नेभिगेशन
समाज

पटक पटकको सूचना वेवास्ता गरेपछि सडक मिचेका संरचनामा मुसिकोटले चलायो डोजर

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सडक मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।  यस अघि पटक पटक सूचना गरेको नगरपालिकाले आज शुक्रबारबाट मापदण्ड विपरितका संरचना हटाउन थालेको हो । 

मुसिकोट नगरपालिकाका प्रवक्ता समिर जंग मल्लले खलङ्गाको सहिद गेटबाट त्यस्ता संरचना हटाउन सुरु गरेको जानकारी दिनुभयो । नगरपालिकाले डोजर र टिप्परसहित संरचना हटाउन थालेपछि केहि व्यवसायीले आफैले तत्काल हटाउन थालेको प्रवक्ता मल्लले बताउनुभयो । 

जनप्रतिनिधि, नगर प्रहरी तथा नेपाल प्रहरीसहित टोलीले पटक पटकको सूचना, व्यवसायीसँगको छलफल तथा सहमति अनुसार सडक मिचेर बनाइएका संरचना हटाउन पुगेको हो । नगरपालिकाले राप्ती राजमार्ग तथा बजार क्षेत्रमा मुख्य सडक मिचेर बनाइएका सबै संरचनाको पहिचान गरिसकेको जनाएको छ । सडकको ५ मिटर दायाँ बायाँ क्षेत्रमा निर्माण भएका संरचनाहरू भत्काइने प्रवक्ता मल्लले जनाउनुभयो । 

नगर प्रहरी प्रमुख उमेश केसीका अनुसार शुभय महल नजिक राप्ती राजमार्ग मिचेर लगाइएका बिरुवा र वालमा नगरपालिकाको डोजर लगाएर हटाएको छ । उहाँका अनुसार सडक मिचेर बनाएका संरचनाको पहिचान यसअघि नै भएकोले हटाउन थालिएको हो । 

नगरपालिकाले यसअघि नै राप्ती राजमार्ग तथा अन्य सडकहरू मिचेर बनाइएका संरचनाहरूमा मार्किङ गरिसकेको छ । अब निरन्तर रूपमा यो अभियान सञ्चालन हुने बताइएको छ । - सौगात गौतम

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

पानीमा डुबेर तीन दिदीबहिनीको मृत्यू