नेभिगेशन
समाज

अब घरमै राहदानी पुर्‍याईने, रुकुम पश्चिम प्रशासन र हुलाकबिच समझदारी

सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको छ । अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको हो । 

नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत बुँदा नं. २७ कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र जिल्ला हुलाक कार्यालयबीच उक्त समझदारी भएको हो । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा मंगलबार मात्र पदबहाल गर्नुभएका निराश राज गौतमले सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने व्यवस्था गर्नुभएको हो । 

प्रमुख जिल्ला अधिकारी निशान राज गौतमका अनुसार सेवाग्राहीहरुलाई राहदानी पुनः प्राप्ती गर्न कार्यालयमा आउनुपर्ने समय तथा त्यसमा लाग्ने खर्चको मितव्ययिता कायम गर्ने र सिमित श्रोत साधनहरुको उच्चतम उपयोग गरी सेवाग्राहीहरुलाई छिटो, छरितो र सुरक्षित रुपमा घरदैलोमा सरकारी सेवाहरु उपलव्ध गराउन यस्तो सेवा सुरु गरिएको हो । त्यसैगरी सरकारी सेवाप्रति नागरिकहरुको विश्वास वढाई सेवाग्राहीहरुमा सुशासनको अनुभूति गराउने उद्धेश्यले यो सेवा सुचारु गरिएको हो उहाँले जनाउनुभयो । 

आज एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी निशान राज गौतम र हुलाक अधिकृत कुमारी रिमा मल्लका बिच उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सेवाग्राहीले राहदानीका लागि आवेदन दिँदा उल्लेख गरेको ठेगानामा नेपाल हुलाक सेवामार्फत सुरक्षित रूपमा राहदानी पु¥याइनेछ । हुलाक कार्यालयले राहदानीको सुरक्षित ढुवानी, प्राप्तकर्ताको पहिचान पुष्टि गरी हस्तान्तरण गर्ने तथा वितरणसम्बन्धी अभिलेख राख्ने जिम्मेवारी लिएको छ ।

सम्झौता पत्रमा कागजातहरुको सुरक्षा र गोपनियतालाई उच्च प्राथमिकता दिने, राहदानी सङ्कलन तथा वितरणका क्रममा देखिएका साझा समस्याहरुलाई एक आपसमा सूचना आदान प्रदान गरी उत्पन्न समस्याहरुको समाधान समन्वयात्मक तवरले तत्काल समाधान गर्ने, राहदानी वितरणको कार्यहरुलाई व्यवस्थित र परिमार्जन गर्दै चरणबद्ध रुपमा विस्तार गर्दै लगिने दुवै पक्षको साझा जिम्मेवारीको रुपमा रहने उल्लेख गरिएको छ ।

त्यसैगरी हुलाकमार्फत घरमा नै राहदानी वितरण गर्ने कार्यको सुरुवात अव बन्ने नयाँ राहदानीहरुबाट लागु गरिने सहमती गरिएको छ । 

समझदारी कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयले राहदानीहको सूची र सम्बन्धित व्यक्तिलाई बितरण गर्दा गराइने भरपाई सहितको विवरण हुलाक कार्यालयलाई उपलव्ध गराउनेछ भने हुलाक मार्फत राहदानी बुझ्न चाहने सेवाग्राहीहरुलाई नियमानुसार तिर्नुपर्ने हुलाक दस्तुर वापतको रकम बुझाउन सहजीकरण गर्नुपर्नेछ ।

त्यसैगरी हुलाक कार्यालयले राहदानी बुझिलिने सेवाग्राहिहरुको लागि भरिने फाराम उपलव्ध गराउने छ भने राहदानीहरु रजिष्ट्री हुलाक बस्तु सरह दर्ता गरी नियमानुसार लाग्ने प्रति गोटा दस्तुर रकम ५५ रुपियाँ सम्बन्धित सेवाग्राहीहरुबाट लिइनेछ । 

यसअघि राहदानी लिन सेवाग्राही आफैं कार्यालय पुग्नुपर्ने बाध्यता रहेकामा नयाँ व्यवस्थाले समय, खर्च र झन्झट घटाउने विश्वास गरिएको छ । विशेषगरी ग्रामीण भेगका नागरिकलाई यसबाट बढी लाभ पुग्ने अपेक्षा गरिएको छ ।

कार्यालयले आवेदन फाराम भर्दा आफ्नो ठेगाना तथा सम्पर्क विवरण स्पष्ट र सही रूपमा उल्लेख गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज