नेभिगेशन
समाज

ठूलीभेरी र सानीभेरीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

रुकुम पश्चिम हुँदै बग्ने ठूलीभेरी र सानीभेरी नदिमा जलसतह बढेको छ । डोल्पा हुँदै रुकुम पश्चिम, जाजरकोट भएर बग्ने ठूलीभेरी र रुकुम पूर्व हुदै रुकुम पश्चिम, जाजरकोट भएर बग्ने सानीभेरी नदिले सतर्कता तह पार गरेका हुन् । 

जल तथा मौसम विज्ञान विभागका अनुसार गएराती ठूलीभेरी नदिले खतरा तह पार गरेको थियो । बिहान भने तह केहि कम रहेको छ ।  रिम्नामा रहेको जलमापन केन्द्रका ग्रेड रिडर लक्ष्मी शाहीका अनुसार आईतबार बिहान ५ बजे ठूलीभेरी नदिको सतह ५.५५ मिटर रहेको थियो भने ८ बजे ५.३५ मिटर देखिएको छ । अहिले सतह केहि कम भएतापनि वर्षा भईरहकोले सतह बढ्ने बताईएको छ । 

त्यसैगरी सानीभेरी नदिको तह पनि बढेको छ । सानीभेरी गाउँपालिका ९ को सिम्लीमा रहेको जलमापन केन्द्रका ग्रेड रिडर वीरेन्द्र कुमार केसीका अनुसार आज बिहान सानीभेरीको सतह ३.८० मिटर रहेको छ । शनिबार २.८ मिटर रहेको नदिको तह राती बढेको उहाँले जानकारी दिनुभयो । 

वर्षा भईरहेकोले नदिको सतह अझै बढ्ने उहाँको भनाइ छ । नदीको सतह अझै बढ्ने क्रममा रहेकोलेले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको जलमापन केन्द्रले जनाएको छ । 

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले नदि आसपासका क्षेत्रमा सतर्ककता अपनाउन आग्रह गर्नुभएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जानकारी दिएकोले पूर्व सूचनाको ख्याल राख्न आवश्यक रहेको उहाँले जनाउनुभयो । 

जोखिममा रहेका स्थानहरु र घटनाहरु भएमा तत्काल जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधिहरु, नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत उहाँले आग्रह गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज