नेभिगेशन
समाज

अब पितिबाङमा सास्ती छैन, खोला तर्न पैसा तिर्नु पर्दैन !

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ११ र १२ मा पर्ने पितिबाङ खोला भन्ने बित्तिकै “खोलामा बर्षौदेखि अलपत्र परेको पुल, बर्षायाममा खोलामा बढेको बाढी, अवरुद्ध यातायात, अलपत्र यात्रु, मोटरसाईकल बोकेर पैसा तिरेर वारपार गराएको” लगायतका क्षण सम्झनु हुन्छ होला । 

अब भने पितिबाङमा मोटरेबल पुल तयार भएको छ । राप्ती राजमार्ग अन्तर्गत पर्ने यो खोलामा पुल बनेपछि पैदल यात्री र यातायातका साधन आउजाउमा सहज भएको छ । केहिदिन देखि लगातार परेको पानीले खोलामा बाढी आएपछि अनौपचारिक रुपमा पुल सञ्चालन गरिएको छ ।  आजबाट यातायातका साधनहरु सहजै आवतजावत गर्न थालेका छन् ।

pitibang-pul-1751458638.JPG

यो पुल बनाउन सडक डिभिजन कार्यालय चौरजहारीसँग चितवनको ठेकेदार कम्पनी संरक्षण निर्माण सेवाले २०७६ साल असार ८ गते सम्झौता गरेको थियो । तर ठेकेदारको लापरबाहिले समयमा पुल बनेन । जिल्लाका जनप्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालय लगायतले ठेकेदार कम्पनीसँग पुल निर्माणको लागि गरेको  लगातार गरेको समन्वयपछि मुख्य ठेकेदार कम्पनीले पुल निर्माणको जिम्मा यति विल्डर्सलाई दिएको थियो । 

गत मंसिरमा कामको जिम्मा लिएको यति विल्डर्सले समयमै पुल तयार गरेको हो । मुख्य ठेकेदारले अलपत्र पारेको पुल यति विल्डर्सले व्यवहारिक रुपमा जिम्मा लिएर तयार गरेको हो । 

‘अब त पितिबाङ खोलाले दिदै आएको सास्ती हटेको छ,’ गैरसरकारी सस्था महासंघ रुकुम पश्चिमका अध्यक्ष भिमराज ओलीले भन्नुभयो, ‘अब त पुलबाटै आवतजावत सुरु भएको छ, यातायातका साधनहरु पनि पुलबाटै आउजाउ गरिरहेका छन् ।’ वर्षाको बेला खोला बढेतापनि पुल बाट यातायातका साधनहरु समेत चल्न थालेको उहाँले जनाउनुभयो । पुलको औपचारिक उद्घाटन हुन भने बाँकि छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज