नेभिगेशन
समसामयीक

समृद्ध कर्णाली निर्माणका आधारहरु

कर्णाली प्रदेशले आफ्ना प्राकृतिक हिमाल, नदी, वन, जडिबुटी, खनिज, सांस्कृतिक तथा सामाजिक विविधता र जनशक्तिलाई प्रभावकारी रूपमा प्रयोग गरी विकासको नयाँ मार्गचित्र तयार गर्न सक्छ । कर्णालीको समृद्धि यहाँका स्रोत साधनको पहिचान, उत्पादन, परिचालन र प्रयोगबाट मात्र सम्भव छ । विश्वमा आफ्ना प्रमुख स्रोतहरुको पहिचान गरी उपयोग गरेका देशहरु समृद्ध बन्न सफल भएका छन् ।

ऐतिहासिक रुपमा अन्कन्टार मरुभूमी र कठीन भौगोलिक अवस्था रहेका साउदी, कतार, दुवई जस्ता देशहरुले आफनो देशमा रहेको पेट्रोलियम पदार्थ (स्रोत)को समयमा पहिचान, उत्पादन र परिचालन गरी आर्थिक स्वरुप नै बदलेको उदाहरण हाम्रा सामु स्पष्ट छ ।

सन् १९५० को दशकदेखि सुरु भएको तेल उत्पादनले साउदी अरबलाई विश्वकै ठूलो उर्जा निर्यातक मुलुक बनायो । पेट्रोलियम निर्यातबाट आएको आम्दानीलाई आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य र आधुनिक सहर निर्माणमा लगानी गरे । कतारले प्राकृतिक ग्यास स्रोतलाई उपयोग ग¥यो, अहिले उच्चतम प्रति व्यक्ति आम्दानी भएको देशहरुमध्येमा पर्दछ । दुबई तेलमा निर्भर अर्थतन्त्रलाई क्रमश व्यापार, पर्यटन, वित्तीय सेवा र लगानीमैत्री नीति मार्फत विविधीकरण गर्न सफल भइरहेको छ । जसका कारण विश्वकै प्रमुख पर्यटन गन्तव्यका साथै अन्तर्राष्ट्रिय व्यापारिक हव बन्दै गइरहेको छ ।

दोस्रो विश्वयुद्धपछि जापानको आर्थिक पुनरुत्थान मानव पूँजीको उच्चतम परिचालनद्वारा सम्भव भएको चमत्कारको प्रतीक हो । प्राकृतिक स्रोतको न्यूनतम र आयातमा निर्भरता हुँदाहुँदै जापानले शिक्षा, अनुसन्धान, प्रविधि, नवप्रवर्तन र दक्ष जनशक्ति विकासलाई दीर्घकालीन रणनीति बनायो । परिणामतः मोटरगाडी, इलेक्ट्रोनिक्स, रोबोटिक्स र सूचना प्रविधिमा उसले विश्वमा नै प्रतिस्पर्धात्मकता हासिल ग¥यो । कोइला र फलामजस्ता खनिज स्रोतको योजनाबद्ध प्रयोगबाट युरोपेली औद्योगिक क्रान्ति सम्पन्न भएको छ ।

बेलायत, जर्मनी र फ्रान्सले स्रोतमा–आधारित औद्योगिकीकरण मार्फत प्रभुत्व जमाए । राजनीतिक अस्थिरता, वैदेशिक हस्तक्षेप र स्रोत व्यवस्थापनको कमजोरीका कारण धेरै अप्रिकी मुलुकहरु प्राकृतिक स्रोतमा धनी भए पनि अपेक्षित विकास गर्न सकेका छैनन् । स्रोत हुनु मात्र ठुलो कुरा होइन, त्यसलाई समयमा सदुपयोग गर्न सके मात्र नतिजा प्राप्त गर्न सकिन्छ । यी फरक फरक देशका अनुभवहरूले प्रष्ट देखाउँछ—समृद्धि प्राप्ति आफूसँग भएका स्रोतको सही पहिचान र परिचालनमै निर्भर हुन्छ ।

यी मुलुकहरुका अनुभवले देखाएको सफलता हाम्रो जस्तो देशका लागि प्रेरणादायी पाठ हुन् । कर्णाली प्रदेशसँग भएका भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र मानव स्रोतहरुलाई सही दिशामा परिचालन गर्न सकेमा दिगो विकास र समृद्धि केवल लक्ष्य मात्र होइन, छोटो समयमा नै व्यवहारिक उपलव्धि बन्न सक्छ । मानव पूँजी, पर्यटन, उर्जा, जडीबुटी, खनिज, कृषि र जैविक विविधता कर्णाली प्रदेशका समृद्धिका स्रोतहरु हुन । रणनीतिक योजना सहित कर्णाली प्रदेशले यी आफना स्रोतहरुलाई व्यवस्थित रुपमा विकास, विस्तार र परिचालन गर्न सके विकासको बाटो छोटो समयमै पार गर्न सक्छ ।

(क) मानव पूँजी
कर्णाली प्रदेश समृद्धिको पहिलो आधार शिक्षित, सीपयुक्त र स्वस्थ जनशक्ति अर्थात् मानव पूँजी हो । मानव पूँजीले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासलाई दिगो र सशक्त बनाउँछ । शिक्षाले मानिसलाई ज्ञान दिन्छ, सीपले काम गर्ने क्षमता बढाउँछ र स्वास्थ्यले उत्पादकता कायम राख्छ । यी सबै गुणहरू मिलेर राष्ट्रको समृद्धिको ढोका खोल्छन् ।

प्रसिद्ध विद्वान हार्विसनका अनुसार, राष्ट्रहरूको सम्पदाको अन्तिम साधन नै मानवीय स्रोत हो । पुँजी र प्राकृतिक स्रोत निष्क्रिय हुन्छन्, तर मानिस उत्पादनका सक्रिय अभिकरण हुन् । उनीहरूले पुँजी सञ्चय गर्छन्, प्राकृतिक स्रोतको परिचालन गर्छन्, संगठन निर्माण गर्छन् र राष्ट्रिय विकास अघि बढाउँछन् । हार्विसनले भनेका छन् “जुन देशले आफ्ना जनताको ज्ञान र सीप विकास गर्न सक्दैन र तिनीहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन, त्यसले केही हासिल गर्न सक्दैन ।”

आजका अर्धविकसित देशहरूको प्रमुख समस्या स्रोतको कमी नभई मानवीय साधनको अल्पविकास हो । त्यसैले राष्ट्रले सबैभन्दा पहिला मानव पूँजीको विकासमा लगानी गर्नुपर्छ । जब जनशक्ति शिक्षित, सीपयुक्त र स्वस्थ हुन्छ, तब देश स्वतः समृद्धिको दिशामा अघि बढ्छ । मानव पूँजी नै राष्ट्रको वास्तविक शक्ति हो । यसको मुख्य आधार मानव पूँजीको विकास हो । शिक्षित, दक्ष र स्वस्थ जनशक्तिले मात्र योजना निर्माण, समस्या समाधान, नवप्रवर्तन, उद्यमशीलता र उत्पादनशील काममा लामो समयसम्म सक्रिय भूमिका खेल्न सक्छ ।

यसले दीगो विकास, रोजगारी सिर्जना, सामाजिक उतरदायित्व र आर्थिक रूपान्तरण सुनिश्चित गर्छ । व्यावसायिक तालिम प्राप्त व्यक्तिले मात्र होमस्टे सञ्चालन, स्थानीय उत्पादन प्रवद्र्धन, हस्तकला, कृषि, पर्यटन, स्वास्थ्य सेवा लगायतका विविध क्षेत्रमा संलग्न भएर स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सक्छन् । मानव पूँजीको विकासले सामाजिक समानता र समावेशी विकासलाई पनि बलियो बनाउँछ । यसतो जनशक्ति बिना कुनै पनि गाउँ, शहर वा प्रदेशको वास्तविक विकासको कल्पना गर्न सकिँदैन । 

मानव पूजीको विकासका लागि कर्णाली प्रदेशमा रहेका विद्यालय तथा विश्वविद्यालयहरुले श्रम, सीप र प्रविधिमा आधारित प्रतिस्पर्धी शिक्षा र सीप दिनुपर्दछ । शिक्षित र सीपयुक्त दक्ष व्यक्ति समाजमा नेतृत्व, नवप्रवर्तन र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्षम हुन्छ । यसले महिला सशक्तिकरण, युवा उद्यमशीलता र अल्पसंख्यक समुदायको सहभागिता बढाउँछ ।

जब स्थानीय समुदाय आफैं विकासको चालक शक्ति बन्छ, तब समग्र प्रदेशको सामाजिक र आर्थिक संरचना मजबुत र दीगो हुन्छ । त्यसैले कर्णाली प्रदेशको दीगो समृद्धि, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणको मूल आधार मानव पूँजीको विकास हो । मानव पूँजीमा केन्द्रित लगानी मात्र कर्णालीको उज्ज्वल र समृद्ध भविष्यको कुञ्जी हो । 

(ख) पर्यटन
कर्णाली समृद्धिको दोस्रो आधार पर्यटन क्षेत्रको विकास र विस्तार हो । कर्णाली प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक संस्कृतिक सम्पदाहरु, अनुष्ठानहरु, प्राकृतिक मनोरम सम्पदाहरु, होचा, अग्ला, चुच्चे डाँडाकाँडा तथा खोच र ती खोच भएर बग्ने खोलाहरू, उपल्ला पहाडी बस्तीहरू, घनघोर जंगल सहितका पहाडहरू, पहाडी बस्तीको स्वच्छ हावा, पानी तथा निश्चल पहाडी जीवन शैली पर्यटकीय आकर्षणका मुख्य आधारहरू हुन् । यहाँका हिमाल, ताल, नदी, जडीबुटी, मौलिक संस्कृति तथा जीवनशैली आफैंमा पर्यटकीय धरोहर हुन् ।

यी सम्पदाको प्रयोग र संरक्षण गरेर मात्र कर्णालीलाई समृद्ध प्रदेशको रूपमा अगाडि बढाउन सकिन्छ । कर्णालीमा रहेका रारा ताल, से–फोक्सुन्डो ताल, उपल्लो डोल्पो, हुम्ला, कैलास मानसरोवर जाने बाटो, लिमी उपत्यका, पञ्चदेवल, कर्णाली र भेरी नदी जस्ता प्राकृतिक तथा जातीय परम्परा अनुसार चाडवाड, पूजाआजा, धार्मिक विश्वास, परम्परागत झ्याउरे नाँच, पञ्चेबाजा नाँच, ठाडी भाका आदि मौलिक साँस्कृतिक मूल्य मान्यताहरू कर्णाली पर्यटनका मेरुदण्ड हुन् ।

आधुनिक समाजलाई तीव्र शहरीकरण, ग्लोबलाइजेशन र बदलिँदो जीवनशैलीको प्रभावले प्राकृतिक जीवनशैलीबाट टाढा पु¥याएर शहरको भीडभाड, भागदौड, धुलो–ध्वनि, प्रदूषण र व्यस्तताले थकित बनाएको छ । जसका कारण उनीहरुले भव्य पूर्वाधार, शहरका आधुनिक ठूला भवन वा बहुराष्ट्रिय महल बजार होइन, अब शान्त वातावरण, स्वच्छ हावा, शुद्ध पानी र मौलिक जीवनशैली खोजिरहेका छन् । यो परिवेशमा कर्णाली प्रदेशले आफ्ना प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आतिथ्य संस्कृति, स्थानीय मौलिकतामा आधारित सुविधायुक्त होमस्टे, सफा वातावरण, स्वच्छ खानपान, ईमानदार सेवा र आफ्नै कला–संस्कृति मार्फत यो चाहना पूरा गर्न सक्छ ।

पर्यटकले सबैभन्दा पहिले अनुभव गर्ने कुरा हाम्रो आनीबानी र व्यवहार हो । “पाउना विष्णुको अवतार हुन” भन्ने पुरानो मान्यताले कर्णालीको आतिथ्य संस्कृतिलाई आत्मसात गरेको छ । अब कर्णालीले यसलाई व्यवहारमा उतार्नुपर्छ । कर्णालीले आफ्ना आनी बानी व्यवहारलाई पर्यटन मैत्री बनाउन सके मात्रै लाखौ पर्यटकलाई आकर्षित गर्न र दशौ हजार मान्छेलाई एकैपटक रोजगार सृजना गर्न सक्छ ।

यसका लागि निश्चय नै आधारभूत पूर्वाधार विकास, सहज यातायात, बासस्थानको सुविधा, सञ्चार, सडक, पुल, हवाई सेवा, स्वास्थ्य सुरक्षा जस्ता पक्षमा सुधार अपरिहार्य छ । कृषि, स्थानीय उत्पादन, हस्तकला, जडीबुटीको प्रवद्र्धन, गाउँ–बस्तीमा होमस्टे सञ्चालन र स्थानीय खानालाई पर्यटकसँग जोडन, पर्यटनमैत्री व्यवहार र सेवाका लागि स्थानीय बासिन्दालाई आतिथ्य, सफा–सुग्घर वातावरण र पर्यटकसँगको मैत्रीपूर्ण व्यवहारका बारेमा तालिमहरु सञ्चालन गर्नु पर्नेछ ।

अन्तर्राष्ट्रिय स्तरमा कर्णालीको प्रचार–प्रसार र प्रवद्र्धन गर्न ढिला गर्नहुदैन । पर्यटकलाई सुरक्षित वातावरण, स्वास्थ्य उपचार सुविधा, सूचना केन्द्र र आपतकालीन सहायता उपलब्ध गराउनु अपरिहार्य छ । यो सबै कार्यका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरी पर्यटनमैत्री नीति, लगानी प्रोत्साहन र दीगो विकासमा जोड दिनु पर्दछ । कर्णालीको समृद्धिको मूल कुञ्जी पर्यटन क्षेत्र हो । कर्णालीमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि, सांस्कृतिक संरक्षण र आर्थिक रूपान्तरण पर्यटनबाट मात्रै सम्भावना छ ।

(ग) ऊर्जा क्षेत्र

कर्णाली प्रदेश नेपालको सबैभन्दा विशाल, प्राकृतिक स्रोत साधनले भरिपूर्ण र सम्भावनायुक्त प्रदेश हो । यो प्रदेश भौगोलिक दृष्टिले हिमाल, पहाड र तराईसम्म फैलिएको विविध भू–संरचनायुक्त रहेको छ । यस प्रदेशमा जलविद्युत् उत्पादनको अपार सम्भावना लुकेको छ । नेपालको कुल जलविद्युत् सम्भावना करिब ८३,००० मेगावाट अनुमान गरिँदा, कर्णाली प्रदेशमा मात्र एक चौथाई भन्दा धेरै जलविद्युत् उत्पादन क्षमता रहेको तथ्य विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् । यस हिसाबले कर्णाली प्रदेश ऊर्जा उत्पादनको केन्द्र र आर्थिक समृद्धिको मेरुदण्ड बन्न सक्ने सम्भावना बोकेको प्रदेश हो ।

हिमालय श्रङ्खलाहरुमा मुहान भएका वर्षभर निरन्तर बग्ने कर्णाली, भेरी, तिला, मुगु–कर्णाली, हुम्ला–कर्णाली, नलसिंहगाड जस्ता स्वच्छ जल प्रवाह हुने नदी बेसिनहरूबाट उच्च क्षमता भएका जलविद्युत् आयोजना सञ्चालन गर्न सहज रहेका छन् । अहिले प्रदेशमा करिब एक दर्जन ठूला आयोजना सर्वेक्षण÷निर्माण चरणमा रहेका छन् ।

ती मध्ये भेरी–१ (२७० मेगावाट), ठुली भेरी (५३० मेगावाट), अपर कर्णाली (९०० मेगावाट) जगदुल्ला (२०७ मेगावाट), नलसिंहगाड (४१७ मेगावाट), तिला–१ र तिला–२ (८६० मेगावाट), फुकोट–कर्णाली (४८० मेगावाट), बेतन–कर्णाली (४३९ मेगावाट) र तीन जिल्लालाई जोड्ने सबैभन्दा ठूलो जलाशययुक्त आयोजना मुगु–कर्णाली (१,९०२ मेगावाट) प्रमुख रहेका छन् । यी आयोजनाहरू सञ्चालनमा आए कर्णाली मात्र होइन, देशको ऊर्जा क्षेत्र आत्मनिर्भर हुनुका साथै निर्यातमुखी ऊर्जा अर्थतन्त्रको आधार तयार हुनेछ ।

कर्णाली प्रदेशको उर्जा क्षेत्रको उत्पादन, विकास र विस्तारका लागि नीति निर्माताहरुको अदुरदर्शीताका कारण प्रभावकारी कार्यहरु हुन सकेको छैन । दुर्गम भूगोल, पहुँच मार्गको अभाव, प्रसारण लाइनको कमजोर सञ्जाल र लगानीको असुरक्षाले जलविद्युत् विकासको गति सुस्त रहेको छ । कर्णालीमा उत्पादित ऊर्जा तत्काल राष्ट्रिय ग्रिडमा जोड्न कठिनाइ छ, जसले निजी क्षेत्रको लगानी आकर्षण घटाएको छ । यही कारण धेरै आयोजना सम्भावनाको तहमै सीमित छन् । संघ र प्रदेश सरकारले जलविद्युत् क्षेत्रको नीति, नियम र कार्यान्वयन शैलीमा सुधार गर्न ढिला भैरहेको छ ।

निजी क्षेत्रको सहभागिता बढाउन ‘पब्लिक–प्राइभेट पार्टरशिप’ (एएए) मोडलमा लगानी प्रोत्साहन गर्न जरुरी छ । त्यस्तै, विद्युत् खरिद दर (एएब्) पुनरावलोकन, निर्माण अनुमति प्रक्रियामा सरलीकरण र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने नीतिगत ढाँचा तयार पारिनु पर्दछ । प्रसारण लाइन विस्तार, सडक पहुँच सुधार र अध्ययन–अनुसन्धानमा लगानी बढाउन संघीय र प्रदेश सरकारले गरिरहेको सहकार्य अपुग रहेको देखिन्छ ।

विशेष गरी भेरी करीडोर, कर्णाली करीडोर लगायतका उच्च क्षमताका प्रशारण लाईनहरु, निर्माणाधिन कोहलपुर–सुर्खेत–दैलेख–जुम्ला १३२ केभी प्रशारण लाईन लगायत बितरण प्रणालीलाई तत्काल प्राथमिकतामा राख्न सके उत्पादन भएको ऊर्जा राष्ट्रिय सञ्जालमा जोड्न सजिलो हुनेछ ।

कर्णालीको बहुआयामिक प्रभावका लागि ऊर्जा सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्नुपर्दछ । निर्माण, प्राविधिक, व्यवस्थापनदेखि सेवा क्षेत्रमा हजारौं स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना हुनेछ । ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले कृषि र सिँचाइमा गुणात्मक सुधार ल्याउनुका साथै कृषि उत्पादनमा वृद्धि र आत्मनिर्भरता बढाउनेछ ।

पर्यटन र साना–ठूला उद्योग सञ्चालनका लागि ऊर्जा सहज रूपमा उपलब्ध हुने भएकाले प्रदेशको समग्र आर्थिक गतिविधि तीव्र हुनेछ । उत्पादन र निर्यातबाट सरकार र प्रदेशले वार्षिक रोयल्टी, कर र लाभांशमार्फत अर्बौँ रुपैयाँ आम्दानी गर्न सक्नेछ, जसले प्रदेशको राजस्व आधार विस्तार गर्नेछ । ऊर्जा निर्यातको सम्भावना पनि उत्तिकै ठूलो छ । भारत र बंगलादेश जस्ता छिमेकी देशहरूमा स्वच्छ ऊर्जाको माग तीव्र छ ।

नेपालले अहिले नै केही साना परियोजनाबाट विद्युत् निर्यात गर्न थालेको छ । यदि कर्णालीका ठूला आयोजनाहरू सञ्चालनमा आए भने नेपाल दक्षिण एसियाली ऊर्जा बजारमा एक महत्त्वपूर्ण निर्यात कर्ताका रूपमा स्थापित हुन सक्नेछ ।जलविद्युत् उत्पादनका साथ साथै कर्णालीको ऊर्जा भविष्यलाई दीगो बनाउन सौर्य र बायो–ऊर्जाको मिश्रित मोडल पनि जोड दिनुपर्दछ । जसले गर्दा जलाशययुक्त आयोजना, साना रन–अफ–रिभर सौर्य र बायो–ऊर्जाका योजनाहरूको संयोजनले उत्पादनमा स्थायित्व ल्याउँछ ।

यसरी विविध उर्जा समिश्रणले दीगो र सन्तुलित ऊर्जा प्रणाली निर्माणमा सहयोग पु¥याउँछ । जसका कारण हामी उर्जा सुरक्षाका दृष्टिकोणले समेत आत्मनिर्भर बन्ने दिशामा अघी बढ्न सक्छौ  । कर्णालीको उर्जा विकासले कर्णाली आर्थिक समृद्धिको विकास मात्र नभई यसले राष्ट्रको स्वाधीनता र दीगो विकासमा महत्वपूर्ण योगदान पर्याउछ । योजनाबद्ध लगानी, स्थिर नीति निर्माण  र सो को स्थानीय जनसहभागिता मुलक कार्यन्वयन ले मात्रै समयमा नै कर्णालीमा उर्जाको विकासले राष्ट्रिय समृद्धिको आधारशिला बनाउछ ।

(घ) जडीबुटी 
कर्णाली प्रदेशको भौगोलिक बनावट, माटो र वातावरणीय विविधताले गर्दा साढे सात सयभन्दा बढी प्रजातिका बहुमूल्य जडीबुटीहरू यहाँ रहेको अनुमान गरिन्छ । यार्सागुम्बा, पाँचऔंले, जटामसी, वनलसुन, लौठ सल्ला, कटुकी, चराइतो, सतुवा, पदमचाल, सेतकचिनी, सिलाजीत, कुरिलो, टिमुर, तेजपात, सुगन्धवाल, गुच्छीच्याउ, सुनापाती, दालचिनी, गुर्जो, हर्रो, अत्तिस, गदाल्नो, घोडपत्रजस्ता जडीबुटीहरू यहाँका पहाड, डाँडा र वनमा प्राकृतिक रूपमा पाइन्छन् ।

कर्णालीका दशवटै जिल्लामा वार्षिक ठूलो मात्रामा जडीबुटी संकलन हुने गरेको छ । तर यसलाई स्थानीय रुपमा व्यावसायिक व्यवस्थापन र प्रशोधनका लागि राज्यले पर्याप्त ध्यान दिएको छैन । विभिन्न तथ्याङ्कले प्रत्यक वर्ष ठूलो मात्रामा जडीबुटीहरू अवैधरूपमा संकलन, निकासी र पैठारी हुने गरेको पाइन्छ । अनियमित संकलन र निकासीका कारण बहुमूल्य जडीबुटीहरूको दोहन भइरहेको छ ।

राज्यले उचित नीतिगत हस्तक्षेप, वैज्ञानिक व्यवस्थापन र निगरानी गर्नसके जडीबुटीबाट प्राप्त आम्दानीले कर्णालीको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । विशेषगरी जुम्ला, मुगु र डोल्पा लगायतका जिल्लामा पाइने यार्सागुम्बा बर्सेनि करोडौँ मूल्यमा निर्यात हुने गर्छ । कर्णालीमा पाइने जडीबुटीहरूको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग छ । यस्ता बहुमूल्य जडीबुटीहरूको वैज्ञानिक प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी प्रदेशको आन्तरिक आम्दानी उल्लेख्य रूपमा बढाउन सकिन्छ ।

जडीबुटी सम्वन्धि विभिन्न अध्ययन अनुसन्धान गरी केवल संकलनमा सीमित नराखी वैज्ञानिक ढंगले व्यावसायिक खेती सुरु गर्न आवश्यक छ । कर्णालीका पहाडी भू–भागहरू, माटो र जलवायु जडीबुटी खेतीका लागि अत्यन्त उपयुक्त छन् । व्यावसायिक खेती गर्न सकिने वनलसुन, गुर्जो, चराइतो, सतुवा, जटामसी, कटुकी, सुगन्धवाल जस्ता जडीबुटीहरूको खेतीका लागि सरकारले प्राविधिक सहयोग, बीउ–विजन, तालिम र बजार सञ्जाल उपलब्ध गरा स्थानीय किसानहरूले नियमित आम्दानी गर्न सक्नेछन् । फलस्वरुप कृषि क्षेत्रमा नयाँ रोजगारीका अवसर सिर्जना गरी युवाहरूलाई स्वदेशमा केही गर्न वातावरण निर्माण गर्नेछ ।

जडीबुटीको व्यवस्थित संकलन, प्रशोधन र निर्यातका लागि स्पष्ट नीति र पूर्वाधार तयार गर्नुपर्दछ । जडीबुटी प्रशोधन उद्योग, गुणस्तर परीक्षण प्रयोगशाला र बजार सञ्जाल विस्तार गरी यसलाई औद्योगिक दृष्टिले सुदृढ गर्न सकिन्छ । यसले कर्णालीमा ग्रामीण उद्योग र उद्यमशीलताको नयाँ ढोका खोल्नेछ । जडीबुटीहरूको वैज्ञानिक पहिचान, संरक्षण, व्यावसायिक खेती र निर्यात सशक्त रूपमा गर्न सकियो भने कर्णाली प्रदेशले आफ्नो प्राकृतिक सम्पदाबाट समृद्धिको बाटो आफैं खोल्न सक्छ ।

कर्णाली प्रदेशका दुर्गम भूभागमा रहेका नागरिकहरू अहिले पनि जडीबुटी संकलन र बिक्रीबाट प्रत्यक्ष आम्दानी गरिरहेका छन् । उचित तालिम, प्राविधिक सहयोग र सहकारी प्रणालीमार्फत उनीहरूलाई सशक्त बनाउन सकियो भने जडीबुटी  केवल कर्णालीको वनसम्पदा होइन, यो प्रदेशको आर्थिक भविष्य हो । राज्य र निजी क्षेत्रको सहकार्यमा जडीबुटी क्षेत्रलाई प्राथमिकता दिइयो भने, कर्णाली आत्मनिर्भर मात्र होइन, देशकै समृद्धिको केन्द्र बन्न सक्ने क्षमता राख्छ । त्यसैले अब कर्णालीको समृद्धिको मार्ग जडीबुटीको वैज्ञानिक उपयोग, व्यावसायिक खेती र मूल्य अभिवृद्धिमै निहित छ ।

(ङ) खनिज सम्पदा
केन्द्रीय खानी तथा भूगर्भ विभागको तथ्यांक अनुसार कर्णालीका विभिन्न भूभागमा फलाम, तामाखानी, सुन, सिसा, कोइला, लाइमस्टोन, ग्रेनाइट, क्वार्ज, काइनाइट, टुर्मालिन, रत्नपत्थर, स्लेट ढुंगा, गन्धक, पेट्रोलियम, प्राकृतिक ग्यास र नुनजस्ता खनिजको विशाल सम्भावना रहेको देखिन्छ । मुगु–को नदि किरान क्षेत्रमा तामाखानी, सुर्खेतको भेरी नदीमा सुन, हुम्ला र मुगुमा सिसा, सुर्खेतको रातीखोलामा खरिढुंवा, कालिकोटको भर्ता लेक, जाजरकोटको अर्छानी र सौरेनी, दैलेखको विशाला क्षेत्रमा काइनाइट पाइएको छ ।

त्यसैगरी रुकुम पश्चिमको चौरजहारीमा स्लेट दुङ्गा, हुम्लाको सैपाल र दैलेखमा ग्रेनाइट, सुर्खेतको चौकुने र लाखरपाटा, सल्यान लगायतका स्थानमा लाइमस्टोन र दैलेखको पादुका, श्रीस्थान र नावी क्षेत्रमा पेट्रोलियम तथा प्राकृतिक ग्यासको भण्डार रहेको प्रारम्भिक अध्ययनहरुले देखाएका छन् । अस्पष्ट नीति, फितलो कार्यान्वयन, नेतृत्वकर्ताको अदूरदर्शिताका कारणले यी महत्वपूर्ण खनीज पदार्थको प्रभावकारी उपयोग हुन सकेको छैन ।

राज्यले खनिज पदार्थको उत्खनन, उपयोग र बजारिकरणको राम्रो योजना बनाउन नसक्दा सीप, प्रविधि र लगानीको संयोजन हुन सकेको छैन । प्रशस्त खनिज स्रोत हुँदाहुँदै पनि कर्णालीमा खनिजजन्य उद्योगहरु नगन्य मात्रामा सञ्चालनमा रहेको पाइन्छ । यसले राज्यको प्राथमिकतामा खानी क्षेत्र परेको छैन भन्ने प्रष्ट देखाउछ । खनीज पदार्थको संरक्षणको नीति नहुँदा जाजरकोटको बारेकोट, मुगु र डोल्पामा पाइने फलाम, टुर्मालिन र रत्नपत्थर जस्ता बहुमूल्य खनिजहरू नियमन विहीन रूपमा चोरी निकासी भइरहेका छन् ।

कर्णालीको इतिहासलाई हेर्दा परापूर्वकालदेखि गाउँहरूमा फलाम उत्खनन, प्रशोधन र कृषि औजार निर्माणको सशक्त परम्परा थियो । स्थानीय फलामबाट तवा, ओदान, हसिया, फरुवा, कोदाली, बन्चरा जस्ता औजारहरू बनाइन्थे । तर स्थानीय स्रोत, साधन र सीपलाई प्रविधिकरण गर्न नसक्दा हाम्रा उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेन जसका कारणले हाम्रा परम्परागत सीप, पेशा निरुत्साहित भै विदेश पलायन भएको देखिन्छ । यसले परम्परागत सीप, उद्यम र स्थानीय अर्थतन्त्रको मेरुदण्ड नै कमजोर बनाएको छ ।

कर्णाली प्रदेशमा रहेका खानीहरूलाई आधुनिक प्रविधि र बजारमुखी मोडेलमा रूपान्तरण गरी हजारौँ युवालाई स्थायी रोजगारी सिर्जना गर्न सकिन्छ । खानी उत्खनन, ढुवानी, प्रशोधन र उद्योग निर्माणसम्मको सम्पूर्ण श्रृंखलामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो संख्यामा कामदार संलग्न हुन सक्छन् । रत्नपत्थर, क्वार्ज र टुर्मालिनजस्ता बहुमूल्य खनिजको निर्यातले प्रदेशको आय बढाउनेछ । दैलेख र सुर्खेतका पेट्रोलियम तथा ग्यास भण्डारको व्यवस्थित उत्खनन र प्रशोधनले  देशको उर्जा परनिर्भरता घटाउनेछ ।

खनिज क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारको भूमिका निर्णायक हुन्छ । पहिलो चरणमा विस्तृत भू–सर्वेक्षण, नक्साङ्कन र वैज्ञानिक अध्ययनलाई प्राथमिकतामा राख्नुपर्छ । त्यसपछि सार्वजनिक–निजी साझेदारी (एएए) मोडेलमार्फत उद्योग स्थापनालाई प्रोत्साहन गर्नुपर्दछ । प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी उत्खनन अनुमति र राजस्व व्यवस्थापनको स्वामित्व सुनिश्चित गर्नुपर्छ । स्रोतको दिगो उपयोग र सामाजिक सन्तुलन कायम राख्न खानी सञ्चालनमा वातावरणीय प्रभाव मूल्यांकन (भ्क्ष्ब्) र सामाजिक उत्तरदायित्व (ऋक्च्) नीति अनिवार्य बनाउनुपर्छ ।

कर्णालीको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन रोजगारी, स्थानीय सीप विकास, उद्योग विस्तार र पूर्वाधार सुधार मार्फत सम्भव छ । यसका लागि सरकारले विश्वविद्यालय र प्राविधिक संस्थासँग सहकार्य गर्दै खानी सम्बन्धी अध्ययन, तालिम र प्रविधि हस्तान्तरणमा लगानी बढाउनुपर्छ ।

यसरी कर्णालीको समृद्धिको लागि एउटा महत्वपूर्ण आधारका रुपमा खनिज सम्पदा रहेको छ । यसको योजनाबद्ध उपयोग र औद्योगिकीकरण गर्न सके कर्णालीको गरिबी, बेरोजगारी र पूर्वाधार अभावलाई तत्तकाल हल गर्न सकिन्छ । सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्यका साथ पारदर्शी नीति र कार्यान्वयन गरी कर्णालीको जमिन मुनिको धन जनताको जीवनमाथिको समृद्धि बन्न सक्छ ।

च) कृषि क्षेत्र
कर्णाली प्रदेशको दीर्घकालिन समृद्धिको सर्वाधिक महत्वपूर्ण एक आधार कृषि क्षेत्र हो । उत्पादनका हिसावले यहाँको भूबनावट, जलवायु र प्राकृतिक विविधता अत्यन्त अनुकूल छ । ऐतिहासिक कालदेखि नै कर्णालीवासीको प्रमुख जीविकाको स्रोत बनेको कृषि क्षेत्रलाई प्रविधिकरण, व्यावसायिकरण र बजारीकरण मार्फत समृद्धिको आधार बनाउन जरुरी छ ।

प्रदेशको उच्च हिमाली क्षेत्रदेखि पहाडी भूभागहरुमा फलफूल, लहरेबाली, जडीबुटी, खाद्यान्न उत्पादन र पशुपालनको सम्भावना रहेको छ । यहाँ उत्पादन हुने मार्सी धान, तितो मिठो फापर, आलु, सिमी, स्याउ, मुला तथा ओखर जस्ता मौलिक उत्पादनको स्वाद, पोषण मूल्य र औषधीय गुणका कारण अन्तर्राष्ट्रिय बजारमा समेत माग रहेको छ ।

अहिलेसम्म विषादीको प्रयोग नभएको उर्वर जमीनका रुपमा रहेको कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा नै विकास गर्नुपर्दछ । कर्णाली प्रदेशको हिमालदेखि मध्यम पहाड र भित्रि मधेशसम्म फैलिएको भू–आकृतिका कारण स्याउ, ओखर, सुन्तला, आँप, कागति, अनार, जुनार, किवी, सुन्तला, केरा नास्पाती लगायत विभिन्न किसिमका फलफूल उत्पादनयोग्य जमिन रहेको छ । यहाँ लहरेबालीमा सिमी, तरुल, सखरखण्ड, स्थानीय आलु, बोडी लगायत बालीको उत्पादन हुने गरेको छ । जडीबुटी खेतीमा उच्च मूल्य रहेका अलैची, हिमाली अदुवा, जटामासी, जिमु, चिराइतो, च्याउ, विक, वन लसुन तथा वेसार जस्ता बुटयानजन्य उत्पादनहरु उत्पादन भइरहेका छन् ।

कर्णालीमा परम्परादेखी पशुपालन अर्को स्थायी आयको स्रोत हो । कर्णालीको हावापानी, चरन क्षेत्र र स्थानीय कृषकको परम्परागत ज्ञानका आधारमा  भेडा, च्याङ्ग्रा, बाख्रा, गाई, भैंसी, घोडा, कुखुरा, सुँगुरपालन पुर्खेउली पेशा हो । मौरीपालन, माछा पाल्नको समेत राम्रो सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा पालिने च्याङ्ग्रा तथा भेडा पालनद्धारा ऊन, चिज र मासु उत्पादन हुन्छ ।

मध्यम तथा तल्लो भूभागमा बाख्रा र सुँगुरको व्यवसायिक फार्म स्थापना गरेर छिटो तौल बढ्ने तथा उच्च फाइदा हुने उत्पादन विस्तार गर्नुपर्दछ । यस्तै दुधजन्य उत्पादनका लागि हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाल्न सकिने आधुनिक नश्ल सुधार गरी फार्म सञ्चालनले दही, घ्यू, पनीर तथा चिज उत्पादनमा ठूलो बजार सुनिश्चित गर्छ ।

नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ का प्रावधानले जंगली जनावरको मासु उत्पादन र व्यापारमा प्रतिबन्ध लगाएको छ । कडा लाइसेन्स प्रणाली, स्वास्थ्य सुरक्षा, तथा ट्रेसबिलिटी लागू गरी फार्म–लाइन प्रजातिलाई प्राथमिकता दिँदै, वन्यजन्तु  संरक्षण, आर्थिक विकास र  कृषि–व्यवसायको विस्तारका लागि आवश्यक कानुन संशोधन सहित सुरक्षित वन्यजन्तु फार्मिङमा तत्काल जानुपर्दछ ।

कर्णाली प्रदेशका विभिन्न भूभागमा पाल्न सकिने वन्यजन्तु प्रजातिहरू वातावरणीय रूपमा अनुकूल, छिटो उत्पादनशिल र बजार माग उच्च रहेका प्रजातिहरुमा नाउर, घोरल, रतुवा, थार, लाल कालिज, कालिज, खरायो, तथा फार्म–लाइन हाइब्रिड बँदेल लगायतका रहेका छन् । वन क्षेत्र तथा घना झाडी तथा पाखा–भिरालो क्षेत्रमा बसोबास गर्ने सिकारका लागि पहिचान भएका यसता प्रजातिहरुको व्यावसायिक फर्म सञ्चालनले पर्यटन क्षेत्रलाई समेत ठूलो टेवा पुग्दछ ।

कर्णालीको भूगोल अनुकूल उत्पादन र मौलिकतामा आधारित कृषि रणनीतिले प्रदेशलाई दिर्घकालीन समृद्धितर्फ अघि बढाउने ढृढ आधार तयार गर्छ । कृषि क्षेत्र विस्तारसँगै उत्पादन क्षेत्र पहिचान, सिंचाइ प्रणाली सुधार, जैविक कृषि प्रवद्र्धन, प्राविधिक सेवा विस्तार,  बजार पहँुच तथा मूल्य श्रङ्खला विकास, वित्तीय पहुँच सुनिश्चिता, आधुनिक कृषि उद्योग स्थापना, निर्यातमुखी उत्पादन विकास, पशुपालन समयानुकुल व्यावसायिक फर्महरुमा रुपान्तरण र जडीबुटी प्रशोधन, अनुसन्धान तथा विकास, दिगो तथा स्मार्ट कृषि प्रविधि जस्ता क्षेत्रमा लगानी अपरिहार्य छ ।

यहाँका कृषकलाई नश्ल सुधार, दाना व्यवस्थापन, गोठ तथा खोर सुधार, दुग्ध प्रशोधन सीप र बजार संजालमा सक्षम बनाउने खालको क्षमता अभिवृद्धिका लागि संस्थागत कार्यक्रम अनिवार्य छ । नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावका लागि अत्यन्त संवेदनशील छ । तापक्रम परिवर्तन, वर्षा ढाँचा विग्रनु, चरम मौसमी घटनाहरु आदिले कृषि उत्पादनमा ठूलो जोखिम थपिरहेको छ ।

यसका लागि दिगो कृषि, माटो संरक्षण, पानी व्यवस्थापन, एग्रोफरेष्टी जस्ता अभ्यासहरु अनिवार्य छन् । सुरक्षित, पोषिलो र वातावरणमैत्री कृषि उत्पादनप्रतिको माग बढेसँगै नेपालमा जैविक खेतीको आकर्षण बढ्दो छ । यसले माटो स्वास्थ्य सुधार, वातावरण संरक्षण, पोषक गुणस्तर वृद्धि, प्रिमियम मूल्यमा निर्यात जस्ता फाइदा दिन्छ । फलफूल, तरकारी, चिया, कफी, मसला, औषधीय जडीबुटी जस्ता बालीहरुमा नेपालको निर्यात सम्भावना विशाल छ । महिला र युवा कृषिमा महत्वपूर्ण श्रमशक्तिका रुपमा भए पनि स्रोत, सीप र बजार पहुँचमा उनीहरु पछाडि छन् । तालिम, उद्यमशीलता, कर्जा पहुँच र प्राविधिक सहायताले उनीहरुलाई कृषि क्षेत्रकै परिवर्तनकर्ता बनाउन सकिन्छ ।

गुणस्तर मापदण्ड, व्यापार सुविधा र बजार पहँुच सुढृढ गर्न सके देशले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्छ । कर्णालीको कृषि क्षेत्र आर्थिक विकास, गरिबी न्यूनिकरण तथा खाद्यसुरक्षाको महत्वपूर्ण आधार बन्नसक्छ । यसबाट कर्णालीमा रोजगारी सिर्जना, ग्रामीण आय वृद्धि र आर्थिक आत्मनिर्भरता दु्रतगतिमा विस्तार हुने निश्चित छ ।

छ) व्यापार तथा वाणिज्य क्षेत्र
कर्णालीको समृद्धिका लागि व्यापार–व्यवसायमूलक लगानीमैत्री वातावरण निर्माण गर्न जरुरी छ । यहाँका नागरिकले वर्षौँदेखि भोगिरहेको रोग–भोग, बेरोजगारी र गरिबीको उन्मुलन व्यापार तथा वाणिज्य क्षेत्रको विकास र विस्तारबाट मात्रै सम्भव छ । राज्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई भित्र्याउनुका साथै स्थानीय स्तरमा छरिएर रहेको पूँजीलाई केन्द्रीकृत गरी उद्योग, वाणिज्य तथा सेवा क्षेत्रमा लगानी गराउनुपर्दछ ।

कर्णालीमा रहेका ऐतिहासिक तथा धार्मिक सम्पदा, कृषि, जडीबुटी, खनिज, प्राकृतिक मनोरम स्थानहरु, जल–जंगल–चरन लगायत विभिन्न उद्योग क्षेत्रका लागि आवश्यक कच्चा पदार्थहरु रहेका छन् । यी स्रोतको प्रभावकारी उपयोगसहित कपडा उद्योग, सिमेन्ट उद्योग, कृषि तथा जडीबुटी प्रशोधन, फलफूल प्रशोधन, ढुंगा–गिटी प्रशोधन, पानीजन्य उद्योग, ऊर्जा उत्पादन तथा निर्माण सामग्री उद्योगजस्ता क्षेत्र विकास गर्न सकिन्छ ।

वाणिज्य क्षेत्रमा थोक–खुद्रा व्यापार, आयात–निर्यात, यातायात, गोदाम, बीमा, बैंकिङ तथा वितरण प्रणालीलाई सुदृढ बनाउन आवश्यक छ । त्यस्तै, सेवा क्षेत्रमा शिक्षा, स्वास्थ्य, होटल–रेस्टुरेन्ट, आईटी, पर्यटन तथा ट्रेकिङ, परामर्श सेवा, वित्तीय सेवा, सीप–तालिम केन्द्र, कानुनी र प्राविधिक सेवाहरू विस्तार गर्न सकिन्छ । यी सबै क्षेत्रमा लगानी बढेमा कर्णालीको प्राकृतिक विशेषतामा आधारित उद्योग–व्यापारको वृद्धि सम्भव छ ।

कर्णालीमा उद्योग, वाणिज्य र सेवा क्षेत्रको व्यापार विस्तारका लागि सरकारले आकर्षक कर छुट, नीतिगत सहजता, एक–ढोका प्रणाली तथा लगानी सुरक्षा सुनिश्चित गर्नुपर्छ । वन तथा जलस्रोतमा आधारित उद्योगको अनुमति प्रक्रिया सरल बनाउँदै जडीबुटी तथा कृषि प्रशोधन उद्योगका लागि आवश्यक नक्सा, अनुमति र बजार व्यवस्थापन प्रणाली विकास गर्न आवश्यक छ । व्यापार विस्तारमा प्रमुख अवरोध बनेको यातायात तथा पहुँचमार्गको चुनौती समाधान गर्न सडक, पुल, ऊर्जा तथा डिजिटल पूर्वाधारमा दीर्घकालीन सार्वजनिक लगानी अपरिहार्य छ ।

स्थानीय तहहरूले उद्योग दर्ता, भूमि व्यवस्थापन, कर–महसुल सहयोग तथा सीप विकास तालिमको व्यवस्था गर्नुपर्छ । सहकारी, निजी क्षेत्र र संघसंस्थाहरूले उद्यमशीलता, वित्तीय पहुँच, तालिम तथा बजार विस्तार कार्यक्रम सञ्चालन गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले सहज कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता र कृषि–उद्योग विस्तारलाई प्रोत्साहन दिनुपर्नेछ ।

उद्योग–व्यापारको दिगो विकासका लागि विद्युत् आपूर्ति, पारदर्शिता तथा लगानीकर्ताको हक–हित संरक्षण मैत्री कानूनी–व्यवस्थाको सुनिश्चित गर्नुपर्दछ । नीतिगत स्पष्टता, निजी क्षेत्रको सक्रियता, स्थानीय जनशक्तिको सीप तथा प्राकृतिक स्रोतको प्रभावकारी उपयोग कर्णालीको दिगो समृद्धिको प्रमुख आधार हो ।

कर्णालीमा उद्योग, वाणिज्य तथा सेवा क्षेत्रको विकास विस्तारले सकारात्मक प्रभाव पर्नुका साथै दीर्घकालीन रोजगारीका अवसरहरु निर्माण हुनेछन् । उद्योग विस्तारले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै कृषकको आम्दानी वृद्धि गर्छ । वाणिज्य क्षेत्र सुदृढ हुँदा बजार विस्तार, मूल्य स्थिरता र आपूर्ति सहजता वृद्धि हुन्छ । सेवा क्षेत्रको विकासले स्वास्थ्य, शिक्षा, पर्यटन तथा सूचना–प्रविधि क्षेत्रमा आधुनिकता ल्याउँदै रोजगारी सिर्जना गर्छ ।

यसले युवाको विदेश पलायन घटाउने, गरिबी कम गर्ने तथा आर्थिक आत्मनिर्भरता बढाउनेछ । स्थानीय कर राजस्व वृद्धि भई प्रदेश तथा स्थानीय तहको वित्तीय क्षमता सुदृढ हुन्छ । निर्यात–उन्मुख उद्योग विस्तारले विदेशी मुद्रा समेत आकर्षित गर्नेछ । समग्रमा आर्थिक क्रियाकलाप बढेपछि सेवा क्षेत्रमा थप सुदृढता आउँछ र प्रदेशमा विकासको सकारात्मक चक्र निरन्तर चलिरहन्छ ।

उल्लेखित कर्णाली प्रदेशका मुख्य स्रोत साधनहरुको पहिचान गरी विकास, विस्तार र दिगो परिचालन गर्न सके कर्णालीको समृद्धि तत्कालै प्राप्त हुनसक्छ । कर्णालीलाई समृद्धिको बाटोमा लैजान आदर्श, विश्वसनीय, दुरदर्शी, देश बनाउने हुटहुटी सहित ढृढ इच्चा शक्ति भएको नेतृत्वले मात्रै सक्छ । त्यस्तो प्रभावशाली नेतृत्वले मात्रै आधारभूत पूर्वाधार, सुशासन, राजनीतिक स्थिरता, दूरदृष्टि, रणनीतिक योजना र स्रोत साधनको उपयोग गर्ने क्षमता राख्दछ । त्यसैले कर्णालीको माटो बुझेको नेतृत्व खोज्नु कर्णालीबासीको तत्कालको कार्यनीति हुनुपर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समसामयीक

कात्तिक १७ गतेको त्यो कालो रात