुभ दिनको अवसरमा यस्ता खालका सेवामुखी तथा सहयोगी कार्य गर्दा सकारात्मक सन्देश जाने उहाँको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्