नेभिगेशन
समाज
नीति तथा कार्यक्रम

चौरजहारी र सानीभेरीमा आर्थिक र सामाजिक विकासलाई जोड

शनिबार रुकुम पश्चिमका दुई स्थानीय तहले सामाजिक र आर्थिक विकासलाई जोड दिदैं आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम ल्याएका छन् । चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएका हुन् । 

चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीले नगरको आर्थिक र सामाजिक विकाससँगै पूर्वाधार विकास, वन वातावरण तथा विपत् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याईएको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक मन्दीको चुनौतीलाई पन्छाउँदै दिगो विकास लक्ष्य प्राप्त गर्न सामाजिक न्याय, समृद्धिसँगै शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी, मानव संसाधन विकास र नागरिक शिक्षाको प्रवद्र्धनलाई मुख्य प्राथमिकता दिइएको छ । 

नीति तथा कार्यक्रममा ‘बारीका पाटा र खेतका गरा : बनाऔँ सधैँ हराभरा’ भन्ने नाराका साथ खेतीयोग्य जमिन बाँझो राख्न नपाइने, गरिब घर परिवार पहिचान गर्ने, चौरजहारी विमानस्थललाई विस्तार गर्न पहल गर्ने कुरा उल्लेख गरिएको छ । चौरजहारीको नीति तथा कार्यक्रममा अन्य स्थानीय तहहरुसँग भगिनी सम्बन्ध विस्तार गर्ने, लगानी सम्मेलन आयोजना गर्ने, स्थानीय सडकलाई सहिदको नामबाट नामकरण गरिने र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।    

यसैगरी विद्यालय तहको शिक्षाको व्यवस्थापनका लागि नगर शिक्षा विकास कोष सञ्चालनमा ल्याउने र उक्त कोषमा जनप्रतिनिधि, कर्मचारी, शिक्षकले कम्तीमा एक दिनको तलब भत्ता योगदान गर्ने, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, शहीद परिवार एकाघरका सदस्यहरू, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू एवम् अति विपन्न व्यक्तिहरूलाई नगर बस तथा एम्बुलेन्स सेवा निःशुल्क गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले गाउँपालिकालाई विकास, सुशासन र समृद्धिको उच्च स्तरमा पु¥याउन चुनावमा गरिएको प्रतिविद्धताको कार्यान्वयन गर्ने गरी नीति कार्यक्रम निर्माण गरिएको बताउनुभयो ।  नीति कार्यक्रम मुख्य गरी आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना, उद्यमशीलता विकास, पुनर्निर्माण,  सुशासन र समुन्नतिको आधारमा केन्द्रित रहेको उहाँको भनाई छ । 

’समृद्ध सानीभेरीवासी : सुखी सानीभेरीवासी’ भन्ने मूल ध्येयका साथ नीति कार्यक्रम ल्याएको अध्यक्ष बिष्टले जानकारी गराउनुभयो । उत्पादनमा आधारित कृषि प्रणालीलाई व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, विकास निर्माणमा देखिएका कमीकमजोरीलाई सुधार गर्ने र गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्य प्रविधिमार्फत मानव विकासलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी उच्च प्रतिफल दिने ठुला विकास आयोजनाहरूमा संयुक्त लगानी गर्ने, चालु खर्चमा मितव्ययिता अपनाई पुँजीगत खर्चमा वृद्धि गर्ने र खानेपानी तथा सरसफाइको पहुँचमा पालिकावासीलाई आबद्ध गर्ने कार्यक्रमलाई पनि सानीभेरीले नीति कार्यक्रममा समावेश गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्