प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतदान अधिकृतको अधिकृतको जिम्मेवारी पाउँदा मनमा उत्साह र जिम्मेवारीको अनुभूति थियो । गन्तव्य बन्यो श्री हिमालय माध्यमिक विद्यालय खदी आठबीसकोट नगरपालिका -३, रुकुम (पश्चिम भाग) ।
नयाँ परिवेश, पहिलो यात्रा उत्साह र निरासा दुबै थियो । यो मतदान केन्द्र विकट भौगोलिक अवस्था, विगतका घटनाक्रम र सुरक्षा चुनौतीले उच्च संवेदनशील रुपमा हेरिएको थियो ।
यस मतदान केन्द्रमा यसअघि मतपेटिका एसिड खन्याउने प्रयास त कहिले झन्डै शतप्रतिशत मत खसेको अवस्था थियो।
जसले गर्दा मतदान केन्द्रमा चर्चा थियो । मतदान केन्द्रको जिम्मेवारीको यो यात्रा केवल सामान्य प्रशासनिक काम मात्र थिएन । चुनौती र अवसर दुबै थियो ।
फागुन २१ गते हुने निर्वाचनको तयारीका लागि १८ गते नै पुग्नुपर्ने थियो । एक मतदान स्थल र दुई मतदान केन्द्रका लागि १२ जनाको हाम्रो टोली थियो ।
फागुन १७ गते नै निर्वाचन सामग्री र मतपत्र बुझेर जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राख्ने बन्दोवस्त मिलाउने काम भयो । सडक यातायातको पर्याप्त र सहज पहुँच थिएन ।
आठबीसकोट नगरपालिकाको वडा नम्वर १, २ र ३ का चार जना मतदान अधिकृतहरू भोलिपल्ट बिहानै ७ बजे बजे प्रस्थान गर्ने निधो गर्यौं । एउटा जीप रिजर्भ गर्ने गरी यातायात व्यवसायीसँग कुरा भयो । बिहानै उपस्थित भयौं तर जीप आएन ।
सोधखोज हुँदा थप पैसा पाएपछि अन्य यात्रीसँगै टाप हानेको बुझियो । सम्भावित उपायहरूको खोजी गर्दै वैकल्पिक व्यवस्था भयो । ७ बजे तय गरिएको यात्रा हामी १० बजेमात्रै प्रस्थान गर्न सफल भयौं । व्यवसायीप्रतिको इमान र संस्कार कस्तो छ भन्ने अनगिन्ती प्रश्नहरू मनमा जागृत भए । २ पैसाको लोभमा व्यवसायीक इमानबाट मान्छेहरू कसरी च्यतु हँदा रहेछन् भन्ने एउटा दृष्टान्त बन्यो ।
पिपलनेटा - माछमी हुँदै छिनखेततिर यात्रा सुरु भएपछि मन केही शान्त भयो । नयाँ साथीहरूसँग सामूहिक उद्देश्य प्राप्तिका लागि यात्रा गर्दा मन केही खुसी र केही गम जस्तै बनेको थियो । सबैभन्दा प्राथमिकतामा थियो त मतदान कार्य सम्पन्न गर्ने जिम्मेवारी ।
निर्वाचन आयोगको सूचीमा यो मतदान केन्द्रलाई उच्च संवेदनशीलमा दर्ज थियो । २०७४ साल मंसिर महिनामा सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा एसिड प्रहार भएको साथै झन्डै शत प्रतिशत मत पनि खसेको घटनाले मतदान केन्द्र निकै चर्चामा थियो । संवेदनशील रुपमा हेरिएको थियो ।
आफ्नै पक्षमा मत प्राप्त गर्न जस्तोसुकै कठिन कदम चाल्न राजनीतिक दलका स्थानीय अगुवाहरू तत्पर हुने कुराले मतदान सहज रुपमा कसरी सम्पन्न गर्ने भन्ने कुरामा विभिन्न प्रश्नहरू मनमा उद्देलित भइरहेका थिए । त्यसैले जिम्मेवारी गह्रौ भएको आभास भइरहेको थियो ।
मतदान प्रक्रियाका क्रममा हुन सक्ने चुनौतीलाई कसरी सहजीकरण गर्न सकिएला ? मतदाता र मतदान प्रतिनिधिको भूमिकामा कसरी समन्वयकारी भूमिका खेल्न सकिएला ? जस्ता सन्दर्भको पूर्वानुमानमा विभिन्न सवालहरू मनमा उद्देलित भइरहेका थिए ।
मतदान केन्द्रतर्फको यात्रा आफैंमा एउटा स्मरणीय बन्यो । छिनखेतमा पुगेर रमाइला गफसँगै सबैजनाले खाना खायौं । बाँफिकोटको नदुवाबाट हाम्रो यात्रा झारमारे भञ्ज्याङ्तर्फ मोडियो । कच्ची, धुलाम्य बाटो । बिचबिचमा सडक स्तरोन्ती हुँदै गरेको उखट आखट ।
आँखा घुम्ने डरलाग्दा छङ्गाचुर भिर । करिब १.५ घण्टाको यात्रापछि सयौं घुम्ती पार गर्दै झारमारे भञ्ज्याङ्मा हामी पुग्यौं । लेकमा पुग्दा सिस्ने हिमाल टक्क अगाडि हामीलाई स्वागत गर्न बसेको जस्तो आभास भयो ।
हिउँ छिचोलेर अगाडी बढेको निर्वाचन कर्मचारीहरुको टोली ।
वाह ! सिस्ने हिमाल । सिस्ने मुस्कुराइ रहेको थियो । तस्वीर र कयौं कोस टाढाबाट देखिने सिस्नेसँग सामुन्ने संवाद भयो। मन हर्षले गदगद भयो । सिस्नेको चिसो हावाले स्वागत गरिरेहेको थियो । चित्रीपाटनसहित आसपासका हिम चुचुराहरू पनि हामीलाई देखेर मुस्काए झैं थियो । हामीले सिस्ने सहित आसपासका हिमश्रङ्खलासँग रमाउँदै फोटो खिच्यौं । तलतिर हेर्दै गणतव्यको अनुमान लगायौं ।
निर्वाचन मात्रै नभएर पर्यटक बन्ने अवसर समेत मिलेको आभास भयो ।
झारमारेबाट ओरालो झर्नु थियो । हिउँ परेका कारण पग्लेर कच्ची सडक हिलाम्य थियो । गाडीबाट झर्दै कतिपय ठाउँमा पैदल यात्रा गर्यौं । कतिपप ठाउँमा हिउँसँग खेल्लै, फोटो खिच्दै अनि हिउँ पन्छ्याउदै अघि बढ्यौं ।
भूपाल ओली सरको ठट्टाले बिचबिचमा रमाइलो थपिरहेको थियो । पहाडी बाटो, चिप्लो जमीन र चिसो मौसमबीच गणतव्यतर्फ अगाडि बढ्यौं । पहिलोपटक पुग्न लागेको ठाउँ भएकोले मनमा जिज्ञासा पनि थियो । कस्तो होला त्यो गाउँ ? कस्तो होला त्यहाँको मतदान वातावरण ? सहज होला वा तनाव ?
मतदानको बिषयमा बसेको सर्वपक्षिय बैठक ।
फागुन १८ गते नै बेलुका ६ बजे हामी मतदान केन्द्र पुग्यौं । विद्यालयमै बस्ने व्यवस्था मिलायौं । विद्यालय परिवारको पूर्ण साथ र सहयोग प्राप्त भयो । भोलिपल्ट सर्वपक्षीय बैठक बस्ने निधो गर्यौं । निर्धारित समयमै उत्साहवर्धक रुपमा सहभागिता भयो । विगतका मतदान प्रक्रियाको चर्चा चल्यो । यस पटक मतदान केन्द्रको पहिचान बन्दल्ने साझा प्रतिवद्धता बन्यो ।
सोही अनुसार नमूना मतदान केन्द्र समेत बन्ने गरी मतदान स्थलको सजावट, स्वागतद्वार, अशक्त मतदाताहरूको बसाइँ व्यवस्थापन लगायतका समग्र पक्षको नवीन ढङ्गले व्यवस्थापन गर्ने प्रयास गरियो । कामलाई रचनात्मक कार्यका लागि ‘ख’ मतदान केन्द्रका अधिकृत भूपाल विष्ट सरसँगको सहकार्यले हामी थप उत्साहित थियौं ।
फागुन २१ गतेको दिन बिहान ठिक ७ बजे नै मतदान सुरु गर्न सफल भयौं । ९२ वर्षका गंगे थापालाई पहिलो मतदान गर्ने अवसर प्रदान भयो । सबै मतदाताहरूले शान्तिपूर्ण रुपमा आफ्नो मताधिकार प्रयोग गरे । उच्च संवेदनशील मानिएको मतदान केन्द्रमा पनि कुनै अप्रिय प्रयास र घटना भएन । मतदान प्रतिनिधिहरूबीच एकदमै हार्दिकता कायम भयो ।
९२ वर्षका गंगे थापा पहिलो मतदाताको रुपमा मतदान गर्नुहुँदै ।
कुनै पनि कुरामा सामान्य विवाद र चर्को झर्को हुनुपर्ने अवस्थाको समेत गुञ्जायस भेटिएन । दुई वटा केन्द्रमा गरी ६६.४५ प्रतिशत मत खस्यो । बेलुका ५ ः १५ बजे नै मतदान स्थलको सम्पूर्ण कार्य सम्पन्न भयो ।
मतपेटिका सुरक्षित रुपमा फर्काउनु पनि अर्को चुनौती थियो । फर्कने क्रममा पनि बाटो हिलाम्य भएका कारण गाडी ठाउँठाउँमा धकेल्नुपर्ने अवस्था थियो । सुरक्षाकर्मी, मतदान प्रतिनिधि सहितको सक्रियतामा हिलोमा फसेका गाडीहरू झारमारे भन्ज्याङ पुर्याउन सफल भएपछि मनमा खुसीको सञ्चार भयो ।
ओरालो झर्दै नदुवा, छिनखेत हुँदै सदरमुकाम राती १ः५५ बजे सुरक्षित साथ पुग्यौं । मतपेटिका बुझ्नका लागि मुख्य निर्वाचन अधिकृत सहितको टोलीमा प्रतिक्षा थियो । स्वागत, बधाईं र धन्यवाद सहित मतपेटिका बुझ्ने बुझाउने कार्य सम्पन भएपछि ठूलो जिम्वारीको भारी बिसाएको अनुभूति भयो ।
निर्वाचन व्यवस्थापन केवल कागजी प्रक्रिया र नियमको कार्यान्वयन मात्र होइन । यो धैर्य साहस समन्वयन र जिम्मेवारीको संयोजन पनि हो ।
मतदातामा अनुशासन, धैर्य र लोकतन्त्रप्रतिको विश्वास थियो । सुरक्षा निकाय, निर्वाचन कर्मचारी र स्थानीय समुदायबीच उत्कृष्ट समन्वय कायम रह्यो । विशेषगरी स्थानीयवासीहरूको साथ र सहयोग उल्लेखनीय रह्यो ।
लोकतन्त्र केवल मत हाल्ने प्रक्रिया मात्र होइन । यो जनताको विश्वास र सहभागिता हो । विकट भूगोल, सुरक्षा चुनौती र कठिन परिस्थितिका बाबजुद पनि नागरिकहरू लोकतन्त्रप्रति सचेत र प्रतिवद्ध रहेको पाइयो । यसले लोकतन्त्रको जग अझ बलियो बनेको महशुस दिलायो ।
मतदाताहरुको स्वागतमा कर्मचारी टोली ।
खदीको त्यो अनुभव मेरो जीवनको अविश्मरणीय पृष्ठ बनेर रहनेछ । खदी मतदान केन्द्रको पहिचान अब बदलिएको छ ‘खदी मतदानलाई उत्सव मान्ने मतदान केन्द्र’ ।
हिउँ पन्छ्याउदै पुगेको बाटो, हिलोमा फसेको गाडी धकेल्दै भेटाएको गणतन्वय र लोकतन्त्रप्रति मतादाताहरूको उत्साह यी सबै दृश्यहरू मतदान अधिकृतको डायरीका अमिट स्मृतिहरू बनेर सधैं सम्झनामा रहनेछन् ।
विकट ठाउँको संवेदनशील क्षेत्रको भूमिका प्रदान गर्ने व्यक्तित्त्व र सहयोग गर्ने मतदाता, कर्मचारी, राजनीतिक दलका स्थानीय प्रमुख र प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत सबै महानुभावहरूप्रति हार्दिक आभार सहित धन्यवाद ।
(लेखक ढकाल, चौरजहारी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)