नेभिगेशन
समाज

सानीभेरी नदिमा रुकुमका दुई किशोरीको शव फेला, एक बेपत्ता

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ । एक किशोरी भने बेपत्ता रहेको बताईएको छ । 

आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । करिब पाँच सय मिटर फरक दुरीमा दुई शव फेला परेको बताईएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार शवको पहिचान समेत भएको छ । शवहरु बाँफिकोट गाउँपालिका ३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मीला ओलीको रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । भेरी नदि किनारमा तैरिएको अवस्थामा शव फेला परेका हुन् । 

उहाँका अनुसार सोमबार बेलुका तीन जना किशोरीहरु छिमेकी गाउँको विवाहमा जान भनेर गएका थिए । उनीहरुको साथमा गएकी १३ वर्षीया सपना ओलीको भने अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक पुनले जनाउनुभयो । 

विवाहबाट फर्कदै गर्दा भेरी नदिले बगाएको हुन सक्ने आशंक गरिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक पुनको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ । यस अघि अस्थायी प्रहरी पोष्ट छिनखेतबाट पनि प्रहरी टोली घटनास्थलमा खटिएको छ । 

घटनाको थप विवरण आउन बाँकि रहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्