नेभिगेशन
समसामयीक

नेपालमा भएका आन्दोलन र विश्वव्यापी सम्बन्ध

एक्कासी कतैबाट गोली पट्केको आवाज आउँछ, भिडमा स्कुले पोशाकमा युवा विद्यार्थीहरू पनि देखिन्छन् । पहिलो दिन केही आन्दोलनका युवाहरूलाई गोली पनि लाग्दछ र धेरै घाइते हुन पुग्छन् ।

त्यसैको दोश्रो दिन भिडले उग्ररूप लगी रहेको देखिन्थ्यो देशैभरी युवा आन्दोलनले राज्य विरुद्धको नारा लागाई रहेका थिए। आन्दोलनमा राज्य पक्षको धरपकड  अस्वभाविक देखिन्थ्यो।  दुई दिन मात्रको आन्दोलनले अस्वभाविक रुप लियो र रातारात तत्कालीन सरकार ढल्न पुग्यो ।

यसो हेर्दा यो नेपालमा मात्र होकी ? यति छोटो समयमा यत्रो आन्दोलन कसरी हुन सक्छ ? भन्ने लागेता पनि यसको विश्वव्यापी सम्बन्ध र ऐतिहासिक सम्बन्ध रहेको देखिन्छ । नेपालमा हालसम्म भएका राजनीतिक तथा सामाजिक आन्दोलनहरू केवल आन्तरिक कारणले मात्र उत्पन्न भएका नभइ, तिनमा विश्वव्यापी राजनीतिक विचार, आन्दोलन र अन्तर्राष्ट्रिय घटनाहरूको गहिरो प्रभावका साथै दिशा र ऊर्जा दिएका छन्।

यस लेखमा नेपालमा भएका प्रमुख आन्दोलनहरू र तिनको विश्वव्यापी सम्बन्धको विश्लेषण प्रस्तुत गरिएको छ। 

पहिले हालै भएको जेन्जी आन्दोलनको छोटो चर्चा गरौँ । Gen Z सामान्यतया सन् १९९७ पछि जन्मिएको पुस्तालाई जनाइन्छ। यो पुस्ता डिजिटल प्रविधिसँगै हुर्किएको, विश्वलाई “रियल टाइम” मा देख्ने र तुलना गर्ने पुस्ता हो।

यस पुस्ताका प्रमुख विशेषताहरू : सूचनामा तीव्र पहुँच, परम्परागत सत्ता र नेताप्रति अविश्वास, पहिचान, समानता र सम्पादनप्रति उच्च संवेदनशीलता, विचारधारा भन्दा मुद्दा केन्द्रित सोच आदि हुन । यही कारण Gen Z को आन्दोलन सत्ता कब्जा भन्दा प्रणाली प्रश्न मा केन्द्रित देखिन्छ।

जेन्जी आन्दोलन आकस्मिक वा भावनात्मक विस्फोट होइन, यो गहिरो संरचनात्मक कारणको परिणाम हो। यस आन्दोलनका विविध कारणहरू मध्य मुख्य कारणहरू शिक्षा, सीप र अपेक्षा बढ्दै गएको अन्तरले, शासन प्रणालीले युवा आकाङ्क्षा सम्बोधन गर्न नसक्नु, आर्थिक सङ्कट, डिजिटल चेतना र विगतका आन्दोलनहरूको असफलता हुन । 

इतिहासले प्रमाणित गरेको तथ्य के हो भने, समाज परिवर्तनको निर्णायक क्षणमा युवा पुस्ता अग्रपङ्क्तिमा उभिन्छ। तर हरेक पुस्ताको विद्रोहको स्वरूप एउटै हुँदैन। आजको पुस्ता, जसलाई Generation Z (Gen Z) भनिन्छ, अघिल्ला पुस्ताभन्दा फरक सामाजिक, आर्थिक र प्राविधिक परिवेशमा हुर्किएको छ। यही फरक परिवेशले जन्माएको छ ।

सामाजिक परिवर्तनका सिद्धान्तहरू अनुसार समाजको रूपान्तरण प्रायः युवा वर्गको सक्रिय सहभागिता मार्फत अघि बढ्छ। नेपालको राजनीतिक इतिहासमा १९५०, १९६९, १९९०, २००६ र २०२५ का आन्दोलनहरूलाई विश्वका समकालीन आन्दोलनहरूसँग तुलना गर्दा, यी आन्दोलनहरू कुनै आकस्मिक घटना नभई विश्वव्यापी संरचनागत परिवर्तनको स्थानीय अभिव्यक्ति भएको देखिन्छ।

नेपालमा हाल भएको मिति २०८२ भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन विश्व कै छोटो समयको व्यापक संघर्ष मानिन्छ । जेन् जि आन्दोलनको नाम दिएको यो संघर्ष शासन सत्तामा नयाँ पुस्ताको संलग्नता, सुशासन र सामाजिक न्यायका मागहरु संगै भएको हो । यो संघर्ष नेपालमा मात्रै नभएर श्री बंगलादेश, मोरक्को, मेडागास्कर, इन्डोनेसिया लगायतका देशहरुमा देखियो र केहीमा हुने क्रममा रहेको छ ।

बंगलादेश र मडागास्करमा त राष्ट्रपतिलाई देशै छोड्नु पर्ने अवस्था आयो । विगतमा भएको राजनैतिक संघर्षहरु संस्थागत नहुनु अर्थात असफल हुनुको परिणामको रुपमा अहिलेको संघर्ष भएको देखिन्छ ।  

सन् १९४० को दशकमा विश्वमा स्वशासन अर्थात शासन परिवर्तन, स्वतन्त्रता र लोकतन्त्रिक व्यवस्थाकोलागी संघर्ष भइ रहेको थियो । नेपालमा वि.सं. २००७ सालमा भएको प्रजातान्त्रिक आन्दोलनसंग विश्वमा उपनिवेशवादविरुद्ध चलेका आन्दोलन र दोस्रो विश्वयुद्धपछिको लोकतान्त्रिक लहरसँग जोडिएको देखिन्छ ।

यसै समयमा हाम्रा छिमेकी मुलुकहरुमा पनि आन्दोलन भएको थियो । भारतमा स्वतन्त्रता आन्दोलन (१९४७) र संविधान निर्माणको संघर्ष भएको थियो । त्यसै गरी चीनमा कम्यूनिष्ट क्रान्ति पनि यसै समयकालमा भएको हो ।

यस दशकमा भएका आन्दोलनहरु, विश्वभर फैलिएको लोकतन्त्रको बहस र राजतन्त्रको सीमित भूमिकाबारेको चिन्तनले नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको मागलाई बलियो बनायो। 

वि.सं. २०१७ साल पुष १ गते शाही कदमले नेपालमा लामो समय पंचायतको सुत्रपात गर्यो । यस समय बहुदलियतामा प्रतिबन्ध लगाइयो । नेपालमा राजनीतिक स्वतन्त्रता सीमित भयो। यस अवधिमा विश्व राजनीति शीतयुद्ध (Cold War)ले निर्देशित थियो। यस दशकमा एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै मुलुकहरूमा "राष्ट्रिय स्थायित्व" र "विकास" को नाममा सैन्य वा राजतान्त्रिक अधिनायकवादी शासन स्थापित थिए।

पाकिस्तान, इन्डोनेसिया, दक्षिण कोरिया र केही अफ्रिकी राष्ट्रहरूमा पनि सीमित लोकतन्त्र वा एकदलीय व्यवस्था लागू थियो। नेपालमा पञ्चायत प्रणाली यसै विश्वव्यापी प्रवृत्तिको हिस्सा थियो, जहाँ बहुदलीय प्रतिस्पर्धा भन्दा "नियन्त्रित सहभागिता"लाई प्राथमिकता दिइयो। समाजवाद र पूँजीवादबीचको वैचारिक द्वन्द्वको प्रभाव नेपालमा पनि पर्‍यो। यसपछि नेपालमा वि.सं. २०३६ साल सम्म ठुलो किसिमका आन्दोलनहरु नदेखिए पनि विश्वव्यापी आन्दोलनबाट प्रभावित भइ प्रजातन्त्रकोलागि भित्रभित्रै राजनीतिक दलहरुले तिव्रता दिइ रहेका थिए ।

नेपालमा अर्को राजनैतिक परिवर्तनको जमर्को वि.सं. २०३६ सालमा भएको थियो । झण्डै दुई दशकको पञ्चयात शासन विरुद्ध व्यापक आन्दोलन भयो । जनमतसंग्रहको माग गरियो । जसमा जनमत संग्रहले पंचायतको पुनरागमन गरेको थियो ।

विश्वमा १९७० को दशकमा शासन सुधार, स्वतन्त्रता र वैचारिक स्वतन्त्रताको लागि संघर्ष गरिएको थियो । यस समयकालमा इरानमा इस्लामिक क्रान्ति, अफगनिस्तानमा सोभियत हस्तक्षेप विरुद्ध संघर्ष र अमेरिका लगायत यूरोपमा मानव अधिकारको सम्बन्धमा अन्दोलनहरु भएका थिए । 

नेपालको २०४६ को जनआन्दोलन सबैलाइ थाहा नै छ । अझ यतिबेलाका आन्दोलनको मुख्य नाइकेहरु नै वर्तमान राजनीतिक नेतृत्वमा अर्थात वरिपरि रहेका छन् । उनीहरुकै असफलता नै यस पछिको आन्दोलनको कारक तत्व बन्न पुगेको समेत देखिन्छ । यस समयको आन्दोलनले नेपालमा पञ्चयातको सदाको लागि अन्तय गर्यो र बहुदलिय लोकतन्त्रको पुनस्स्थापना गरायो ।

त्यसयता बहुदलिय शासन स्वरुपको असफलता बारम्बार हामिले भोगेकै विषय हो । विश्वमा १९८० को दशकमा पूर्वी युरोप, ल्याटिन अमेरिका र एशियाका विभिन्न मुलुकहरूमा निरंकुश शासनविरुद्ध विभिन्न संघर्षहरु तीव्र थिए। यस समयमा लोकतन्त्रको स्थापना, स्वतन्त्रता र अधिनायकवादको अन्तयको लागि संघर्ष भएको थियो । बर्लिन पर्खाल पतन (१९८९) र अधिनायकवादी शासनको पतनको अन्तर्राष्ट्रिय वातावरणले नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनलाई प्रेरणा दियो। 

सन् २००० को दशकमा पनि लोकतन्त्र तथा जनसत्ताको लागि संघर्ष भएको देखिन्छ । यस समयमा किर्गिस्थानको टुलिप रिभोल्यूशन, यूक्रेनको ओरेन्ज रिभोल्यूशन, लेबनानको सेडर रिभोल्यूशन मुख्य घटनाहरु हुन् । नेपालमा सडकामा जनआन्दोलन वि.सं. २०६२/६३ मा देखियो ।

यद्यपी भुमिगत संघर्ष दश वर्ष अघि देखि नै भइरहेको थियो । यसको जग २०५२ साल देखि नै सुरु भएको थियो । अझ नजिकबाट हेर्ने हो भने कम्युनिष्ट नेता मदन भण्डारीको हत्या पछि वि.सं. २०५० साल नै माओवादि संघर्षको जगको रुपमा देखिन्छ । यो घटना तत्कालीन समयमा नभएको भए दश वर्षको विपत्ति देशले सायदै व्यहोर्नु पर्दैनथ्यो । 

वर्तमान समयमा देखिएको परिवर्तनको अपेक्षालाई अस्वभाविक र आक्रोशको रुपमा मात्र सिमित पार्दै भ्रम सिर्जना गर्न खोजियो भने यो अस्वभाविक सांघुरो बुझाई हुनेछ। हिजो राजनीतिक आन्दोल गरेर आएका, त्यो आन्दोलनलाई ठिक देख्नेहरु वर्तमान आन्दोलनका मुद्दाहरु गलत सावित गर्न विभिन्न किसिमका आरोपहरु लगाई रहेका छन् ।

भ्रमहरु फैलाएर विश्वव्यापी परिवर्तनको आवाजलाई विषयान्तर गर्न खोजि रहेका छन् । विश्व परिस्थितिलाई सांघुर घेराबाट हेर्नेहरुले वैदेशीक हस्तक्षेप समेत भन्न भ्याएका छन् । विपदको समयमा कुदृष्टि भएकाले धमिलो अवस्थामा हात हाल्नु स्वभाविक हो । यस किसिमका सबै काला नजरहरुलाई निस्तेज गर्न जनएकता र सुजबुझ अवश्य हुनु पर्दछ ।  भ्रमहरुको पछि भन्दा यथार्तता लाई नियाल्नु पर्दछ ।

हरेक आन्दोलन भनेको क्रान्ति हो, क्रान्तिले परिवर्तनको माग गरि रहेको हुन्छ । त्यसलाई यथास्थितीमा राख्न खोज्नु या अस्विकार गर्नु थप जोखिमलाई निम्त्याउनु हो । 

यसर्थ परिवर्तनको विश्वव्यापी समानतामा समानता हुन्छ । यसले मार्ग खोजि रहेको हुन्छ । यो मानविय प्रकोपले निम्त्याएको एक किसिमको विपद हो । विपदमा विभिन्न किसिमका अकाल्पनिक भ्रम तथा खेलहरु सिर्जना हुन सक्दछन् । यसले राज्यलाई परिवर्तनबाट पछाडि धकेल्ने गर्दछ । यस किसिमको विपदको निकास सचेत जनताबाट मात्रै हुन सक्दछ । 

नेपालमा भएका आन्दोलनहरू विश्वव्यापी युवा आन्दोलनको ऐतिहासिक निरन्तरता हुन्। फरक सन्दर्भमा भए पनि यी सबै आन्दोलनहरूले एउटै सत्य देखाउँछन् । नेपालका हरेक ठूला राजनीतिक परिवर्तनहरू विश्वव्यापी युवा आन्दोलनसँग गहिरो रूपमा जोडिएका छन् ।

फरक समय, फरक सन्दर्भ भए पनि मूल आत्मा एउटै छ - युवा चेतनाको विस्फोट। आजको २०२५ को Gen Z आन्दोलन पनि इतिहासको निरन्तरता हो, तर यसको दिशा अझै खुला छ। यदि यसलाई स्पष्ट दृष्टि, नैतिक नेतृत्व र संस्थागत सुधारसँग जोड्न सकियो भने, यसले नेपालको राजनीतिक र सामाजिक संरचनामा गहिरो परिवर्तन ल्याउन सक्छ। इतिहासले देखाउँछ जब युवाले प्रश्न गर्न थाल्छन्, परिवर्तन अपरिहार्य हुन्छ। जब राज्य र समाजबीचको दूरी बढ्छ, युवा वर्ग परिवर्तनको उत्प्रेरक बन्छ। 

अन्तमा, नेपालमा भएका आन्दोलनहरू राष्ट्रिय आवश्यकताबाट जन्मिए पनि तिनको वैचारिक, राजनीतिक र रणनीतिक सम्बन्ध विश्वव्यापी घटनाक्रमसँग गहिरो रूपमा गाँसिएको छ।

विश्वमा चलेका लोकतान्त्रिक, समाजवादी, मानवअधिकार र नागरिक चेतनाका आन्दोलनहरूले नेपाललाई निरन्तर प्रभावित गरेका छन्। त्यसैले नेपालका आन्दोलनहरूलाई विश्व सन्दर्भमा अध्ययन गर्दा मात्र तिनको वास्तविक अर्थ र प्रभावलाई पूर्ण रूपमा बुझ्न सकिन्छ।

- (लेखक खड्का, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा विपद् फोकल पर्सनको रुपमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्