नेभिगेशन
राजनीति

४३ औंं बीपी स्मृति दिवसको अवसरमा मुसिकोटमा दिप प्रज्वलन

नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले ४३ औंं बीपी स्मृति दिवसको अवसरमा मुसिकोटमा दिप प्रज्वलन गरेको छ ।

मंगलबार बेलुका मुसिकोट नगरपालिका १ स्थित बीपीको शालिक परिसरमा दिप प्रज्वलन गरिएको नेवि संघका जिल्ला अध्यक्ष हेमराज केसीले जानकारी दिनुभयो । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औं स्मृति दिवस मनाउने क्रममा दिप प्रज्वलन गरिएको केसीले जनाउनुभयो । यस अवसरमा बीपीको विभिन्न योगदानको चर्चा समेत गरिएको थियो । 

यस अवसरमा नेपाली काँग्रेसका कर्णाली प्रदेश समिति सदस्य सीता ओली, पार्टीको महाधिवेशन प्रतिनिधि निर्माला गिरी, नेपाली काँग्रेस रुकुम पश्चिमका कोषाध्यक्ष मोहबिर खड्का, सहसचिव यज्ञ बिष्ट, पार्टीका प्रवक्ता लालबहादुर ओली, मुसिकोट नगर सभापति प्रेमबहादुर ओली लगायतको उपस्थिति रहेको थियो । 

bp-smriti-(1)-1753240232.jpgनेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको वि.सं.२०३९ साउन ६ गते निधन भएको थियो ।

उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ गते भएको हो । वि.सं.२०१५ को संसदीय निर्वाचनपछि वि.सं.२०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् ।

उहाँका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।

वरिष्ठ अधिवक्ता स्व. गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, वि.सं.२०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी वि.सं.२०१५ को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो ।

प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो ।

वि.सं.२०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।

वि.सं.२०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो ।

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी वि।सं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्कनुभएको थियो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि देशको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्