नेभिगेशन
खेल

चाडपर्वको बेला खेलकुदमय रुकुमका गाउँ

रुकुमपश्चिमका गाउँबस्ती यतिबेला दसैँ तिहारको उल्लाससँगै खेलकुदमय बनेका छन् ।

चाडपर्वको अवसर पारेर यहाँका विभिन्न स्थानमा फुटबल, भलिबल, ब्याडमिन्टन, क्रिकेट लगायतका प्रतियोगिता सञ्चालन भइरहेका छन् । स्थानीय युवा क्लब, खेलकुद समूह तथा स्थानीय समुदायको सक्रियतामा आयोजना भइरहेका प्रतियोगिताले गाउँघरमा चाडपर्वको रौनक बढाएका छन् ।

चौरजहारीमा यतिबेला ठुलो राशीका दुई फुटबल प्रतियोगिता चलिरहेका छन् । वडा नम्वर १ स्थित खेलमैदानमा नाखिरा युवा क्लबले दुई लाख ५० हजार ५५५ राशीको प्रथम एनवाईसी कप सञ्चालन गरिरहेको छ भने वडा नम्वर २ स्थित रंगशालामा शीतल चौरजहारी बी ६७ ले दुई लाख ३० हजार १६७ पुरस्कार राशीको दोस्रो शीतल चौरजहारी कप सञ्चालन गरिरहेको छ । बी ६७ ले ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरेको छ । आईतबार देखि चौरजहारी नगरपालिका १ मै तेस्रो चौरजहारी १ नम्वर वडा कप अन्तर्गत भलिबल प्रतियोगिता सुरु भएको छ । 

मुसीकोट नगरपालिका वडा नम्वर ४, ६ र ११ को सिमानास्थित खेल मैदानमा आईतबारबाट पाँचौ ट्याखोला गोल्डकप अन्तर्गत महिला तथा पुरुष फुटबल प्रतियोगिता पनि सुरु भएको छ । शनिबारदेखि मुसीकोट नगरपालिका ९ र त्रिवेणी गाउँपालिका २ को सीमाक्षेत्रमा चौथो गैरीनेटा कप चलिरहेको छ भने त्रिवेणी गाउँपालिका ४ को खुम्चेरीमा पाँचौ निशान कप विविध खेलकुद प्रतियोगिता सञ्चालित छ । यी दुबै कार्यक्रमको प्रतिनिधि सभा सदस्य गोपाल शर्माले उक्त कपको उद्घाटन गर्नुभएको छ । 

यसैगरी सानीभेरी गाउँपालिका ३ स्थित बेलटापु खेलमैदानमा सानीभेरी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण सुरु भईरहेको छ । गत शुक्रवारबाट सुरु भएको यस संस्करणमा क्रिकेटका नौ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । आईतबार मुसीकोट नगरपालिका १ को बराहटाकुरामा सातौ सिद्ध गुफा गोल्डकप समापन भएको छ भने यस अघि सोही मैदानमा दसैको अवसरमा द लेजेन्ड कप फुटबलको दोस्रो संस्करण सम्पन्न भएको थियो ।

कात्तिक १८ गतेबाट मुसीकोट नगरपालिका ७ मा तिर्थ स्मृति कप आयोजना गरिएको छ भने दसै तिहारकै अवसरमा आठबिसकोटको राडीमा ३२औं चौतारा मेलाको अवसरमा खुला महिला तथा पुरुष भलिबल तथा विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । भलिबल प्रतियोगितामा प्रथम हुने पुरुष टिमलाई तीन लाख २० हजार रुपियाँ नगद पुरस्कार राखिएको आयोजक समितिका संयोजक रतन चन्दले जानकारी दिनुभयो ।

यी खेलकुद कार्यक्रमका साथै विभिन्न वडा तथा टोलमा खेलकुद प्रतियोगिताहरु सञ्चालन भईरहेका छन् । यसअघि दसैं तिहारको अवसरमा मुसीकोट नगरपालिका १३ मा दोस्रो छिबाङ कप, बाँफिकोट गाउँपालिकाको मग्मामा शहीद स्मृति मेला, त्रिवेणी गाउँपालिका ५ मा दोस्रो इन्द्रेणी कप, सानीभेरी गाउँपालिका १० मा पुरुष भलिबल, सानीभेरी गाउँपालिका ३ मा तेस्रो फुक्रु कप लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । 

रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका युवाहरू चाडपर्वमा गाउँ फर्किने भएकाले यस्ता प्रतियोगिता भेटघाट र पुनर्मिलनको माध्यम समेत बनेका छन् । यस्ता प्रतियोगिताले खेलाडीबीच प्रतिस्पर्धासँगै  गाउँघरमा सामाजिक एकता, आपसी सद्भाव र भाइचाराको सम्बन्धसमेत बलियो बनाउँने खेलाडी नारायण आचार्यले बताउनुभयो ।

याे कार्यक्रमले स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गरेको शीतल चौरजहारी बी ६७ का अध्यक्ष तेज बिष्टले बताउनुभयो । उहाँले विशेषगरी युवा पुस्तालाई सकारात्मक गतिविधिमा जोड्ने, खेलकुदप्रति रुचि बढाउने र राम्रो खेलाडी उत्पादन गर्ने सम्भावना समेत प्रतियोगिताले बोकेको उल्लेख गर्नुभयो । खेलकुदको सम्भावना बढ्दै गए पनि पूर्वाधार विकास, व्यवस्थित खेलमैदान, नियमित प्रशिक्षण र खेलाडीको क्षमता अभिवृद्धिमा भने अझै ध्यान दिनुपर्ने खेलाडीहरुको माग रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्