नेभिगेशन
समाज

रुकुममा आफन्तको विवाहमा गएका तीन दिदिबहिनीकै शव सानीभेरीमा फेला

आईतबार दिउँसो रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१३ को छिवाङ नजिकै सानीभेरी नदि किनारमा एक किशोरीको शव फेला परेको छ । उक्त शव बाँफिकोट गाउँपालिका ३ गरालागोठ निवासी १३ वर्षीया सपना ओलीको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

सपनाका बुवा पूर्णबहादुर ओलीले छोरीको शवको पहिचान गर्नुभएको हो । डिएसपी पौडेलका अनुसार गत फागुन २५ गते बेलुकाबाट हराएका एकाघरका तीन बहिनी मध्य बेपत्ता रहेकी सपनाको शव हराएको १३ दिनपछि नदि किनारमा फेला परेको हो । यस अघि फागुन २६ गते बिहान बाँफिकोट गाउँपालिका –३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई दिदिबहिनीको शव भेटिएको थियो । १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मीला ओलीको शव भेटिएको १३ दिनपछि सपनाको शव फेला परेको हो । 

सपनाको शव फेला परेसँगै एकैसाथ हराएका तीन दिदिबहिनीको शव सानीभेरीमै फेला परेको डिएसपी पौडेलले जानकारी दिनुभयो । सपनाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ । 

विवाहमा गएका थिए तीन बहिनी

प्रहरीका अनुसार मृतक तीन जना दिदिबहिनी आफन्तको विवाहमा गएका थिए । फागुन २५ गते मुसीकोट नगरपालिका –१ भलखोलागाउँमा आफन्तको विवाहमा गएका उनीहरु नदिको जंघार तर्ने क्रममा बगेको हुनसक्ने प्रहरीको भनाई छ । गरालागोठबाट र भलखोला गाउँलाई सानीभेरी नदिले छुट्याएको छ । 

बेपत्ता भएको भोलीपल्ट कल्पना उर्मीलाको शव करिब पाँच सय मिटर दुरीमा फेला परेको थियो । सपनाका अवस्था भने अज्ञात रहेको थियो । तीन किशोरीहरु बाँफिकोट गाउँपालिका –३ निवासी पूर्णबहादुर ओली र निराजन ओलीका छोरीहरु हुन् । पूर्णबहादुर र निराजन एकाघरका सहोदर (माईलो र साँइलो) दाजुभाई हुनुहुन्छ । 

उर्मीला र सपना मुसिकोट नगरपालिका –१ मा रहेको त्रिपुरा माविका कक्षा ६ मा अध्ययरत थिए भने कल्पना स्थानीय जनविकास आविमा कक्षा ५ मा अध्ययनरत छात्रा हुन् । निराजनका चार सन्तान मध्य उर्मीला माईली र कल्पना कान्छी छोरी हुन् । निराजन रोजगारीको लागि भारतमा जानुभएको छ । पूर्णबहादुरका पनि चार सन्तान मध्य सपना कान्छी छोरी हुन् । उहाँ ज्यामी काम गर्नुहुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्