नेभिगेशन
खेल

रुकुममा पहिलो पटक अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता 

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पहिलो पटक अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका विच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले खलंगाको बराहटाकुरा खेल मैदानमा ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । 

जिल्ला क्रिकेट संघ रुकुम पश्चिमको आयोजना र देव्यानी स्पोर्टस मुसिकोट १ बागबजारको सहआयोजनामा प्रतियोगिता सुरु भएको हो ।

जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका अध्यक्ष दिपक बाँठा मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रादेशिक क्रिकेट संघका सदस्य कुलप्रसाद ओली र बालकुमार नकाल, जिल्ला ट्राफिक प्रहरी प्रमुख नविन अधिकारी, जिल्लास्थित पत्रकार तथा खेलप्रेमीहरुको सहभागिता रहेको थियो । 

जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका कोषाध्यक्ष नरबहादुर ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव मनिष खड्काले गर्नुभएको थियो । प्रतियोगितामा जिल्लाका १० वटा विद्यालयहरुको सहभागिता रहेको छ । 
आज तीन वटा खेल भएका छन् । आज भएका खेलमा सुर्योदय मावि बेल्टापु, जनकल्याण मावि बागखोर सानीभेरी र न्यु मुन लाइट बोर्डिङ स्कुल शेरिगाउँ विजयी भए । 

पहिलो खेलमा सुर्योदय मावि बेल्टापुले त्रिवेणी मावि सिम्रुतुलाई ८ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा जनकल्याण मावि बागखोरले महेन्द्र मावि छिवाङ चौतारालाई ३ विकेटले पराजित गरेको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका सदस्य अनिशेष केसीले जानकारी दिनुभयो । त्यस्तै आजको अन्तिम तथा तेस्रो खेलमा न्यु मुन लाइट बोर्डिङ स्कुलले विजयश्वरी बोर्डिङ स्कुललाई ४ रनले पराजित गरेको केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार भोलीको पहिलो खेलमा बिहान ९ बजे त्रिभुवन जनता मावि र यमुना नन्द नमुना मावि शेरिगाउँका बिचमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका विजेता र उप विजेतालाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको सदस्य ओलीले बताउनुभयो । 

त्यस्तै उत्कृष्ट खेलाडीलाई ३ हजार नगद, मेडल र प्रमाण पत्र तथा विभिन्न विधाका खेलाडीलाई २ हजार नगद, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको छ । साथै प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद १ हजारको व्यवस्था छ । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरू भाग लिएका छन् ।  

टिम दर्ता निःशुल्क हो भने खेल अवधिभर खाजाको व्यवस्था गरिएको छ । विद्यालय स्तरबाट क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्