नेभिगेशन
घटना/दुर्घटना

दसैंको दिन विवाह भएको थियो, हप्ता दिनमै दुर्घटनामा परेर ज्यान गयो

सल्यानको कुमाख गाउँपालिका ५ तिमिलकाँडाका २३ वर्षीय प्रकाश घर्ती असोज १६ गते विजयादशमीको दिन वैवाहिक जीवनमा बाँधिनु भएको थियो । विवाह भएको सातौ दिन पुरा भएर आठ दिन लागेको दिन उहाँको दुर्घटनामा परेर मृत्यु भएको छ । 

सल्यानको दार्मा गाउँपालिका ५ भिरबाटमा मोटरसाइकल दुर्घटना परेर बिहिबार घर्तीको मृत्यु भएको हो । त्रिवेणीको झुल्नेटाबाट नुवाकोट जानेक्रममा घर्ती र उहाँका नातेदार (साला) चौरजहारी नगरपालिका १४ नाउलाका १८ वर्षीय महेन्द्र पुन चढेको रा २ ख ७०२२  नम्बरको मोटसाईकल भिरबाटामा दुर्घटना भएको थियो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले दिनुभएको जानकारी अनुसार गम्भिर घाईते अवस्थाका घर्ती र अर्का घाईते पुनलाई तत्काल उद्धार गरेर झुल्नेटाको आकाश पोलिक्लिनिकमा ल्याईएको थियो । त्यहाँ सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएकोमा चिकित्सकले घर्तीलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक पुनले जनाउनुभयो । 

घाईते पुनको भने अवस्था सामान्य रहेको छ ।  मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको बताईएको छ । विजयदशमीको शुभ साईत पारेर नयाँ जीवनको अध्याय सुरु गरेका घर्तीको दुर्घटनामा परेर निधन भएपछि गाउँ शोकमा डुबेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना