नेभिगेशन
समाज

भूकम्पको क्षति आकलनको काममा रुकुम पश्चिमका स्थानीय तहको आशंका

प्राविधिकलाई विश्वास गर्न प्राधिकरणको आग्रह

रुकुम पश्चिमका स्थानीय तहका प्रमुखहरुले जाजरकोट भूकम्पबाट भएको विस्तृत क्षति आकलन (डिडिए) को लागि भईरहेको कामप्रति आशंका व्यक्त गरेका छन् । हालसम्म पनि क्षति आकलनमै अल्झिएको, पुनर्निर्माणको सुरसार नगरेको र अस्थायी टहराको किस्ता नै भुक्तानी पाउन नसकेको भन्दै उनीहरुले विवरण संकलनमै शंका रहेको उल्लेख गरेका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको विपद् प्रभावितहरुका लागि निजी आवास विस्तृत क्षति आकलन, प्रमाणिकरण, प्रबलीकरण, पुनर्निमाण र पुनस्र्थापनासम्बन्धीको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो जनाएका हुन् । 

चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीले सबैभन्दा समस्यामा रहेका प्रभावितकै घरको क्षतिको आकलन नगरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुमा बढी प्रभावित परिवारहरुको लागि विभिन्न निकायको सहयोगमा अस्थायी टहरा बनायौ, तर प्राधिकरणले क्षति आकलनको विवरणमा ति घरहरु अहिलेसम्म समावेश गरेको छैन ।’ स्थानीय तहले लाभग्राही कायम गरेकाहरुको विवरण डिडिएमा नपरेको, जनताको संवेदनशीलता माथि लापरबाही भएको भन्दै उहाँले पुनर्निर्माण कार्यविधि पनि प्रभावितमैत्री नभएको उल्लेख गर्नुभयो । 

आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले क्षति आकलनको काम अन्तरबिरोध हुने खालको रहेको र यस कार्यमा स्थानीय तहको भूमिका शून्य बनाईएको बताउनुभयो । नगर प्रमुख केसीले खास पीडितहरुकै घरको डिडिए नभएकोेले शंका रहेको बताउनुभयो । 

कार्यक्रममा सानीभेरी गाउँपालिका प्रमुख बिर्खबहादुर बिष्टले भूकम्प गएको साढे १९ महिनासम्म पनि क्षति आकलन नहुनु र के कति घर बन्ने हुन् जानकारी नहुनुले शंका रहेको बताउनुभयो । उहाँले समयमै डिडिए नभएको र गाउँमा खटिएका प्राविधिको मुडका भरमा विवरण बन्ने अवस्था रहेको उल्लेख गर्नुभयो । 

त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसीले डिडिएको कामले सामाजिक द्वन्द्व निम्तिने खतरा रहेको उल्लेख गर्नुभयो । प्रभावित केहि परिवारहरु रोजगारीको लागि देश बाहिर गएको, छेउको एक घर पुनर्निर्माणमा पर्दा अर्काको छुट्ने अवस्था रहेको उहाँको भनाइ छ ।

त्यसैगरी बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले भूकम्प प्रभावितको बस्ने बास नै नभएको अवस्था ख्याल नगरेर काममा ढिलाई भईरहेको बताउनुभयो । 

उक्त कार्यक्रममा प्राधिकरणका सहसचिव अर्जुन कुमार बमले समयमै बजेट प्राप्त नहुँदा क्षति आकलनको काम ढिलाई हुन गएकोले अब नीजि आवास निर्माणका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभयो । विपद्लाई हेर्न माथिल्लो निकायको एङगल नै कमजोर रहेको उल्लेख गर्नुहुँदै उहाँले सबै तह मिलेर पुनर्निर्माण कार्य सफल पार्नुपर्ने र त्यसका लागि बजेट अभाव हुन नदिने बताउनुभयो । 

प्राधिकरणका उपसचिव ज्ञाननाथ ढकालले प्राधिकरणले परिचालन गरेका प्राविधिकलाई विश्वास गर्न अनुरोध गर्नुभयो । उहाँले चालु वर्षमा रुकुम पश्चिम र जाजरकोटका कम्तिमा ५० हजार घर पुनर्निर्माणका लागि सम्झौता गरेर पुनर्निर्माणको काम सुरु गर्न खोजेको स्पष्ट पार्नुभयो । क्षति आकलनको सम्पूर्ण काम एक हप्ताभित्र पुरा भईसक्ने उहाँको भनाइ छ । 

उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जिल्लामा भूकम्पले गरेको क्षति, अस्थायी आवास निर्माणको अवस्था लगायत विपद्को बेला जिल्ला विपद् व्यवसथापन समितिले खेलेको भूमिका र भएका प्रगती बारे जानकारी गराउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा कार्यबहाक जिल्ला समन्वय प्रमुख देबबहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर