महावीरकाे 'सम्झना, सपना र अविरल यात्रा’ पढेपछि...

सोमबार, वैशाख २४, २०८१
  • जि.एम. दिपु देपेन्द्र

महावीर पुनको पुस्तक प्रकाशन भए लगत्तै हो मैले एकजना पुस्तक पसलको साथीलाई अरु पुस्तक सँगै मसम्म पुर्याईदिन भनेको । तर, त्यतिबेला पुस्तक ति साथीको पसलमा रहेनछ । मेरो हातमा परेन ।

३० वर्ष वन्द भएको विरगन्ज कृषी औजार कारखानाको पुन:सन्चालन गर्ने जस्तो सुन्दर उद्देश्य राखेर लेखिएको, राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने एउटा महान योद्दा, वैज्ञानिक महावीर पुनको जीवनी पुस्तक जसरी हुन्छ, जहाँबाट हुन्छ एक न एकदिन किनेर म पढ्ने वाला नै थिए । यसै पनि मासिक दुई तिन वटा पुस्तकहरु निरन्तर पढ्ने एक पाठक हुँ । 

महावीर पुनको पुस्तक खोजीरहेकै बेला केही समय अगाडी दिउसोँ तिन चार बजे तिर दांगको तुल्सिपुर चोकैमा स्वयंम महावीर पुनलाई भेट्ने सौभाग्य मिल्यो । टेलिभिजन र सामाजिक सन्जालहरुमा देखेको/हेरेको जस्तै ढाँका टोपि, पुरानो आस्कोट, भेस्ट, सुरुवाल र

चप्पलसँग पुस्तक समाएर चोकमा उभिएको देखेपछी उहाँ महावीर पुन नै हुनुहुन्छ भनेर एकिन गरे । मलाई थाह थियो कि महावीर पुन आफै पुस्तक बेचेर पुर्व पश्चिम दौडिरहनुभएको छ भन्ने । तर यो चाँही थाह थिएन कि आज तुल्सिपुरमा पुस्तक बेच्ने समय हो । जेहोस्, अण्डा खोज्दा अण्डा दिने कुखुरा नै भेटेजस्तो खुसी महसुस भयो ।

स्पिडको मोटरसाईकलमा अलि अगाडी निक्लेको म फेरी मोटरसाईकल साईड लगाएर पुनको पुस्तक लिन पछाडी फर्के । एउटा पुस्तक हस्ताक्षर गराएर लिए, पुस्तकको मुल्य दिए र एक दुई थान तस्विर लिए । उहाँसँग तस्विर लिने मौका गुमाउनु थिएन मलाई । बेलुका पुनसँगको फोटो फेसबुकमा राखेर पोस्ट सियर गरे ।

पोस्ट सियर गरेपछी केही साथिहरुले मलाई पनि पुस्तक ल्याईदिनु, पुस्तकको पैसा जति भएनी दिन्छौ भन्दै फोनसम्म गर्न भ्याऊनुभयो । ओहो, मैले त एउटा मात्र लिएको थिए जो आफैलाई पढ्न र राख्न ठिक्क थियो । अनि महाविर भोलिपल्ट घोराही पुस्तक बेच्न हिड्ने समयतालिका फेसबुकमा लेखिईसकेको थियो । मैले तर पनि साथीहरुलाई हुन्छ पस्तक ल्याईदिन्छु भनिसकेको थिए । साथिहरुलाई ल्याईदिन्छु भनेकोले अर्को विकल्प रोजे, अनलाईन अर्डर जाजरकोटमै । 

म तुल्सिपुरबाट जाजरकोट फर्के । मेरो कार्यालयको एकजना स्टाफ अमर दाजुले म पुगेको भोलिपल्ट देखि नै पुस्तक माग्न थाल्नुभयो, पैसा निकाल्न थाल्नुभयो । रिटायर लाईफको नजिक पुगेका उहाँलाई ३० वर्ष बन्द भएको विरगन्ज कृषी औजार कारखानाको पुन:सन्चालन गर्ने जस्तो सुन्दर उद्देश्यमा अप्रत्यक्ष सहयोग गर्न पाउने लोभले मेरो फेसबुक पोस्ट पढेपछी धेरै मात्रामा छोएको रहेछ ।

मैलेँ त्यसैले हाँसी हाँसी महावीर पुनको हातबाट हस्ताक्षर गराएर लिएकै पुस्तक उहाँलाई दिए । ढल्कदो उमेरले छोईसकेका, र मैले बुझेसम्म पुस्तक पढ्ने रहर कम भईसककेका उहाँले त्यो दिन त्यो पुस्तकमा गातासम्म हालेर खुसिले दंग पर्नुभयो ।

मैले जिस्काएको थिए 'दाजु, कहिल्यै पुस्तक नपढेको, बच्चाबच्ची जस्तो गाता हाल्नु भयो त ??' उहाँले त्यतिबेला भन्नुभएको थियो 'सुरक्षित राख्छु यो पुस्तक घरमा लगेर छोराहरुलाई पनि पढ्न लगाउनुछ ।'

एउटा दुखद कुरा उहाँ नयाँ वर्ष तिर दैलेख घर जानुभएछ । घर गएकै बेला उहाँलाई प्रेसरले हानेछ । अप्रेसन सफल भएपनि उहाँ अहिले पहिला जस्तो होसमा आऊने, हिड्ने, राम्रोसँग चल्ने बोल्ने मामलामा असमर्थ हुनुहुन्छ । सहयोग गर्नुपर्छ भनेर, मैले आफ्नै कार्यालयको स्टाफको नाताले पनि एघार हजार एक सय एघार उहाँलाई पठाईदिएको थिए । कार्यालयका अरु स्टाफहरु लगायतबाट पनि सक्दो सहयोग गर्ने कोशिस गरेका थियौँ ।

मलाई उहाँलाई प्रेसरले हानेको खबर सुन्दा पनि एक पटक त्यही महावीर पुनको पुस्तक दिमागमा आएको थियो । र अहिले पनि त्यही पुस्तकको कुरा दिमागमा आउछ । साँच्ची उहाँले त्यो पुस्तक पढेर सकाउनु भयो होला कि नाई, अनि छोरालाई पढ्न लगाउनु भयो होला कि नाई ? तर यति कुरामा चाँही म ढुक्क छु कि, उहाँले अन्तिम पटक किनेर समाएको पुस्तक महावीर पुन नै हो । उहाँलाई पुर्ण स्वस्थताको शुभकामना यहाँ पनि दिन चाहन्छु । पुर्ण रुपमा स्वस्थ भएर उहाँ आएपछी म उहाँलाई महावीर पुनको पुस्तक कस्तो लागेको थियो भनेर सोध्नेछु नै । 

यसरी महावीर पुनको हातबाटै लिएको पुस्तक मैले पढ्न पाएन । तर केही दिनपछी मैले अर्डर दिएका केही थान महावीर पुनहरु जाजरकोट पुगे, म सम्म पुगे । केही थान महावीर पुन तिनै ल्याईदिनु भनेका साथिहरुलाई दिएपछी, आफ्नो लागी एक थान लिएर पढ्ने धुनमा लागे । पछिल्लो समय आफ्नै व्यस्तताले पुस्तक हात परे पनि पुस्तक पढ्ने समय मिलेन । र अलि ढिलो गरेर पुस्तक भित्र छिरे ।

तर ३०६ पृष्ठको पुस्तक मात्र तीन दिनको छोटो छोटो बसाईमै सकाए । कारण थियो पुस्तकले निरन्तर आफुतिर तानिरहन सक्नु । मलाई धेरै साथिहरुले भन्नुभएको थियो । पुस्तक पढेर कस्तो रहेछ भन्नुहोला, लेख्नुहोला । मलाई यसै पनि नयाँ पुस्तक पढेपछी त्यसको विषयमा केही लेख्न मन लागीहाल्छ । त्यसमाथी झन मन परेको पुस्तक पर्यो भने छुटाउने कुरा भएन ।

निरन्तर पुस्तकको विषयमा सियर गर्दा कत्ति न यसले मात्रै पुस्तक पढ्ने जस्तो गर्छ भन्ने कुरा पनि आऊला भनेर सकेसम्म लेखेको कुरा आफुले फुर्सतमा सर्सर्ती हेरेर पुनर्ताजगी लिने प्रयोजनमा राख्छु । महावीर पुन पुस्तक पढीसकेपछी भने केही लेखेर सियर गर्न मैले आफुलाई रोक्नै सकिन् । पुस्तकको विषयमा यसैले यहाँ केही लेखिरहेको छु । यो लेखनले महावीर पुन पुस्तक कस्तो छ भन्नुहुने हजुरहरुको केही कौतुहलता र मलाई पछिसम्म यस पुस्तकको विषयमा पुनर्ताजगी दिन सहयोग गर्नेछ । 

म्याग्दी जिल्लाको एउटा सानो नाङ्गी गाँऊमा जन्मिएर बच्चामा बाजेको भेडीगोठमा सम्म काम गरेको तर कालान्तरमा विश्वका अधिंकाश देशहरुमा पुगेर आफ्नो छाप छोडिसकेको, एउटा जिद्दी स्वभावको, हठ्ठी, एकसुरे योद्दाको आत्मकहानी हो यो पुस्तक । महावीर पुन कुनै स्थापित लेखक हैनन् तर पनि पुस्तकको भाषा शैली पनि मिठो र सलल बगेको छ । हुन त यसमा उनले भाषा शैली सम्पादनमा अरु सहकर्मीहरुको साथ लिएका होलान्, तर लेखन उठान देखी समापनसम्मको यस्तो क्रमबद्द मिठास भर्न उनी बिना असम्भव नै छ ।

मैले महसुस गरेको कुरा यो हो कि, महावीर पुनको आत्मकथा अरु कसैले लेखेको हुन्थ्यो भने यो स्तरको राम्रो हुने गरी लेखिएको हुन सक्दैन थियो । हुन्थ्यो होला अरु कसैले लेखे, कल्पनाशिलता र लेखनशैली शिल्पी यसभन्दा मिठो तर, उहाँलाई उहाँले आफै लेखे जसरी अन्तर जीवनमा पुगेर लेख्न अरुले बिल्कुल सक्ने थिएनन् । 

महावीर पुन, पुस्तकको उठान पुस्तक लेखिनुको विषय प्रसंग देखी सुरु भएर बाल्यकाल हुदैँ अगाडी बढ्छ । सानोमा पढ्नको लागी यो ठाँऊ र त्यो ठाँऊ गर्दै कुदिरहेका महावीर अमृत साईन्स कलेजसम्म पुग्नुका किस्साहरु पिडा र संघर्षले भरिपुर्ण छन् । एउटा सरकारी स्कुलमा पढेको युवाले अंग्रेजी माध्यमको पाठ्यक्रममा सोचे जस्तो अंक ल्याउन नसक्दा ईन्जिनियर पढ्न बिदेश जान नसकी शिक्षकका रुपमा जागीरे जीवन अंगाल्नु परेको कुराले त्यस समय काललाई चित्रण गर्दछ ।

आत्मकथा लेखन गर्नुको कारण र निर्णयबारे महाबिर पुन लेख्छन्, "मैले अहिलेसम्म पैसा कमाउने कुनै काम नगरेको, साथीहरुको सहयोगमा दैनिक खर्च चलाएको र बुढेसकालको लागी कुनै सम्पत्ति नजोडेको हुनाले सत्तरी वर्ष उमेर काटेपछी बिस्तारै जीवनकथा लेखुँला र त्यसैलाई बेचेर जीवन धानुँला भन्ने मेरो सोच थियो । तर परिस्थितिले गर्दा त्यो सोच बदल्नु पर्ने भयो र अहिले नै किताब लेख्नुपर्ने अवस्था आयो । किनभने मेरो आफ्नै आवश्यकता भन्दा मातृभूमिको आवश्यकता हजारौँ गुणा ठुलो देखेँ ।" 

शिक्षक भएर १३ वर्ष काम गर्दै गर्दा एउटा सिडीओसँगको बिद्रोहमा रिसको झोकले जागीर छोडेर अमेरिका पढ्न जाने नयाँ मोड आऊदै गर्दा, महाविर सधैँ आफ्नो कर्तव्यमा ईमान्दार र कसैको चाकडी चाप्लुसी नगर्ने स्वभावको थिए भन्ने बुझिन्छ । अमेरिका पढाईको छात्रवृत्रीको लागी निल आर्मस्टंग देखी कैयौँ प्रतिष्ठीत व्यक्तिहरु, र सयौँ कलेज र विश्वविद्यालयहरुलाई पत्र लेख्दै एक डेढ वर्ष बढी समय टोफेल तयारी गर्दै पुस्तकालयहरुमा भौतारिएका महाविर अन्तत अमेरिका छिरेरै छोड्छन्, त्यो पनि छात्रवृत्रीमा ।

टिकट खर्च सम्मको जुगाडमा मुस्किलले अमेरिका पुग्न सफल महावीरले पढाईमा पनि निरन्तर टप्दै जान्छन् । जहाँ निरन्तर एकचित्त भएर मेहनत गर्दा मिल्न सक्ने सफलताको एउटा ऐना देखिन्छ । पुस्तक पढ्दा कुनै न कुनै रुपमा पुस्तकले पाठकलाई यस्तै सकारात्मक प्रेरणा दिने, नथाकेर निरन्तर आँट र हौसला जगाउने काम गरिरहन्छ । पुस्तकमा लेखिएको महावीरको आत्मकथाले कुनै पनि परिस्थितिमा कुनै पनि हालतमा हरेस नखाएर अगाडी बढ्ने प्रेरणा जगाऊछ । 

पढाई सकेर देश फिरेपछी महावीर पुन अर्को मोडमा पुगेको भन्छन् । अमेरिकाको राम्रो कमाई हुने जागीर र सुखसयल छोडेर उनि आफ्नो मातृभुमीमा सेवा गर्न थाल्छन् । अमेरिकाबाट फर्केपछी गाँऊ पुगेर गाँऊमा स्कुल बनाउने कुरा देखी लिएर स्कुलका निम्ती अर्थोपार्जन गर्न विभिन्न प्रयासहरु गर्ने, स्वास्थ्य सेवाका लागी प्रयासहरु गर्ने, माईक्रो हाईड्रो सन्चालन गर्ने, पर्यटन विकासका लागी विभिन्न प्रयासहरु गर्ने, हुदैँ गाँऊमा टेलिफोन र ईन्टरनेट ल्याउनेसम्मका किस्साहरुमा उनको भुमिका शब्दमा बयान गर्न नसकिने छ ।

उनि आफैले ठाँऊ ठाँऊमा लेखेको छन्, यस विषयमा थप लेख्दै जाने हो भने एउटा छुट्टै पुस्तक हुन जान्छ । उनले गरेका प्रयासहरु र सफल कार्यहरुले एकछिन जस्तोसुकै अल्छि होस् तर सोच्न बाध्य बनाउछ । कि, मैले देशको लागी के के सम्म गर्न पर्ने रहेछ, या मैले के गरेर फगत समय गुजारीरहेको रहेछु, या म किन केही यस्तै राम्रा प्रयासहरु गर्न नखोजुँ । 

पुस्तकमा दुर्गम गाँऊहरुलाई ईन्टरनेटसँग जोड्न महावीरले चालेका कदमहरु, र भोगेका समस्या र चुनौतीहरुले आंग सिरिंग बनाउछन् । त्यसपछीका सफलता र पुरस्कार पदक सम्मानहरुले लोभ्याउछन् ।

पुरस्कारको विषयमा जहाँ महावीर लेख्छन् 'बिना कुनै स्वार्थ मानव समुदायलाई सहयोग हुने र फाईदा हुने सामाजिक र सामुदायिक कामहरु गरिरह्यो भने राष्ट्रिय र अन्तराष्ट्रिय पुरस्कार, सम्मान र पदकहरु आफै पछ्याउदै आउँछन् । पुरस्कार, पदक र सम्मान पाउन मरिहत्ते गर्नु पर्दैन ।' पुस्तकमा महाविरका यस्ता सुन्दर विचार, कल्पना र अभिव्यक्तिहरु भरिभराऊ छन् ।

उनले हाम्रो ईतिहास र आजलाई पनि तुलना गरेर आफ्ना धारणाहरु राखेका छन्, बिदेशहरु र स्वदेशलाई तुलना गरेर पनि, । जुन उनले पुस्तकमा राखेका धारणाहरु, सुझाब सल्लाहहरु, बिचारहरु एकदमै मननिय छन् । यसो गर्न सके हुन्थ्यो भनेर धेरै ठाँऊमा उनले सुन्दर दिशानिर्देश गरेका छन् ।

महावीरले आफ्ना असफलताका कुराहरुबाट पनि सिकाउने भरपुर कोसिस गरेका छन् । आफुले देश बिदेश, विभिन्न विश्वविद्यालय, संघ संस्थाहरु, व्यक्तित्वहरु जोडिएर बुझेका, गर्न हुने नहुने, गर्न सकिने नसकिने कुराहरु खुलाएका छन् पुस्तकमा । सिर्जनशिल र चलायमान हुन खोज्ने व्यक्तिहरुका लागी यो पुस्तक एकदमै उपुयुक्त पुस्तक छ । 

समयक्रमसँगै देशको थप चिन्ता र चासोमा फसेका महावीरलाई नेपालको अर्थतन्त्र कमजोर हुनुका विविध कुराहरुमध्ये एउटा महत्वपुर्ण कारणमा काम गर्न मन लाग्छ । त्यो थियो -अनुसन्धान, नवप्रवर्तन र आविष्कारको कमी । महावीर अन्तत यही क्षेत्रमा लाग्छन् । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्छन् ।

पुस्तकमा यो आविष्कार केन्द्रको स्थापना गर्न भोग्नु परेका बाधा अड्चन र चुनौतीहरु पनि बुझ्न पाईन्छ । सरकारले एउटा सिर्जनशिल विचार बोकेको मान्छेलाई कसरी आलटाल र निरुत्साहन गर्दो रहेछ भनेर यस पुस्तका सरकारको नांगो चरित्र पनि देखिन्छ ।

माथिल्लो तहका नेता तथा कर्मचारीहरुले पाँच वर्षसम्म सिंहदरबार, संसदभवन तथा निजीभवनहरुमा दौडधुप मात्रै गराएर पनि निराश नभई अर्को बाटो पकडेर राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्न सक्षम महावीर पुनले देशको ईतिहास, राजनीती, प्रवृत्ति सबैलाई छोएर लेखेका छन् । बुझ्न सकिन्छ कि, उनले पुस्तकमा उल्लेख भएभन्दा अझ धेरै दु:ख पाएका थिए शाशकहरु बाट तर सबै उल्लेख गर्न उनलाई सजिलो थिएन र छैन । 

जनताहरुको दानबाट सुरु भएको राष्ट्रिय आविष्कार केन्द्रले गरेका कार्यहरु, र गर्ने, गर्न खोजिरहेका कार्यहरु बारे पनि पुस्तकमा खुलस्त लेखिएको छ । कोरोनाकालमा आविष्कार केन्द्रले निभाएको महत्वपुर्ण भुमिकाबारे पनि उल्लेखित छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागी सरकारसँग महावीरले गरेका आन्दोलन र कदमहरुसँगै तिनका प्रभावहरु बारे पनि प्रकाश पारिएको छ ।

यो पुस्तकको मुल उद्देश्य पुस्तक बेचेर ३० वर्ष बन्द भएको विरगन्ज कृषी औजार कारखानाको पुन:सन्चालन गर्दै, भविष्यमा राष्ट्रिय आविष्कार केन्द्रलाई आत्मनिर्भर गराउने थप प्रयासहरुबारे पनि यसमा लेखिएको छ । पुस्तक एकदमै पठनिय छ । महावीरलाई चिन्ने तर उनको परिवारीक कुराहरुबारे बेखबर म जस्तै मान्छेहरुलाई अन्तमा उनले आफ्नो केही पारिवारीक कुराहरुबारे जानकारी पनि गराएका छन् । 

सारांशमा भन्दा पुस्तक विरगन्ज कृषी औजार कारखानाको पुन:सन्चालन गर्न सहयोगकै लागी मात्र नभएर साँच्चिकै पठनको लागी योग्य छ । पुस्तकमा मैले छोटोमा उल्लेख गरेका माथीका विषय प्रसंगहरु बाहेक अझ धेरै कुराहरु छन् । प्रत्येक पृष्ठ पृष्ठमा सम्झना, सपना र संघर्षका अविरल यात्रा कहानीहरु छन् । र जति छन् सबै एकदमै पठनिय छन् । म सबैलाई एकपटक अवश्य पठन गर्न सिफारिस गर्दछु, "- महावीर पुन - सम्झना, सपना र अविरल यात्रा ।"

- २०८१/०१/१८

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोडिए पाइला, छोडिए सम्झना
सोमबार, वैशाख २४, २०८१