झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चड पुलमै फसे

आइतबार, जेठ २७, २०८१

दैलेख । कर्णाली नदीमाथिको झोलुङ्गे पुलको एकातर्फका फलामे लठ्ठा चुँडिदा १४ वटा खच्चरहरु पुलमै फसेका छन् । आइतबार अछामबाट  दैलेखको खिड्की जीउला बजार सामान  ल्याउन आउँदै गरेका खच्चडहरु लट्ठा चुँडिएपछि जालीमा खुट्टा छिर्दा पुलमै फसेका हुन् । 

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४, खिड्की जीउला जोड्ने उक्त झोलुङ्गे पुल निकै पुरानो हो । इलाका प्रहरी कार्यालय राकमबाट अहिले घटनास्थलमा खटिनुभएका सहायक प्रहरी हवल्दार दीपक कठायतका अनुसार पुलका तीन वटा लट्ठा चुटेको छ । 

‘एकातर्फका लट्ठा चुटेर पुल अर्कोतिर फर्किएको छ, खच्चरका खुट्टा जालीमा पसरे अड्किएका छन्,उहाँले भन्नुभयो । उहाँका अनुसार १४ मध्ये नजिकै भएको एउटा खच्चरको उद्धार भएको छ भने अहिले १३ वटा खच्चर अड्किएको छन् । 

उद्धारका लागि राकमबाट ७ जना प्रहरी टोली, जिल्लाबाट प्रहरी, सशस्त्रको टोली आइरहेको छ भने अछामबाट पनि आइरहेको छ । कठायतका अनुसार उद्धार गर्न निकै समस्या छ । ‘कि पुरै जाली काट्नुपर्ने हुन्छ, त्यसो गर्दा पनि नदीमा खच्चर खसेर मर्ने सम्भावना हुन्छ,’उहाँले भन्नुभयो । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्