नेभिगेशन
समसामयीक

परीक्षापछिको समय सदुपयोग बारे शिक्षकको सन्देश

आदरणिय अभिभावक ज्यूहरु,
यतिवेला नेपालका ७५३ वटै स्थानीय तहहरुमा अध्ययनरत भाईबहिनीहरुको कक्षा एक देखी ३ सम्म १०० प्रतिशत आन्तरिक मूल्याङ्‌कनबाट र कक्षा ४ देखी कक्षा ९ सम्मको ५० प्रतिशत पाठ्यभारको वार्षिक परीक्षाको नतिजा पनि आइसकेको छ ।

कक्षा १० को एसइई परीक्षा पनि चैत्र १९ गतेबाट देशैभर सञ्चालन भइरहेको छ । बार्षिक परीक्षा बिद्यार्थीहरुले एक शैक्षिक अवधिभर सिकेका सिकाइ उपलब्धीलाई मूल्याङ्कन गरी निर्णयात्मक मूल्याङ्‌कन मार्फत ग्रेडअप हुने शैक्षिक वर्षको अन्तिम समय हो ।

यो अन्तिम परीक्षा पछि बालबालिकाहरु नियमित पठनपाठनबाट फुर्सदिला हुन्छन् । अर्थात उनीहरुले मनोवैज्ञानिक रुपमा स्वतन्त्र भएको महशुस गर्दछन् । यो समय उनीह‌का लागि केवल खेल्ने, आराम गर्ने, घुम्ने र स्वतन्त्र बन्ने मात्र नभई नयाँ नयाँ कुरा सिक्ने, बर्षभरी सिकेका ज्ञानका कुरालाई ब्यवहारसँग जोड्ने, आफ्नो अमता विकास गर्ने, समाज बुझ्ने, सामाजिकरण हुने र समूदायका सकारात्मक गतिविधिहरुमा संलग्न हुने सुनौलो अवसर पनि हो ।

यदि यो समयलाई सहि ढंगले उपयोग गर्नतर्फ निर्देशित गर्न सक्यो भने बालबालिकाहरुलाई सक्षम र सवल बनाउन ठूलो मद्दत पुग्दछ । तर यो समय बिदा र फूर्सदको समय त हो स्कुल बन्द छ खुल्यो भने पढिहाल्छन अर्थात सिकिहाल्छन् भन्ने ढंगले बुझ्न थालियो भने भोलि उनीहरुबाट अपेक्षित नतिजा प्राप्त नहुन सक्दछ । 

विद्यालय औपचारीक शिक्षाका लागि मात्र हो, सिक्नका लागि बिद्यालय भन्दा बाहिर फराकिलो क्षेत्र छ । किताबमा पढेको समाज छ, किताबमा पढेको प्राकृतिक सम्पदाहरु छन्, किताबमा पढेका छिमेकी छन्, अनि त्यै किताबमा पढेका उत्पादन छन् ।

यसर्थ अभिभावज्यूहरु, यो समयमा अलि चनाखो भई किताबहरुमा पढेका यिनै बिषयहरुलाई ब्यवहारीक रुपमा साक्षात्कार गराउन सक्नुभयो भने, उनीहरुको आनिबानी र रुचि बुझ्न सक्नुभयो भने र सकारात्मक तथा सिर्जनशिल काममा जोड्न सक्नुभयो भने तपाईका बालबालिकाहरु भोलिका अब्बल जनशक्ति बन्न सक्दछन् । 

हजुरहरुलाई थाहा नै छ उमेरका हिसावबले पनि बालबालिकाहरुमा नयाँ परिक्षणमा उत्सुकता भैरहेको हुन्छ । नयाँ परिक्षणका नाममा हाम्रा बालबालिका कतै गलत कार्य र दुर्ब्यसनीमा पो फस्दै छन् कि बिचार गर्नुहोला । अभिभावहरुको अभिभावकत्वबिना बरालिएर हिड्ने, गलत संगत र क्रियाकलापमा जोडिने र दुर्ब्यसनीमा संलग्न भइ बानी विगार्ने जस्ता वातावरण सिर्जना भयो भने भविष्य अन्धकारतर्फ धकेलिने सम्भावना हुन्छ ।

बिद्यालय समयमा शिक्षकले निर्धारण गरेको पाठ्यक्रमका बिषयवस्तु पस्किने मात्र हो । हजुरहरुले बालबालिकाका लागि घरमा दिएको समय अझ महत्वपूर्ण हुन्छ । यो बिदाका समयमा भाईबैनीहरुले घरमा सिकेका, अनुभव गरेका बिषयलाई बिद्यालय खुलेपछि हामि ब्यवस्थित गर्न सघाउनेछौं ।

तसर्थ यो समयमा आफ्ना बालबालिकाहरुको हेरचाह र गुणस्तरीय समय प्रदान गरी जीवनोपयोगी सीपसंग जोडेर उनीहरुको भविष्य उज्वल बनाउन कम्तिमा निम्न कुराहरुलाई ध्यान दिनुहोला । 

१. आफ्ना वालवालिकाको रुचि, इच्छा, चाहाना, आकांक्षा र प्रतिभा पहिचान गर्नुहोस र उनीहरु ब्यस्त हुने शिर्जनशिलताका आवश्यक खेल तथा अभ्यास सामग्रीहरु उपलब्ध गराउनुहोस । जसले बालबालिकाहरुको शारीरिक, मानसिक, बौद्दिक र सम्बेगात्मक विकासमा सहयोग गर्दछ । 

२. घरायसी जीवनउपयोगी सीपहरु खाना बनाउने, आ-फ्ना कपडा आफै धुने, सरसफाई गर्ने, सिलाई-बुनाई सीप सिकाउने, आफ्नो सन्दर्भमा आधारीत कुचो, ढोको, मान्द्रा, गुन्द्री बुन्ने जस्ता निर्माणका उनीहरुले गर्न सक्ने काममा प्रोत्साहन गर्नुहोस र लगाउनुहोस ।

३. बालबालिकाहरु दिनभर संलग्न हुने कार्यहरुमा साँझ समय दिएर छलफल गर्नुहोस । लेख्न सक्ने बालबालिकाहरुलाई आफूले दिनभर गरेका कामहरुको सूचि तयार गरी परियोजना कार्यमा सहभागी गराउनुहोस ।

४.पुस्तक पढ्ने बानीको विकास गराउनु अन्त्यन्त महत्वपूर्ण हुन्छ, त्यसैले आफैसंग राखेर कथा, कविता, जीवनी, उपन्यास, ज्ञानमूलक पुस्तकहरु, पत्रपत्रिका आदि पढ्नुहोस र पढ्न प्रेरीत गर्नुहोस, जसका कारण वालवालिकाको ज्ञान बढ्छ, सिर्जनशिल क्षमताको विकास हुन्छ, सोच्न सक्ने क्षमता विकास हुन्छ र भाषिक सीपको सुधारमा मद्दत पुग्दछ ।

५. स्थानीय पर्यटकीय क्षेत्रहरुमा संगै घुमाउन लैजानुहोस । यसरी घुम्न जाँदा ठाउँका बारे ध्यानपुर्वक अन्तर्क्रिया गर्नुहोस र फर्केपछि संस्मरण लेखनका लागि सहजिकरण गर्नुहोस ।

६. बालबालिकाहरुको समाजिकरण विकासका लागि अर्मपर्म, ऐँचोपैँचो, पुजाआजा, रीतिथिति, मूल्य-मान्यता र सामाजिक परम्पराका कार्यमा संलग्न गराउनहोस ।

७. बालबालिकाहरुसँग हुँदा मोवाइल फोनको प्रयोगलाई ब्यवस्थित गर्नुहोस । बालबालिकाहरुका लागि मोबाईल प्रयोगको समय पनि ब्यवस्थित गरिदिनुहोस । मोबाईलाई प्रयोग गराउँदा आवश्यक र  ज्ञानवर्द्धक बिषयबस्तुमा केन्द्रित गराउन कोसिस गर्नुहोस ।

८. वालवा‌लिकाहरुलाई पत्रु खाना खान र बरालिएर समय बर्वाद हुनबाट रोक्नुहोस । घरायसी खानाको निर्माण र प्रयोगमा संलग्न गराउनुहोस । यस्ता खानाको महत्व बुझाउनुहोस । सुख्खा मौसम छ, यतिबेला प्रसस्त झोलिलो पदार्थ र उपलब्ध फलफूल खान प्रेरीत गर्नुहोस । 

९. वालवालिकालाई सामाजिक, नैतिक शिक्षा सिकाउने, ज्येष्ठ नागरीकसँग साक्षात्कार गराउने, श्रमप्रति आस्थावान, असाहय र दुःखीको सेवा र सह‌योग गर्न प्रेरीत गर्नुहोस ।

१०. बालबालिकाहरुलाई स्वस्थ राख्न खेलकुद, योग, ब्यायममा सहभागी गराउनुहोस जसले उनीहरुको मानसिक र शारीरिक विकासमा मद्दत पुर्याउँदछ ।

११. बालबालिकाहरुलाई बिज्ञान र प्रबिधिका सीपहरु कम्प्यूटर चलाउन, टाइपिङ गर्न सघाउनुहोस ।

अभिभावक ज्यूहरु, यी त उदाहरण मात्र हुन, सान्दर्भिकताका आधारमा अन्य थुप्रै शिर्जनशिल काममा यो फुर्सदको समयमा तपाईहरु आफ्ना बालबालिकालाई ब्यस्त गराउन सक्नुहुन्छ । घरमा नटेर्ने, नपढ्ने र अनावश्यक समय बर्बाद गर्ने नानीबाबुहरुका लागि आफ्ना शिक्षक, प्रधानाध्यापकसँस भेटेर अर्थात फोन सम्पर्क गरी परामर्श गर्न सक्नुहुन्छ । आउनुहोस् हातेमालो गरौं । भोलिका भविश्य तपाई हाम्रा बालबालिकाहरुलाई राम्रो वातावरण र अवसर तयार गरौं ।

तपाईको शिक्षक 
रामप्रसाद के.सी.
प्रा.वि.तृतिय
भुवनेश्वर आधारभूत विद्यालय बागचौर, सल्यान

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्