भेरी करिडोरको रिम्ना - तल्लुबगर सडकखण्डमा कालोपत्रे सुरु

यस आर्थिक वर्ष भेरी करिडोरको रुकुम पश्चिमखण्डमा कालोपत्रे भई सक्ने
सोमबार, जेठ १४, २०८१

भेरी करिडोर अन्तर्गत रिम्ना तल्लुबगर सडकखण्डमा कालोपत्रे गर्ने काम सुरु भएको छ । जाजरकोटको रिम्ना देखि रुकुम पश्चिमको आठविसकोट हुँदै जाजरकोटको तल्लुबगर क्षेत्रमा कालोपत्रेको काम सुरु भएको हो । 

उक्त सडकखण्डमा निर्माणको काम गरिरहेको यति विल्डर्स प्रा.लि.ले डिबीएस्टी प्रविधिको कालोपत्रको काम रिम्नातिरबाट धमाधम भईरहेको जनाएको छ । यति विल्र्डर्सका अध्यक्ष भिमराज केसीका अनुसार ४० किलोमिटर सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो । 

यस आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्रे भईसक्ने र आगामी वर्ष बाँकि भागमा कालोपत्रे गरिसक्ने अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष भेरी करिडोरको रुकुम पश्चिमखण्ड भने कालोपत्रे भईसक्नेछ । रिम्नादेखि आठविसकोटको चिसापानीसम्म कालोपत्रे सकिने अध्यक्ष केसीले उल्लेख गर्नुभयो । 

kalopatre-(2)-1716820633.jpg
रिम्ना तल्लुबगर सडक निर्माणको लागि भेरी करिडोर कार्यालयले श्रेष्ठ कन्ट्रक्सन हेटौडासँग एक अर्ब आठ करोड रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । सोहि काम अहिले यति विल्र्डर्सले सहायक निर्माण कम्पनीको जिम्मेवारी लिएर गरिरहेको हो । 

भेरी करिडोर सडकलाई त्रिदेशीय व्यापारिक पूर्वाधार सडकको रुपमा लिईन्छ । यो सडकखण्डले भारत, नेपाल र चिनलाई जोड्ने बताईन्छ । यो सडक जाजरकोट, रुकुम पश्चिम र डोल्पावासीको लाईफलाईनको रुपमा समेत चित्रण गरिन्छ । 

गत जेठ ५ गते यहि सडकखण्डको मुख्य निर्माण कार्य मानिएको तल्लुबगरमा बेलिब्रिज निर्माण भएर सञ्चालनमा आएको थियो । उक्त पुल पनि यति विल्र्डर्सले नै निर्माण सम्पन्न गरेको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्