आजको समाजमा मानिस केवल आर्थिक संघर्ष, राजनीतिक द्वन्द्व वा सामाजिक संरचनाभित्र मात्र बाँचिरहेको छैन, ऊ विचार, दर्शन र वादहरूको घेराभित्र पनि बाँचिरहेको छ । मानिस किन कुनै विचारमा विश्वास गर्छ, कसरी त्यसमा अल्झिन्छ र कहिलेकाहीँ आफ्नो सम्पूर्ण जीवन नै त्यसैका लागि समर्पण गर्छ भन्ने प्रश्न जटिल छ ।
धर्म, दर्शन, माक्र्सवाद, नव–माक्र्सवाद वा अस्तित्ववादजस्ता धाराहरू मानिसको यही अर्थ खोज्ने यात्राका फरक–फरक अभिव्यक्तिहरू हुन् । यी विचारहरूले कहिले मानिसलाई अन्यायको विरुद्ध बोल्न शक्ति दिन्छन्, कहिले उसलाई कठोर विश्वासको घेरामा बाँधिदिन्छन् । यस लेखमा मानिस र विचारबीचको यही सम्बन्धलाई माक्र्सवादबाट विकसित नव–माक्र्सवादी चिन्तनको सन्दर्भमा मार्टिन हाइडिगरको अस्तित्ववादी दर्शनलाई जोड्दै केलाउने प्रयास गरीनेछ ।
आधुनिक सभ्यताले मानिसको बाहिरी संरचना मात्र होइन, भित्री अस्तित्व, चेतना र जीवनको अर्थलाई कसरी प्रभावित गरेको छ भन्ने विश्लेषण गर्दै विचारले मानिसलाई कसरी मुक्त पनि गर्छ र कसरी कैदी पनि बनाउँछ, तथा सचेत अस्तित्वबोधले यो जटिल सम्बन्धलाई कसरी सन्तुलित गर्न सक्छ भन्ने प्रश्न नै यस लेखको मूल केन्द्र हो ।
मार्टिन हाइडिगरको अस्तित्ववाद र उनले प्रयोग गरेको “डासाइन (म्बकभष्ल)” भन्ने अवधारणा पहिलो पटक सुन्दा आम मानिसलाई अनावश्यक, फरक र दार्शनिक लाग्न सक्छ, तर यसलाई दैनिक जीवनसँग जोडेर सरल रूपमा बुझ्न सकिन्छ । हाइडिगरले दर्शनलाई आकाशमा उड्ने अमूर्त कुरा होइन, मानिसको बाँच्ने तरिकासँग प्रत्यक्ष जोडिएको विषय मानेका छन । उनका अनुसार दर्शनको मूल प्रश्न “के छ ?” होइन, “हामी कसरी छौँ ?” भन्ने हो । यहीँबाट अस्तित्ववाद सुरु हुन्छ ।
अस्तित्ववाद भन्नाले मानिस पहिले जन्मिन्छ, संसारमा फ्याँकिन्छ, अनि त्यसपछि आफ्ना कर्म, छनोट र जिम्मेवारीमार्फत आफू को हो भन्ने कुरा आफैँ बनाउँछ भन्ने सोच हो । हाइडिगरले मानिसलाई साधारण रूपमा “मानव” भनेनन्, उनले “डासाइन” भने, जसको अर्थ हुन्छ “यहाँ–भएको अस्तित्व” । यसको मतलब मानिस कुनै खाली ठाउँमा बस्ने प्राणी होइन, ऊ सधैँ कुनै न कुनै परिवेश, समाज, संस्कृति, भाषा, इतिहास र सम्बन्धभित्र बसेर बाँचिरहेको हुन्छ ।
आम मानिसका लागि यसलाई यसरी बुझ्न सकिन्छ, हामी जन्मँदा नै परिवार, भाषा, धर्म, वर्ग, देश र संस्कारको बीचमा जन्मिन्छौँ । यी सबैले हाम्रो सोच, व्यवहार र निर्णयलाई असर गर्छन् । यही अवस्थालाई हाइडिगरले डासाइन वा “संसारमा हुनु” भनेका हुन् । हाइडिगरको अस्तित्ववादले मानिसलाई एउटा मेसिन वा केवल नियमले चल्ने प्राणीको रूपमा हेर्दैन ।
मानिस चेतनशील छ, उसले आफ्नो अवस्थाबारे सोच्न सक्छ, प्रश्न गर्न सक्छ र अर्थ खोज्न सक्छ । जब मानिस आफ्नो जीवनलाई केवल चलिरहेको परम्परा, भीडको सोच वा समाजले भनेको बाटोमा मात्र नचालेर “म किन यसरी बाँचिरहेको छु ?”, “मेरो जीवनको अर्थ के हो ?” भन्ने प्रश्न गर्न थाल्छ, त्यहीँबाट अस्तित्वबोध सुरु हुन्छ ।
हाइडिगरका अनुसार धेरैजसो मानिस “भीडको जीवन” बाँचिरहेका हुन्छन् । समाजले जे गर्छ, त्यही गर्नु, अरूले जे भन्छन्, त्यही मान्नु, बिना सोच जीवन बिताउनु नै असली जीवन होइन । असली जीवन तब सुरु हुन्छ, जब मानिसले आफ्नो सीमितता, समयको कमी र अन्ततः मृत्यु अवश्यंभावी छ भन्ने सत्य स्वीकार गर्छ । मृत्युको कुरा सुन्दा डर लाग्न सक्छ, तर हाइडिगरका लागि मृत्यु जीवनलाई डराउने कुरा होइन, जीवनलाई गम्भीर बनाउने कुरा हो ।
मृत्यु छ भन्ने थाहा हुँदा मानिसले आफ्नो समय, सम्बन्ध र कर्मलाई जिम्मेवारीपूर्वक लिन थाल्छ । आम मानिसका लागि यसलाई यसरी बुझ्न सकिन्छ “म सधैँ बाँच्दिन” भन्ने बोधले मानिसलाई आजको दिन अर्थपूर्ण बनाउन प्रेरित गर्छ ।
माक्र्सले मानिसको जीवन किन दुःखी छ भनेर हेर्दा समाजको बनोट, धनी–गरिबको अन्तर, श्रम र पैसाबाट सुरु गर्छन् । उनको भनाइमा मानिसको सोच र जीवन उसले कसरी काम गर्छ र के पाउँछ भन्ने कुराले बनाउँछ । तर हाइडिगरले त्यही मानिसलाई अर्कै ठाउँबाट हेर्छन् । उनी सोध्छन मानिस आज कसरी बाँचिरहेको छ ? ऊ आफ्नै जीवनप्रति सचेत छ कि छैन ? ऊ मेसिनजस्तो चलिरहेको छ कि सोचेर बाँचिरहेको छ ? फरक बाटोबाट हिँडे पनि माक्र्स र हाइडिगर दुवै एउटै समस्यातर्फ इङ्गित गर्छन् ।
दुवैले किन आधुनिक सभ्यताले मानिसलाई वास्तविक मानिस हुनबाट टाढा लगेको छ भनेर प्रश्न गरेका हुन । माक्र्सका लागि पूँजीवादी व्यवस्थाले मानिसलाई श्रम बेच्ने वस्तु बनायो । हाइडिगरका लागि आधुनिक सोच र प्रविधिले मानिसलाई उपयोग हुने चीजजस्तो बनायो । एकले आर्थिक शोषण देखे, अर्काले जीवनको अर्थ हराउँदै गएको देखे । तर दुवैको चिन्ता एउटै हो आजको समाजमा मानिस स्वतन्त्र, सचेत र अर्थपूर्ण रूपमा बाँचिरहेको छैन । यही कारणले नव–माक्र्सवादी चिन्तनमा हाइडिगरको विचार उपयोगी देखिन्छ, किनकि यसले आर्थिक समस्या मात्र होइन, मानिसको भित्री जीवन र अनुभूतिको संकटलाई पनि बुझ्न मद्दत गर्छ ।
मानिसको जीवन केवल खानु, बाँच्नु र मर्नुमा सीमित हुँदैन । मानिस अर्थ खोज्ने प्राणी हो । यही अर्थ खोज्ने क्रममा मानिस विचार, दर्शन र वादतर्फ आकर्षित हुन्छ । जब मानिसले आफ्नो जीवनमा अन्याय, पीडा, असमानता, डर वा उद्देश्यहीनता अनुभव गर्छ, तब उसले यी अनुभवलाई बुझ्न कुनै न कुनै विचारको सहारा खोज्छ । यहीँबाट विश्वास सुरु हुन्छ । विचार सुरुमा एउटा व्याख्या मात्र हुन्छ, तर बिस्तारै त्यो मानिसको सोच, भावना र पहिचानसँग गाँसिन थाल्छ ।
जब विचारले जीवनका दुःख–सुखलाई अर्थ दिन थाल्छ, तब त्यो वाद बन्छ । र जब वादले मानिसको सम्पूर्ण जीवनलाई मार्गदर्शन गर्न थाल्छ, तब मानिस त्यसमा समर्पित हुन्छ, कहिलेकाहीँ अल्झिन्छ पनि । इतिहास हेर्दा धर्म, राष्ट्रवाद, माक्र्सवाद, उदारवाद, अस्तित्ववाद सबै यही प्रक्रियाबाट अघि बढेका छन् । मानिसले विचारलाई समात्छ कि विचारले मानिसलाई समात्छ भन्ने प्रश्न यहीँ जटिल बन्छ ।
मानिस विचारमा किन यति धेरै विश्वास गर्छ भन्ने कुरा मनोवैज्ञानिक र सामाजिक दुवै कारणसँग जोडिएको छ । मानिस एक्लै बाँच्न सक्दैन । उसलाई समुदाय चाहिन्छ, चिनारी चाहिन्छ, आफू “कसैको पक्षमा छु” भन्ने अनुभूति चाहिन्छ । कुनै वादले मानिसलाई यही अनुभूति दिन्छ । “म सही पक्षमा छु”, “मेरो दुःखको कारण यो हो”, “मेरो संघर्षको अर्थ छ” भन्ने अनुभूति मानिसलाई मानसिक बल दिन्छ । यही कारणले मानिस विचारमा अडिन्छ । तर यही अडान कहिलेकाहीँ जालो पनि बन्छ ।
विचारले मानिसलाई मुक्त गरिरहेको छ कि बाँधिरहेको छ भन्ने कुरा उसले आफैँ छुट्याउन सक्दैन । जब विचार प्रश्नभन्दा माथि पुग्छ, जब विचारलाई प्रश्न गर्नु अपराध ठानिन्छ, तब मानिस विचारमा अल्झिएको हुन्छ । उसले विचारलाई बाँचिरहेको हुँदैन, विचारले उसलाई बाँचिरहेको हुन्छ ।
माक्र्सवाद पनि यही ऐतिहासिक सन्दर्भमा जन्मिएको विचार हो । औद्योगिक पूँजीवादले सिर्जना गरेको शोषण, वर्ग विभाजन र गरिबीलाई बुझ्न माक्र्सवादले शक्तिशाली व्याख्या दियो । श्रम गर्ने वर्ग शोषित छ, उत्पादनका साधनमाथि थोरै मानिसको नियन्त्रण छ, र इतिहास वर्गसंघर्षको कथा हो भन्ने विचारले लाखौँ मानिसलाई आकर्षित ग¥यो । धेरैका लागि माक्र्सवाद केवल सिद्धान्त थिएन, जीवनको बाटो थियो ।
मानिसहरूले आफ्नो जीवन, सपना र बलिदान यसै विचारमा समर्पण गरे । तर समयसँगै समाज बद्लियो, पूँजीवादका रूप बद्लिए, राज्य, संस्कृति र चेतनाको भूमिका जटिल बन्यो । यहीँबाट नव–माक्र्सवाद जन्मियो । नव–माक्र्सवादले केवल आर्थिक संरचना मात्र होइन, संस्कृति, भाषा, विचारधारा, शिक्षा, सञ्चार र शक्ति सम्बन्धलाई पनि विश्लेषण गर्न थाल्यो । ग्राम्सीको सांस्कृतिक वर्चस्व, फ्राङ्कफर्ट स्कुलको आलोचनात्मक सिद्धान्त, उत्तर–माक्र्सवादी बहसहरू यही धाराका उदाहरण हुन् ।
यही नव–माक्र्सवादी सेरोफेरोमा हाइडिगरको विचार अप्रत्याशित तर धेरै रूपमा प्रवेश गर्छ । पहिलो नजरमा हाइडिगर र माक्र्स विपरीत देखिन्छन् । माक्र्स सामाजिक संरचना र भौतिक अवस्थाबाट सुरु गर्छन्, हाइडिगर अस्तित्व र अनुभवबाट । तर दुवैको साझा बिन्दु आधुनिक सभ्यताप्रतिको धेरै आलोचना हो । हाइडिगरले आधुनिक मानवलाई प्रविधि, गणना र उपयोगिताको जालमा फसेको अस्तित्वका रूपमा देखे । मानिस अब “छ” भन्नेभन्दा “कसरी प्रयोग हुन्छ” भन्ने दृष्टिले हेर्न थालिएको छ ।
यहीँ हाइडिगरको अस्तित्ववादी चिन्ता नव–माक्र्सवादी आलोचनासँग जोडिन्छ । नव–माक्र्सवादले भन्छ पूँजीवादले केवल श्रम मात्र होइन, चेतना पनि उपनिवेश बनाउँछ । हाइडिगर भन्छन् आधुनिक सोचले मानिसलाई वस्तुजस्तै बनाइदिएको छ । यी दुई धार एकअर्कालाई पूरक जस्ता देखिन्छन् ।
मानिस विचारमा विश्वास गर्दा प्रायः आफ्नो अस्तित्वको असुरक्षाबाट सुरु गर्छ । बेरोजगारी, गरिबी, अपमान, पहिचानको संकट, धार्मिक वा सांस्कृतिक द्वन्द्व यी सबैले मानिसलाई प्रश्न गर्न बाध्य बनाउँछन् । विचारले यी प्रश्नलाई सरल उत्तर दिन्छ । “सबै समस्याको जड पूँजीवाद हो”, “सबै समस्याको कारण धर्मबाट टाढा हुनु हो”, “सबै समस्याको समाधान यही विचारमा छ” भन्ने वाक्यले मानिसलाई मानसिक शान्ति दिन्छ । तर यही सरलता खतरनाक पनि हुन सक्छ ।
हाइडिगरको दृष्टिमा असली जीवन सरल उत्तरमा होइन, प्रश्नसँग बस्न सक्ने साहसमा हुन्छ । डासाइन भनेको अनिश्चिततामा बाँच्न सक्ने अस्तित्व हो । जब मानिसले विचारलाई अन्तिम सत्य ठान्छ, तब उसले सोच्न छोड्छ । सोच्न छोड्नु नै अस्तित्वबाट टाढा हुनु हो । नव–माक्र्सवादी चिन्तनले पनि यही खतरा देखाउँछ । विचारधारा केवल बाहिरी शत्रु होइन, भित्रको आदत पनि हो । मानिस आफू स्वतन्त्र सोचिरहेको छु भन्ने भ्रममा हुन्छ, तर उसको भाषा, इच्छा र सपना समेत प्रणालीले बनाइदिएको हुन्छ ।
यहाँ हाइडिगरको “असली” र “नकली” अस्तित्वको कुरा सान्दर्भिक हुन्छ । मानिस जब समाजले दिएको भूमिकामा मात्र बाँचिरहेको हुन्छ, तब ऊ भीडको जीवन बाँचिरहेको हुन्छ । जब ऊ आफ्नो अवस्थाबारे सचेत भएर प्रश्न गर्न थाल्छ, तब ऊ असली अस्तित्वतर्फ जान्छ । नव–माक्र्सवादले यही चेतनाको राजनीति गर्छ, उता हाइडिगरले यही अस्तित्वको राजनीति । मानिसले विचारमा जीवन समर्पण गर्नु सधैँ गलत हुँदैन । समस्या समर्पण होइन, अन्धसमर्पण हो ।
विचारले मानिसलाई न्याय, समानता र करुणातर्फ लैजाँदै छ भने त्यो मुक्तिदायी हुन्छ । तर विचारले मानिसलाई कठोर, असहिष्णु र प्रश्नविहीन बनाउँदै छ भने त्यो जेल बन्छ । इतिहासमा धेरै क्रान्तिहरूले मुक्ति दिने सपना देखाए, तर पछि नयाँ दमन जन्माए । यसको कारण विचार होइन, विचारलाई देवता बनाउनु हो । हाइडिगरले यहीँ चेतावनी दिन्छन कुनै पनि प्रणाली, विचार वा प्रविधिलाई अन्तिम सत्य ठान्नु मानव अस्तित्वका लागि खतरनाक हुन्छ ।
आजको समयमा मानिसहरू विचारभन्दा छविमा, वादभन्दा नारामा र दर्शनभन्दा पहिचानमा बढी अड्किएका छन् । सामाजिक सञ्जालले विचारलाई अझ सरल र कट्टर बनाइदिएको छ । नव माक्र्सवादीहरूले यसलाई “नयाँ वैचारिक उत्पादन” भन्छन् । हाइडिगरको भाषामा यो अस्तित्वको अझ धेरै विस्मृति हो । मानिस सोचिरहेको छैन, प्रतिक्रिया दिइरहेको छ । यस्तो अवस्थामा विचारमा विश्वास गर्नु सजिलो हुन्छ, तर धेरै बाँच्नु कठिन ।
यही कारणले हाइडिगर आज पनि सान्दर्भिक छन् । उनले हामीलाई कुनै विचार अपनाऊ भनेर भनेनन्, उनले सोच्ने तरिका प्रश्न गरे । मानिस विचारमा विश्वास गर्छ किनकि ऊ अर्थ खोजिरहेको हुन्छ । ऊ अल्झिन्छ किनकि अर्थ सजिलो छैन । ऊ जीवन समर्पण गर्छ किनकि अनिश्चितताभन्दा निश्चितता सजिलो लाग्छ । माक्र्सवाद, नव–माक्र्सवाद, अस्तित्ववाद, धर्म यी सबै मानिसको यही खोजका फरक भाषा हुन् । हाइडिगरले हामीलाई सम्झाउँछन् यी भाषाभन्दा अघि “तिमी कसरी बाँचिरहेका छौ ?” भन्ने प्रश्न छ ।
विचार त साधन मात्र हो । जब साधन नै लक्ष्य बन्छ, तब मानिस हराउँछ । जब मानिस साधन प्रयोग गरेर आफ्नै अस्तित्वलाई धेरै रूपमा बुझ्न थाल्छ, तब ऊ स्वतन्त्र हुन्छ । यही स्वतन्त्रता विचारको विरोध होइन, विचारसँग सचेत सम्बन्ध हो । यही सम्बन्धले मात्र मानिसलाई विचारको दास होइन, विचारको जिम्मेवार प्रयोगकर्ता बनाउँछ ।
फेनोमेनोलोजी अर्थात् प्रत्ययवाद हाइडिगरको दर्शन बुझ्ने अर्को महत्वपूर्ण ढोका हो । फेनोमेनोलोजी भन्नाले कागजमा बर्णन गरेर लेखिएको सिद्धान्तजस्तो होइन, बरु यो हामीले प्रत्यक्ष रूपमा अनुभव गर्ने संसारलाई जस्तो छ त्यस्तै बुझ्ने प्रयास हो । हाइडिगरका अनुसार “कुरा लाइ घटना जस्तै आफैँलाई देखिन देऊ” ।
यसको अर्थ जीवनलाई केवल धर्मग्रन्थ, किताब, नियम वा विचारधाराको चस्माबाट मात्र नहेरी, मानिसले प्रत्यक्ष अनुभव गरिरहेको पीडा, खुशी, डर, आशा र सम्बन्धलाई ध्यानपूर्वक बुझ्नु हो । आम मानिसले यो कुरा दैनिक जीवनमै अनुभव गर्छ । उदाहरणका लागि, गरिबीको कथा र अर्थ किताबमा पढ्नु एउटा कुरा हो, तर गरिबीमा बाँच्नु अर्को कुरा हो । हाइडिगरले यही बाँचिएको अनुभवलाई केन्द्रमा राखे । डासाइन भनेको अनुभव गर्ने अस्तित्व हो । मानिस केवल सोच्ने प्राणी होइन, ऊ अनुभूति गर्ने, दुःख–सुख भोग्ने र अर्थ खोज्ने प्राणी हो ।
अब यसलाई माक्र्सवादसँग जोडेर हेर्दा झन रोचक हुन्छ । माक्र्सवादले मानिसको जीवनलाई मुख्य रूपमा आर्थिक संरचना, श्रम, वर्ग र उत्पादन सम्बन्धबाट बुझ्छ । मानिसको चेतना उसको भौतिक अवस्थाबाट बन्ने माक्र्सले भनाइ थियो । हाइडिगर र माक्र्स दुवैले अमूर्त आदर्शवादको आलोचना गरे । दुवैले जीवनलाई वास्तविक परिस्थितिसँग जोडेर हेरे । तर फरक यति हो कि माक्र्सवादले सामाजिक र आर्थिक संरचनामा जोड दियो भने हाइडिगरले व्यक्तिगत अस्तित्व र अर्थबोधमा जोड दिए । आम मानिसको जीवनमा यी दुवै कुरा स्पस्ट देखिन्छन् ।
उदाहरणका लागि, गरिब मानिसको जीवनमा रोजगारी, श्रम र आर्थिक अन्यायले ठूलो भूमिका खेल्छ (यो माक्र्सवादी पक्ष हो) तर त्यही मानिसले आफ्नो जीवनको अर्थ, आत्मसम्मान, डर र आशाबारे सोच्ने गर्छ (यो हाइडिगरको अस्तित्ववादी पक्ष हो) । त्यसैले डासाइनलाई केवल व्यक्तिगत भावनाको कुरा भनेर बुझ्नु अधुरो हुन्छ । डासाइन सधैँ समाजभित्र हुन्छ, आर्थिक र राजनीतिक संरचनाले प्रभावित हुन्छ । यस अर्थमा हाइडिगरको अस्तित्ववादलाई माक्र्सवादसँग संवादमा राखेर बुझ्दा जीवन अझ समग्र रूपमा बुझिन्छ ।
धर्मको प्रसंगमा हाइडिगरको दर्शन अझ संवेदनशील हुन्छ । हाइडिगरले धर्मलाई सिधै अस्वीकार गरेनन्, न त अन्ध समर्थन नै गरे । उनले धर्मलाई पनि मानिसको अस्तित्वबोधसँग जोडेर हेरे । आम मानिसका लागि धर्म जीवनको अर्थ खोज्ने एउटा माध्यम हो । दुःखमा सहारा, डरमा आशा र मृत्युपछि के हुन्छ भन्ने प्रश्नको उत्तर धर्मले दिन खोज्छ । हाइडिगरका अनुसार समस्या तब हुन्छ, जब धर्मलाई सोच्न नदिने, प्रश्न गर्न नदिने र केवल अन्धविश्वासको रूपमा लिइन्छ ।
यदि धर्मले मानिसलाई आफ्नो अस्तित्व, जिम्मेवारी र नैतिकताबारे धेरै सोच्न मद्दत गर्छ भने त्यो सकारात्मक हुन्छ । तर यदि धर्मले मानिसलाई भाग्य, डर र दण्डको नाममा निष्क्रिय बनाउँछ भने त्यो “असली अस्तित्व” बाट टाढा लैजान्छ । डासाइन भनेको प्रश्न गर्ने अस्तित्व हो । प्रश्न गर्न नपाउने धर्म डासाइनको स्वभावविरुद्ध जान्छ । त्यसैले हाइडिगरको दृष्टिमा धर्म पनि मानिसको बाँच्ने तरिकासँग जोडिएको अनुभव हो, कुनै आकाशबाट झरेको कठोर नियम होइन ।
शिक्षाको सन्दर्भमा हाइडिगरको अस्तित्ववाद अत्यन्तै महत्वपूर्ण हुन्छ । आजको शिक्षा प्रणाली धेरैजसो सूचना, अंक र प्रमाणपत्रमा केन्द्रित छ । विद्यार्थीलाई “के जान्ने” भन्दा “कसरी सोच्ने” कम सिकाइन्छ । हाइडिगरको दृष्टिमा यस्तो शिक्षा (डासाइन) अस्तित्व लाई मेसिनजस्तो बनाउने शिक्षा हो । असली शिक्षा भनेको विद्यार्थीलाई आफ्नो जीवन, समाज र भविष्यबारे प्रश्न गर्न सक्षम बनाउनु हो । आम मानिसका लागि यसलाई यसरी बुझ्न सकिन्छ, शिक्षाले केवल जागिर दिलाउने होइन, जीवन बुझ्न सिकाउनुपर्छ ।
शिक्षकले केवल पाठ्यपुस्तक पढाउने होइन, विद्यार्थीको अनुभव, परिवेश र समस्यालाई सुन्नुपर्छ । जब शिक्षा जीवनसँग जोडिन्छ, तब डासाइन सक्रिय हुन्छ । नत्र शिक्षा पनि भीडको जीवनकै एउटा हिस्सा मात्र बन्छ । यसरी हेर्दा हाइडिगरको अस्तित्ववाद र डासाइन कुनै टाढाको दर्शन होइन ।
श्रोतहरु : fb.me/heidegger.society
heidegger-circle.org
thephilosophyforum.com/discussion/8492/martin-heidegger
- (लेखक खड्का मुसीकोट खलंगा बहुमुखी क्याम्पसको उप प्राध्यापक हुनुहुन्छ ।)