इलाम- २ मा एमालेका सुहाङ विजयी, रास्वपाको जमानत जफत

मंगलबार, वैशाख १८, २०८१

इलाम क्षेत्र नम्बर २ काे उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ  २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२    मत प्राप्त गर्नुभएको छ।

प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग पनि खड्का ११४ मतले पराजित हुनुभएको थियो । 

सुहाङसँगै चुनावी मैदानमा रहनुभएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात् ११ हजार ४५७ मत   पाउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो हुनुभएको छ ।  

उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाउनुभएकाे छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत (धरौटी) जफत भएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्