नेभिगेशन
राजनीति

रुकुम पश्चिमका नौ जना उम्मेदवारको धरौटी जफत

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिमका १२ जना मध्य नौ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उहाँहरुको धरौटी जफत भएको हो ।

सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार कुल सदर मत ५९ हजार ५२३ मत रहेको र यसको १० प्रतिशत अर्थात पाँच हजार ९५३ मत ल्याउन नसक्दा नौ जना उम्मेदवारको जमानत जफत भएको हो । 

शाहीका अनुसार धरौटी जफत हुनेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही, नेकपा (एमाले)का नन्दराम देवकोटा, नेकपा (माओवादी)का चन्द्रबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी, नेकपा (सयुक्त)का शेरबहादुर केसी, आम जनता पार्टीका प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीका धनबहादुर बि.क. रहनु भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका शाहीले चार हजार ७६, नेकपा (एमाले)का देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्काले २२८ मत ल्याउनु भएको छ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका श्रेष्ठले १७०, उज्यालो नेपाल पार्टीका केसीले ८४, नेकपा (संयुक्त)का केसीले ५४, आम जनता पार्टीका नेपालीले ४५ र नेपाल मजदुर किसान पार्टीका बि.क.ले १५ मत ल्याउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

विभिन्न सात वटा पार्टीले पाँच सय मत पनि कटाउन सकेनन् । रुकुम पश्चिमबाट विजयी नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६०९, नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ र प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याउनु भएको छ । 

निर्वाचन ऐनको दफा ७) (१) अनुसार प्रत्यक्ष निर्वाचनमा सहभागी उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा (२) मा महिला र दलित वा अल्पसङख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ । 

त्यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका–२०८२ को दफा ६४ अनुसार पनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ । एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको रुकुमपश्चिममा एक लाख छ हजार ६६० मतदाता मध्य ६२ हजार ५३९ मत खसेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति