नेभिगेशन
समाज

जीर्ण रुकुम कारागार, ६ गुणा बढी भार

२५ जना क्षमताको रुकुम कारागारमा १५४ जना कैदीबन्दी

रुकुम पश्चिममा रहेको जिल्ला कारागारमा क्षमता भन्दा ६ गुणा बढी कैदीबन्दी रहेका छन् । भौतिक पूर्वाधारको अभावमा क्षमता अनुकुलको ब्यवस्थापन नहुँदा कैदीबन्दीहरुलाई आधारभूत आवश्यकताहरु उपयोगमा समस्या भईरहेको छ । 

रुकुम कारागारमा क्षमताका हिसाबले २५ जना राख्न मिल्ने हो । २० जना पुरुष र ५ जना महिलाको क्षमता रहेको यस कारागारमा अहिले १५४ जना कैदिबन्दी कोचिनु परेको छ । २५ जना बस्न मिल्ने कारागारको भौतिक संरचनाले १४५ जना पुरुष, आठ जना महिला र एक जना नाबालक गरी १५४ जनाको भार थेगिरहेको छ ।

कारागार कार्यालय प्रमुख केशव ओलीका अनुसार क्षमता भन्दा ६ गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनसंगै सुरक्षाको समेत चुनौती देखिन्छ । बाहिरी सुरक्षा ब्यवस्था मजबुद पारिएको भएतापनि क्षमता भन्दा बढी कैदीहरुको आन्तरिक ब्यवस्थापनमा कारागार कार्यालयलाई समस्या परिरहेको छ । 

कैदीहरुलाई सुत्नको लागि ठाउँको अभाव रहेको छ । उनीहरु कुनै कोठामा पालोपालो गरेर त कुनै कोठामा लस्करै लाईन लागेर सुत्ने गरेका छन् । यतिसम्म कि राती सुतेको बेला कोल्टे फेर्न समेत नमिल्ने गरेर कोचाकोच गरेर सुत्नुपर्ने अवस्था छ । कार्यालय प्रमुख ओलीले सुत्नका साथै शौचालयको प्रयोग, खेलमैदान र खेल सामाग्रीको समस्या प्रमुख रहेको जनाउनुभयो । यस अघि खानेपानीको समेत समस्या भईरहेको यस कारागारमा हाल खानेपानीको समस्या भने हटेको छ । 

कैदीबन्दीहरुलाई सीपमुलक काम गर्न, तालिम सञ्चालन गर्न र खेल्नका लागी ठाँउ छैन । २०४२ सालमा निर्माण गरिएको कारागारका दुई वटा, छ कोठे भवन अहिले जीर्ण बनेका छन् । जीर्ण भौतिक संरचनामा क्षमता भन्दा बढी कैदीबन्दीलाई व्यवस्थापन गर्नुपर्दा चुनौति बढेको कारागार प्रशासनले जनाएको छ । 

यो कारागार अहिले दुई जिल्लाको लागि बढी प्रयोग हुने गरेको छ । रुकुम पूर्वमा कारागार स्थापना नहुँदा मुसिकोटस्थित यो कारागार दुबै जिल्लाको लागी प्रयोग हुदै आएको छ । कारागार कार्यालयले अब भने मुसिकोटमा नयाँ कारागार भवन निर्माण प्रक्रिया सुरु भएको जनाएको छ ।

आवश्यक बजेट व्यवस्थापन भएपछि भवनको लागि जग्गा छनौट, डिपिआर लगायतको काम भईरहेको कारागार प्रमुख ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भवन अत्याधुनिक बन्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज