नेभिगेशन
समाज

मुसिकोटमा वडामा खटाएका स्थायी कर्मचारीलाई हाजिरी नगराई फिर्ता

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ११ को कार्यालयले वडामा खटाईएका स्थायी कर्मचारीलाई हाजिरी गर्न नदिएर फिर्ता पठाएको छ । 

नगरपालिकाबाट वडा सचिवको जिम्मेवारीमा खटाईनुभएकी सहायक स्तर चौथो तहको स्थायी कर्मचारी देवी ओलीलाई वडा कार्यालयले हाजिरी नगराई फिर्ता पठाएको हो । 

गत पुस ४ गते रमाना लिएर वडा कार्यालय जानु भएकी ओलीलाई हाजिरी नगराउने भन्दै वडा कार्यालयले पुस १३ गते चिठिसहित नगरपालिकामै फिर्ता गरेको हो । वडा अध्यक्ष गोविन्द बहादुर बुढाले वडा कार्यालयमा सचिवको जिम्मेवारीमा नगरपालिकाको कम्प्युटर अपरेटर सहायक स्तर पाँचौ पदमा करार सेवामा कार्यरत धनकुमार शाही कार्यरत रहेकोले शाहीलाई अर्को जिम्मा नतोक्दासम्म स्थायी कर्मचरी ओलीलाई हाजिरी नगराउने निर्णय गरेर फिर्ता पठाईएको जानकारी दिनुभयो । 

उहाँले कार्यरत कर्मचारीको जिम्मेवारी नतोकेर वा अर्को व्यवस्था नगरेरै अन्य कर्मचारी पठाएकोले फिर्ता पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला कोहिपनि यस वडामा सचिवको रुपमा आउन नमान्दा शाही आउनुभयो, कात्तिकदेखि तलब बिनै काम गरिरहनुभएको छ, काम गरिरहेको कर्मचारीको बारेमा टुङगो लगाएर मात्र नयाँ सचिवको हाजिरी गराउँदा राम्रो होला सोचेर केहि दिनलाई पर्खिनुहोस् भनिएको हो ।” 

कि हाजिरी गराउनुहोस् कि भने मलाई फिर्ताको चिठि दिनुहोस् भनेपछि वडाको बैठक गरेर सचिवको रुपमा आउनुभएकी ओलीलाई पत्र दिईएको कुरा यथार्थ भएको उहाँले बताउनुभयो । यस बिषयमा कार्यपालिका बैठकबाटै टुङगो लाग्ने वडा अध्यक्ष बुढाले उल्लेख गर्नुभयो । 

यस बिषयमा मुसिकोट नगरपालिकाका प्रशासन शाखा प्रमुख कुबेर केसीले वडा समितिको बैठक गरेरै स्थायी कर्मचारी फिर्ता पठाएको बताउनुभयो । फिर्ता हुनुभएकी सहायक स्तर चौथो तहको स्थायी कर्मचारी देवी ओलीले हाल नगरपालिकाबाटै पञ्जिकरणको काम गरिरहेको उहाँले जनाउनुभयो ।

पुस मसान्तसम्म मात्र करार कर्मचारीहरुको म्याद रहेको उहाँले जनाउनुभयो । यस बिषयको टुङगो कार्यपालिका वा नगर सभाबाटै लाग्ने उहाँको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज