नेभिगेशन
समाज

ओलीडेरामा निर्माणाधीन जेष्ठ नागरिक भवन अलपत्र

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ ओलीडेरामा निर्माणाधीन जेष्ठ नागरिक मिलन केन्द्रको भवन बजेट अभावको कारण तीन वर्ष देखि अलपत्र अवस्थामा रहेको छ । 

भवन निर्माणको लागि पुरा बजेटको व्यवस्था नहुँदा र निर्माण भएको संरचनाको सुरक्षा नहुँदा उक्त संरचना लथालिङग बन्दै गएको छ । सानीभेरी गाउँपालिका वडा नम्वर ९ का वडा अध्यक्ष शेरबहादुर खड्काका अनुसार कर्णाली प्रदेश सरकारबाट आर्थिक वर्ष ०७९/०८० मा बिनियोजन भएको ३० लाख बजेटबाट उक्त भवन निर्माण सुरु गरिएको थियो । उक्त बर्ष भवन निर्माणको काम सुरु भएको र करिब २२ लाख मात्र भुक्तानी भएको उहाँले जानकारी दिनुभयो । 

त्यसयता उक्त भवनमा बजेट थप भएको छैन । भवनमा पिलर, वाल र छत ढलानको मात्र काम भएको छ भने फिनिसिङको सम्पूर्ण काम बाँकि रहेको छ ।  चार कोठा, शौलाचय र बाथरुमसहितको उक्त भवन बजेटकै कारण अधुरो छ । वडा अध्यक्ष खड्काले निर्माणाधीन भवन अलपत्र परेपछि वडा कार्यालयको तर्फबाट आवश्यक बजेट माग गर्दै प्रदेश सरकार समक्ष पहल गर्दा पनि सुनुवाई नभएको मूलपाटीसँग बताउनुभयो । 

‘आर्थिक वर्ष ०८०/०८१ मा थप बजेट आउने आशा थियो, आएन’ वडा अध्यक्ष खड्काले भन्नुभयो, ‘०८१/०८२ मा पनि कहिकतैबाट बजेट आएन, हाम्रो माग सुनुवाई भएन ।’ आउनुपर्ने निकायबाट बजेट नआउने र वडा कार्यालयमा ठुलो बजेट नहुने भएकोले उक्त भवन चाहेर पनि पुरा हुन नसकेको उहाँले जनाउनुभयो । आगामी वर्ष भने उक्त भवन पुरा गर्न थप पहल गरिरहेको खड्काले बताउनुभयो । प्रदेश सरकारले बजेट बिनियोजन नगरेमा पालिकामा अनुरोध गरेर वडाकै बजेटबाट भएपनि उक्त भवन निर्माण पुरा गर्ने योजना वडाको रहेको छ । 

निर्माण अपुरो हुँदा उक्त भवन दुरुपयोग हुने गरेको छ । भवन भित्र स्थानीयले दाउरा, घाँस, पराल, मकैका डाँठ थन्काउने गरेका छन् । झ्यालढोकाविहिन यस भवनलाई आवश्यक बजेट व्यवस्थापन गरेर पुरा गर्न नसकिएमा सरकारी लगानी खेर जाने स्थानीयको भनाई छ । उक्त भवन निर्माण पुरा भएमा बहुउपयोगी हुने वडा कार्यालयले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले प्रदेश र संघीय सरकारले स्थानीय तहसँगको समन्वय बिना अपुरो बजेटका साथ योजना पठाउँदा कतिपय योजनाहरु अलपत्र रहेको बताउनुभयो । जेष्ठ नागरिक भवनसहित केहि खानेपानी योजनाहरु समेत बजेट अभावमा पुरा हुन नसकेको उहाँले जानकारी दिनुभयो । स्थानीय आवश्यकता तथा मागका केन्द्रित भएर समन्वयपूर्ण ढंगले माथिल्लो निकायले योजना र बजेट पठाउँन आवश्यक रहेको उपाध्यक्ष रोकाले उल्लेख गर्नुभयोे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज