नेभिगेशन
अर्थ/वाणिज्य
स्वरोजगार कोषको ऋण प्रकरण

रुकुमका सहकारीमा खैलाबैला, ऋणीको तीन पुस्ते विवरण सार्वजनिक गर्ने तयारी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट करोडौ कर्जा लिएर वर्षौसम्म साँवा, ब्याज र हर्जना नतिरेपछि सहकारी सञ्चालक लगायतको चल अचल सम्पत्ति रोक्का राखिएको बिषयले रुकुमका केहि सहकारीहरुमा खैलाबैचा मच्चिएको छ । 

आईतबार मूलपाटी अनलाईनमा स्वरोजगार कोषको दुई करोड नतिरेपछि रुकुमका ७ सहकारीका ८७ जनाको सम्पत्ति रोक्का शिर्षकमा समाचार प्रकाशन भएपछि केहि सहकारीहरुले ऋणीहरुलाई असुलीको लागि ताकेता गरेका छन् । 

मुसिकोट नगरपालिका –१ स्थित बलिदान जनकृषि सहकारी लिमिटेडले आईतबार नै सञ्चालक समितिको बैठक बोलाएर कर्जा लिएकाहरुलाई साँवा, ब्याज तिर्न दश दिने सूचना जारी गरेको छ । सहकारीका अध्यक्ष नरबहादुर खड्काका अनुसार संस्थाको कार्यक्षेत्र भित्रका शेयर सदस्यहरुलाई किस्ता बन्दीमा साँवा ब्याज भुक्तानी गर्ने शर्तमा रकम लगानी गरेको तर केहि ऋणी सदस्यहरुले भाका नाघ्दा पनि साँवा ब्याज भुक्तानी गरेका छैनन् । 

भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि अटेरी गरेकोले अन्तिम पटक सोमबार देखि दश दिनको भाका दिएर रकम तिर्न भनिएको छ । माघ २४ गतेभित्र आफूले तिर्नुपर्ने साँवा ब्याज नतिरेमा तिनपुस्ते विवरण सार्वजनिक गर्दै उनीहरुको चल अचल सम्पती रोक्का राख्ने, सरकारी सेवा सुविधा रोक्का गरी सरकारी सम्पत्ति मासेको कसुरमा कारबाहि अगाडि बढाउने निर्णय भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । 

जानकारी अनुसार यस सहकारीबाट ऋण लिएका ३६ जनाले करिब ४५ लाख रुपियाँ सहकारीलाई तिर्न बाँकि रहेको छ । यो सहकारीले २०७२ साल असार २८ गते कोषसँग ७५ लाख रुपियाँ कर्जा सम्झौता गरेर ७५ लाख रुपियाँ निकाशा लिएको थियो । त्यो मध्य साँवा, व्याज र हर्जना समेतको केहि रकम नतिरेपछि  तत्कालिन सञ्चालक समितिका सात जनाको ३२ कित्ता अचल सम्पत्ति मालपोत कार्यालयले रोक्का राखेको छ ।  

Messenger_creation_EC9BF05B-9ABD-4954-954A-182103CDEB6D-1738031916.jpeg
मसिकोट नगरपालिका –१ को हाम्रो बचत तथा ऋण सहकारी संस्थाका हालका उपाध्यक्ष पल बहादुर खड्काले समाचार प्रकाशनपछि सञ्चालक समितिले कर्जा लिएकाहरुसँग थप ताकेता गरेर कर्जा र ब्याज असुलीको प्रक्रियामा गएको बताउनुभयो । यो सहकारीले २०७२ असार २८ मा स्वरोजगार कोेषबाट ५२ लाख कर्जा लिदा सञ्चालक समितिमा रहेका ९ जनाको ३४ कित्ता अचल सम्पत्ति पनि रोक्का छ । 

यसैगरी चौरजहारी नगरपालिका –२ स्थित बिहानी बचत तथा ऋण सहकारी संस्थाका एक पूर्व सञ्चालक समिति पदाधिकारीले आफूलाई सहकारीले कोषबाट कर्जा लिएको बारेमा जानकारी नै नभएको बताउनुभएको छ । समाचार प्रकाशनपछि सोधिखोजी गर्दा मात्र जग्गा रोक्का भएको जानकारी भएपछि सहकारीको वर्तमान सञ्चालक समितिलाई ऋण असुल गर्न ताकेता गरेको उहाँले जानकारी दिनुभयो । यो सहकारीले कोषलाई करिब ५५ लाख तिर्न बाँकि छ । साँवा, व्याज र हर्जना समेत नतिरेपछि सञ्चालक समितिका १३ जनाको ७९ कित्ता सम्पत्ति रोक्का छ । 

चौरजहारी नगरपालिका –२ कै इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका तत्कालिन सञ्चालक समिति, लेखा र कर्जा उप समितिका १४ जनाको १२२ कित्ता सम्पत्ति,  सानीभेरी गाउँपालिका –३ को सानीभेरी जनप्रवाह कृषि सहकारी संस्था लि.का तत्कालिन १३ जना सञ्चालकको ४६ कित्ता अचल सम्पत्ति पनि गत वर्षदेखि नै रोक्का छ । 

यसैगरी सानीभेरी गाउँपालिका –५ स्थित असल कृषि सहकारी संस्था लि.का १६ जनाको ८२ कित्ता सम्पत्ति, आठबिसकोट नगरपालिका –८ दाँजेस्थित कुरेपानी कृषि सहकारी संस्था लि.का १५ जनाको १५५ कित्ता अचल सम्पत्ति पनि कोषले रोक्का राखेको जनाएको छ ।

मूलपाटीलाई प्राप्त विवरण अनुसार कोषसँग सम्झौता गरेर कर्जा ल्याउँदा सहकारी सञ्चालक, लेखा समिति र कर्जा समितिका पदाधिकारीहरुको चल अचल सम्पती धितो राखिएको थियो । कोषबाट ल्याएको उक्त कर्जा बिना धितो सहकारीका सदस्यहरुलाई दिँदा असुलीमा अटेरी भएको बताईन्छ । 

स्वरोजगार कोषको सचिवालयले कोषको रकम समयमा नतिरि नबुझाई बाँकि राखेको अवस्थामा कोष (सञ्चालन) नियामावली, कर्जा लगानी तथा असुली कार्यविधि, कोष र सहकारी संस्था बिच भएको कर्जा सम्झौता एवम् लिखत तमसुक बमोजिम सहकारीका पदाधिकारी तथा सदस्यहरुको नाममा भएको चल अचल सम्पति रोक्का गरिएको उल्लेख गरेको छ ।

कोषले उनीहरुको घरजग्गा कुनै पनि प्रकारको बेचबिखन, हक हस्तान्तरण र दान दातव्य समेत गर्न नपाउँने गरी रोक्का गरिदिन भनेर पत्राचार गरेपछि गत वर्ष नै सात सहकारीका ८७ जनाको ५५० कित्ता जग्गा मालपोत कार्यालयले रोक्का राखेको छ । 

लक्षित वर्गमा रकम लगानी गर्ने र नियमानुसार कोषलाई बुझाउने सम्झौता गरेर यी सहकारीले तीन करोड १४ लाख रुपियाँ कर्जा लिएका थिए । असुल उपर गर्नको लागि कोषको सचिवालयबाट पटक पटक मौखिक र लिखित ताकेता गर्दा पनि कोषमा रकम प्राप्त हुन नसकेकोले घर, जग्गा जमिन रोक्का गर्न गत भदौ पहिलो साता मालपोत कार्यालयलाई पत्राचार गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य