नेभिगेशन
घटना/दुर्घटना

जीप दुर्घटनाका चार घाईतेलाई हेलिकोप्टरमार्फत सुर्खेत र सात जनालाई चौरजहारी अस्पताल लिईयो (विवरणसहित)

आईतबार बिहान रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ मा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका दुई जना र घाईतेहरुको पहिचान खुलेको छ । 

सानीभेरी गाउँपालिका वडा नम्वर ६ को कोटगाउँबाट पालिकाको केन्द्र सिम्लीतर्फ आउँदै गरेका लु १ च ६०२९ नम्वरको डबल क्याप बोलेरा जीप वडा नम्वर ६ को कार्यालय नजिकै दुली सिम्ली जोड्ने भित्रि सडकखण्डमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा नम्वर १ निवासी जीप चालक २८ वर्षीय सुन्दर खड्का र सानीभेरी गाउँपालिका वडा नम्वर ६ निवासी १६ वर्षीया प्रेमकला पुन रहेका छन् । मृतकहरुको शव जिल्ला अस्पताल सल्ले ल्याईएको छ । 

जीपमा चालकसहित १५ जना रहेको खुलेको छ । जीपमा सवार मध्य चार जनाको अवस्था गम्भिर रहेको छ भने सात जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको छ । एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

घाईते मध्य सानीभेरी गाउँपालिका ६ निवासी गाडीधनि ३८ वर्षीय बलबहादुर पुन, सोही ठाउँमा १५ वर्षीय पूर्णबहादुर जैसी, ५० वर्षीया कौशिला पुन मगर र १५ वर्षीया खिमला पुनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाईएको छ । 

त्यसैगरी सोहि स्थानका २० वर्षीया अन्जना पुन, ५० वर्षीया बिर्मी खत्री, १५ वर्षीया बिबिशा पुन मगर, १५ वर्षीय बिशाल बिक, ९ बर्षिय शिशिर पुन, २० वर्षीय रिता पुन मगर, जाजरकोटको शिवालय गाउँपालिका निवासी १७ वर्षीया ज्ञानु पुन मगरलाई उपचारको लागि चौरजहारी अस्पतालमा लिईएको छ । यी घाईतेहरु मध्य अन्जना, बिशाल र ज्ञानुको अवस्था गम्भिर रहेको छ । 

जीपमा सवार सानीभेरी गाउँपालिका ६ का १० वर्षीय रमेश कुसारीको भने अवस्था सामान्य रहेको छ । उहाँको सानीेभेरी गाउँपालिका अस्पतालमा उपचार भईरहेको छ ।  सोही स्थानका नविन देवकोटालाई भने सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।  

दुर्घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेल र सशस्त्र प्रहरी बल नेपाल ४७ नम्वर गुल्मबाट प्रहरी सहायक निरीक्षक मधु गौतमको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयले घाईतेहरुको उद्धार गरेर सानीभेरी गाउँपालिका अस्पताल पुर्याएका थिए। 

प्रहरीले क्षमता भन्दा बढी यात्रु रहेको र अप्ठ्यारो मोडको कारण दुर्घटना भएको अनुमान गरेको छ । घटनाको अनुसन्धान सुरु भएको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना