नेभिगेशन
खेल

पूर्णिमा मेलाको अवसरमा कैल्देउमा विविध खेलकुद प्रतियोगिता हुँदै 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ कैल्देउमा स्थानीय भदौ पूर्णिमा मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ कैल्देउ युथ क्लबले भदौ २० गतेदेखि २२ गतेसम्म विभिन्न प्रतियोगिताहरु राखेको हो । 

आयोजक कैल्देउ युथ क्लबका अध्यक्ष यत कुमार बोहराका अनुसार पुरुष भलिबल, रस्साकस्सी (महिला र पुरुष बिच छुट्टाछुट्टै), भाले तान्ने, सटफुट लगायतका प्रतियोगिताहरु राखिएको छ । पुरुष भलिबलतर्फ पाँच हजार रुपियाँ दर्ता शुल्क राखिएको छ भने प्रथम, द्वितिय र तृतीय पुरस्कार क्रमश ४९ हजार ९९९, २९ हजार ९९९ र १९ हजार ९९९ रुपियाँ राखिएको छ । 

त्यसैगरी पुरुष रस्साकस्सीमा दर्ता शुल्क सात सय राखिएको छ भने पुरस्कार राशी ६ हजार ९९९ रुपियाँ राखिएको छ । एक समुहमा सात जना मात्र सहभागि हुन पाउने आयोजकको भनाइ छ । 

महिला रस्साकस्सीमा दर्ता शुल्क पाँच सय राखिएको छ भने पुरस्कार राशी चार हजार ९९९ राखिएको छ । महिलातर्फको यस प्रतियोगितामा एक समुहमा पाँच जना मात्र हुनुपर्ने नियम बनाईएको छ । 

भाले तान्ने प्रतियोगितामा विजेताले रातो भाले पाउने छन् भने दर्ता शुल्क एक सय राखिएको छ । त्यसैगरी सटफुट प्रतियोगितामा दर्ता शुल्क एक सय राखिएको छ भने प्रथम, द्वितिय र तृतीय पुरस्कार क्रमश तीन हजार, दुई हजार र एक हजार राखिएको अध्यक्ष बोहराले जानकारी दिनुभयो । सबै प्रतियोगितामा प्रमाण पत्रको व्यवस्था समेत गरिएको छ । 

मेलामा खुल्ला लोक नृत्य तथा स्थानीय झाँकी प्रदर्शनीको कार्यक्रम समेत राखिएको छ । 

लक्ष्मी मावि कैल्देउमा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिताको लागि भदौ १९ गतेभित्र नाम दर्ता गर्न आयोजकले अनुरोध गरेको छ । यसका साथै भलिबल खेलाडीहरुलाई परिचय पत्र तथा खेल पोशाकमा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल