नेभिगेशन
अर्थ/वाणिज्य

स्वरोजगार कोषको दुई करोड नतिरेपछि रुकुमका ७ सहकारीका ८७ जनाको सम्पत्ति रोक्का

नगर प्रमुख र पालिका अध्यक्षकै अचल सम्पत्ति रोक्का

रुकुम पश्चिम । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट करोडौ रकम ऋण लिएर वर्षौसम्म नतिरेपछि रुकुम पश्चिमका केहि सहकारी सञ्चालक र कर्मचारीहरुको घर, जग्गा जमिन रोक्का गरिएको छ । 

मूलपाटीलाई प्राप्त विवरण अनुसार घर जग्गा रोक्का हुनेमा जिल्लाका सात वटा सहकारीका सञ्चालक, कर्जा र लेखा उपसमिति पदाधिकारी र सदस्यहरु रहेका छन् । यी सहकारीका ८७ जनाको ५५० कित्ता जग्गा मालपोत कार्यालयले रोक्का राखेको जनाएको छ । 

लक्षित वर्गमा रकम लगानी गर्ने र नियमानुसार कोषलाई बुझाउने सम्झौता गरेर यी सहकारीले तीन करोड १४ लाख रुपियाँ कर्जा लिएका थिए । तर हालसम्म साँवा, व्याज र हर्जना समेत तिरेका छैनन् । कोषलाई गत भदौसम्म मात्र दुई करोड १९ लाख ५४ हजार ५९६ रुपियाँ बुझाउन बाँकि छ । 

असुल उपर गर्नको लागि कोषको सचिवालयबाट पटक पटक मौखिक र लिखित ताकेता गर्दा पनि कोषमा रकम प्राप्त हुन नसकेकोले घर, जग्गा जमिन रोक्का गर्न गत भदौ पहिलो साता मालपोत कार्यालयलाई पत्राचार गरेपछि रोक्का रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोषबाट कर्जा लिएर बर्षौसम्म साँवा, ब्याज र हर्जना नतिरेका सहकारीका सञ्चालक, लेखा समिति र कर्जा उपसमितका संयोजक र सदस्यहरुको जग्गा, जमिन घरजग्गा रोक्का गरिएको हो । 

बलिदानले ५२ लाख ७६ हजार तिर्न बाँकि

कोषको सचिवालयका अनुसार मुसिकोट नगरपालिका –१ स्थित बलिदान जनकृषि सहकारी संस्था लि.ले २०७२ साल असार २८ गते ७५ लाख रुपियाँ कर्जा सम्झौता गरेर ७५ लाख रुपियाँ निकाशा भएको थियो । 

तर गत भदौ महिनासम्म मात्र ५२ लाख ७६ हजार ७४३ रुपियाँ कोषको सचिवालयलाई तिर्न बाँकि रहेको छ । यो सहकारीले साँवा, व्याज र हर्जना नतिरेपछि सञ्चालक समितिका सचिव तोक बहादुर खत्रीसहित सात जना सहकारी सञ्चालकहरुको ३२ कित्ता अचल सम्पत्ति रोक्का भएको छ । 

नगर प्रमुखकै सम्पत्ति रोक्का

मुसिकोट नगरपालिका –१ को हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्य बहादुर गिरी, उपाध्यक्ष महेन्द्र केसीसहित ९ जनाको ३४ कित्ता अचल सम्पत्ति पनि रोक्का छ । यस सहकारीले २०७२ असार २८ मा ५२ लाखकोे कर्जा सम्झौता गरी ५२ लाख नै निकासा लिएको थियो । 

यो सहकारीको पनि कर्जा भुक्तानी अवधि नाघेको छ भने कोषलाई बुझाउनुपर्ने रकम साँवा, ब्याज र हर्जना समेत गरेर आठ लाख ६० हजार ४९१ रुपियाँ तिरेको छैन । यो सहकारीको सञ्चालक समितिमा व्यवसायीहरु हुनुहुन्छ भने उपाध्यक्ष केसी मुसिकोट नगरपालिकाको प्रमुख हुुनुहुन्छ । 

चौरजहारी नगरपालिका –२ स्थित इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिक्रम बिष्टसहित सञ्चालक समिति, लेखा र कर्जा उप समितिका १४ जनाको १२२ कित्ता सम्पत्ति रोक्का भएको छ । यस सहकारीले २०७३ चैत १६ मा ५० लाखको कर्जा सम्झौता गरेर ५० लाख नै निकाशा लिएको थियो भने साँवा, व्याज र हर्जना समेत गरेर २९ लाख ७५ हजार ४७४ रुपियाँ कोषको सचिवालयलाई तिर्न बाँकि रहेको छ । 

यसैगरी चौरजहारी नगरपालिका –२ कै बिहानी बचत तथा ऋण सहकारी संस्थाले पनि कोषलाई ५० लाख ८० हजार १७२ रुपियाँ तिरेको छैन । यस सहकारीले २०७४ माघ २१ मा ५० लाखको कर्जा सम्झौता गरेर ५० लाख नै निकाशा लिएको थियो । साँवा, व्याज र हर्जना समेत नतिरेपछि सञ्चालक समितिका अध्यक्ष धनमाया गर्वुजा पुन मगर, उपाध्यक्ष कृष्णबहादुर रानासहित सञ्चालक समितिका सदस्यहरु, लेखा समितिका संयोजक र सदस्यहरु र कर्जा उप समिति संयोजक र सदस्यहरु गरेर १३ जनाको ७९ कित्ता सम्पत्ति रोक्का राखिएको छ । 

गाउँपालिका अध्यक्षको अचल सम्पत्ति रोक्का

सानीभेरी गाउँपालिका –३ को सानीभेरी जनप्रवाह कृषि सहकारी संस्था लि.ले पनि कोषबाट लिएको रकम, ब्याज र हर्जना तिरेको छैन । यो सहकारीले कोषलाई ४४ लाख ९० हजार २४६ रुपियाँ तिर्न बाँकि छ । कर्जा नतिरेपछि सहकारीका अध्यक्ष बिर्खबहादुर बिष्ट, उपाध्यक्ष भुपालसिंह ओली लगायत १३ जना सहकारी सञ्चालकको ४६ कित्ता अचल सम्पत्ति रोक्का भएको छ । यो सहकारीको नाममा रहेको जग्गा र घर समेत रोक्का छ । 

यो सहकारीले कोषसँग २०७२ साल चैत्र १७ गते ५२ लाख कर्जा सम्झौता गरेर ५२ लाख नै निकाशा भएको थियो । यो सहकारीका अध्यक्ष बिष्ट र उपाध्यक्ष ओली सानीभेरी गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्ष हुनुहुन्छ । 

यसैगरी सानीभेरी गाउँपालिका –५ स्थित असल कृषि सहकारी संस्था लि.का अध्यक्ष भुवन पुन, उपाध्यक्ष दल्जित बस्नेतसहित १६ जनाको ८२ कित्ता सम्पत्ति रोक्का भएको छ । यो सहकारीले कोषसँग २०७६ भदौ ३० गते ५० लाख रुपियाँ कर्जा सम्झौता गरेर २५ लाख रुपियाँ मात्र निकाशा लिएको थियो । उक्त रकम लक्षित वर्गमा लगानी गरेर कोषलाई समयमै बुझाउनुपर्ने सम्झौता रहेतापनि हालसम्म नबुझाएकोले साँवा, ब्याज र हर्जना समेत गरेर २४ लाख ३२ हजार ५९७ रुपियाँ तिर्न बाँकि रहेको छ । 

आठबिसकोट नगरपालिका –८ दाँजेस्थित कुरेपानी कृषि सहकारी संस्था लि.का अध्यक्ष भिमबहादुर महतरा, उपाध्यक्ष शशे बुढासहित १५ जनाको १५५ कित्ता अचल सम्पत्ति रोक्का रहेको छ । यो सहकारीले २०७४ चैत १५ मा २० लाखको कर्जा सम्झौता गरेर १० लाख मात्र निकाशा लिएको थियो । तर गत भदौसम्म साँवा, ब्याज र हर्जना समेत गरेर आठ लाख ३८ हजार ८७३ रुपियाँ नतिरेपछि सञ्चालक समिति, कर्जा समिति र लेखा उपसमितिका १५ जनाको घर जग्गा रोक्का गरिएको छ । 

कोषको रकम समयमा नतिरि नबुझाई बाँकि राखेको अवस्थामा कोष (सञ्चालन) नियामावली, कर्जा लगानी तथा असुली कार्यविधि, कोष र सहकारी संस्था बिच भएको कर्जा सम्झौता एवमु लिखत तमसुक बमोजिम सहकारीका पदाधिकारी तथा सदस्यहरुको नाममा भएको चल अचल सम्पति रोक्का गरिएको कार्यकारी निर्देशक अधिकारीले उल्लेख गर्नुभयो । 

कोषले घरजग्गा कुनै पनि प्रकारको बेचबिखन, हक हस्तान्तरण र दान दातव्य समेत गर्न नपाउँने गरी रोक्का गरिदिन भनेर पत्राचार गरेपछि गत भदौ महिनामा कानून बमोजिम प्रक्रिया अपनाईएको मालपोत कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

सम्पत्ति रोक्काको बिषयमा मुसिकोट नगर प्रमुख महेन्द्र केसीले आफूलाई जानकारी नभएको बताउनुभयो । पालिका प्रमुख हुनु अघि नै राजीनामा दिएको र हाल उक्त सहकारीमा आफू नरहेको उहाँले बताउनुभयो । केसीले सम्झौता अनुसार कर्जा तिर्नुपर्ने र यस सम्बन्धमा के भएको हो बुझेर समस्या समाधान गर्ने जनाउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य