नेभिगेशन
समाज

आठबिसकोटमा यात्रुवहाक जीपमा लुटपिट, चालक र यात्रु घाईते 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ मा एक यात्रुबहाक जीपमा लुटपिट भएको छ । 

मंगलबार बेलुका आठबिसकोट नगरपालिका ९ को राडीबजारबाट खेततर्फ जाँदै गरेको यात्रुबहाक जीपमा वडा नम्वर १ रोकाजास्थित भित्रि सडकमा लुटपिट भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार मंगलबार बेलुका साढे सात बजेको समयमा सोहि वडाको फिलिङगे निवासी २५ वर्षीय मुकेश बिकले चलाएको बा १३ च २९५७ नम्वरको डबल क्याप बोलेरो जीपमाथि आक्रमण भएको हो । प्रहरी निरीक्षक पुनका अनुसार जङगलको बिचमा पुगेको बेला केहि युवाहरुले बाटोमा ढुङगा राखेर बाटो छेकेका थिए ।

गाडी चालक बिकले ढुङगा पन्छाउने क्रममा एक्कासी चालकलाई नाम थर नखुेलका चार, पाँच जनाको समुहले कुटपिट गरेका थिए । कुटपिटबाट चालको शरिरको भित्रि भागमा चोट लागेको छ भने गाडीमा सवार सोहि नगरपालिका १ निवासी ३९ वर्षीया पुने बुढालाई पनि चोट लागेको छ । चालकलाई कुटपिट भईरहेको बेला छुटाउने क्रममा बुढालाई पनि आक्रमणकारीले कुटपिट गरेका हन् । 

प्रहरी निरीक्षक पुनका अनुसार घाईतेहरुलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल ल्याईदै छ । आक्रमणकारीले चालकको साथमा रहेका २ वटा मोबाईल र झोला लिएर फरार रहेका छन् । उनीहरुको खोजी भईरहेको बताईएको छ । आक्रमणकारीहरुले जीप माथि समेत ढुङगा प्रहार गरेर क्षति पुर्याएका छन् । 

घाईते चालक मुकेशका जेठान हिमाल रसाईलीले मूलपाटीलाई दिनुभएको जानकारी अनुसार लुटेराहरुले चालकको झोलामा रहेको एघार लाख चालिस हजार रुपियाँ लुटेका छन् । चालकले अन्य व्यक्तिले पुर्याईदिनु भनेर दिएको रकम झोलामा हालेर लिईदिएको उहाँको भनाइ छ । 

जीपमा चालकसहित दुई जना पुरुष र अन्य महिला रहेको उहाँले जानकारी दिनुभयो । उनीहरुले केहि यात्रुहरुलाई हतियार समेत प्रहार गरेर भागेको रसाईलीले जनाउनुभयो । 
घटनास्थल भौगोलिक रुपमा दुर्गम स्थानमा रहेको र सञ्चार सुविधा समेत नभएकोले यकिन विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । नगद रकम लुटपिट भएको वा नभएको बारेमा एकिन विवरण आउन भने बाँकि रहेको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज