नेभिगेशन
समाज

सजिलो मतदान प्रक्रियाका लागि ध्यानाकर्षण

युवा मानव अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमले आगामी फागुन २१ मा हुने निर्वाचनमा सजिलो मतदान प्रक्रियाका लागि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । 

मतदानस्थलमा अपाङगता भएका व्यक्ति, जेष्ठ नागरिक, गर्भवती, शारीरिक रुपमा अस्वस्थ व्यक्ति तथा अस्वस्थ मतदाताको मतदान प्रक्रियामा सहजीकरणका लागि सञ्जालले ध्यानाकर्षण गराएको हो । सञ्जालले प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी समक्ष ६ बुँदे ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको हो । 

रक्षक सञ्जालले सञ्चालन गरेको सजिलो मतदान, साझा अभियान अन्तर्गत ६ बुँदे ज्ञापनपत्र बुझाएको र त्यसमा सुझावका उपायहरु समेत प्रस्तुत गरेको युवा रक्षक कुबेरजंग खत्रीले जानकारी दिनुभयो । 

ज्ञापनपत्रमा मतदानस्थलमा प्राथमिक उपचारको अनिवार्य व्यवस्था, आकस्मिक अवस्थामा हुनसक्ने बिरामीहरुको लागि दक्ष स्वास्थ्यकर्मीको उपस्थितीको सुनिश्चितता र फरक क्षमता भएका, जेष्ठ नागरिक, अस्वस्थ तथा गर्भवतीका लागि सुरक्षा र सहयोगको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । 

त्यसैगरी फरक क्षमता भएका तथा शारीरिक रुपमा अशक्त मतदाताहरुको स्टेचरतथा ह्विलचियरको व्यव्स्था गर्नुपर्ने, प्रत्येक मतदानस्थल नजिक एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने र फरक क्षमता भएका, शारीरिक रुपमा अशक्त, जेष्ठ नागरिक, अस्वस्थ तथा गर्भवती मतदाताहरुको आवतजावत सहज बनाउन बिशेष सहजीकरण गर्नेपर्ने माग राखिएको छ । 

मागहरु कार्यान्वयनका लागि स्थानीय सरकार, नीजि अस्पतालहरु, पर्यवेक्षकहरु समेतलाई सहकार्य र समन्वयमार्फत जिम्मेवार बनाउन सकिने उल्लेख गरिएको छ । रक्षक सञ्जालमा आबद्ध सौगात गौतम, लक्ष्मी खत्री, कुबेरजंग खत्री, कृष्ण शर्माले प्रमुख जिल्ला अधिकारीसमक्ष उक्त ज्ञापनपत्र पेश गर्नुभएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्