नेभिगेशन
समाज

चौरजहारीबाट बिरामी बोकेर गएको एम्बुलेन्समाथि आक्रमण

चौरजहारी नगरपालिकाद्वारा घोर भर्त्सना, दोषीमाथि कडा कारबाहीको माग

रुकुम पश्चिमको चौरजहारीबाट बिरामी बोकेर नेपालगन्जतर्फ गइरहेको एम्बुलेन्स माथि आक्रमण भएको छ । 

गएराती बिरामी बोकेर गएको सल्यान जिल्लाको कुमाख गाउँपालिकाको एम्बुलेन्समाथि अज्ञात समूहद्वारा आक्रमण भएको चौरजहारी नगरपालीकाले जनाएको छ ।

घटनाप्रति चौरजहारी नगरपालिकाले घोर भर्त्सना तथा आपत्ति जनाएको छ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालका अनुसार गए राति करिब ११ बजे सुर्खेतको भेरीगङ्गा नगरपालिका अन्तर्गत रामघाट/राताचौर क्षेत्रमा बिरामी र एक जना कुरुवा बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सलाई अज्ञात समूहले रोकी आक्रमण भएको हो । 

आक्रमणकारीले चालक वसन्त शर्मामाथि हातपात गर्नुका साथै एम्बुलेन्समा तोडफोड गरेको उहाँले बताउनुभयो। 

नगरपालिकाले जीवनरक्षक सेवाका रूपमा रहेको एम्बुलेन्समाथि भएको यस्तो अमानवीय र आपराधिक गतिविधि अत्यन्त निन्दनीय भएको जनाएको छ। “यस घटनाले समाजमा शान्ति, सुरक्षा र मानवीय मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ,” नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

घटनापछि सम्बन्धित निकायमा जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र प्रहरी प्रशासनलाई छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिइसकिएको पनि जनाइएको छ।

चौरजहारी नगरपालिकाले घटनाको निष्पक्ष तथा छिटो छानबिन गर्न, संलग्न दोषीहरूलाई कानुन बमोजिम कडा कारबाही गर्न, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न तथा नागरिकको शान्ति–सुरक्षामा थप प्रभावकारी व्यवस्था मिलाउन माग गरेको छ।

साथै, यस्ता घटना पुनः नदोहोरिन सबै सरोकारवाला निकायलाई गम्भीर ध्यानाकर्षण गराउँदै नगरपालिकाले नागरिकलाई पनि जिम्मेवार र सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्