ढोरपिपलमा वर्थिङ सेन्टर उद्घाटन

सोमबार, वैशाख १७, २०८१

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ७ स्थित ढोरपिपल शहरी स्वास्थ्य सेवा केन्द्रमा एक कार्यक्रमका बीच वर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले सोमबार एक कार्यक्रमका बीच वर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो । 

नगर प्रमुख बुढाथोकीले नगरपालिकाको वडा नम्वर ७, ८, ९, १०, ११ र १२ गरि पाँच वटा वडाको विच केन्द्रमा पर्ने ठाउँ भएकोले यस क्षेत्रमा वर्थिङ सेन्टरको उद्घाटन गरिएको बताउनु भएको छ । उहाँले सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यमा वर्थिङ सेन्टरले प्रभावकारी सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सुत्केरी सेवा सुरक्षित नहुँदा अकालमा महिलाले ज्यान गुमाउने पर्ने, घरमा नै असुरक्षित सुत्केरी हुनु पर्ने बाध्यतालाई ध्यानमा राखेर शहरी स्वास्थ्य केन्द्रमा वर्थिङ सेन्टर राखिएको हो । यसअघि उक्त सेवाका लागि गर्भवती महिलाहरु जिल्ला अस्पताल, सल्लीबजार, सुर्खेतको मेहेलकुना जानुपर्ने बाध्यता रहेको थियो । अब भने उक्त बाध्यता हटेको छ । 

आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको शहरी स्वास्थ्य सेवा केन्द्रमा अब प्रसूति सेवासमेत प्रदान गर्ने स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलको भनाइ छ । स्वास्थ्य सेवा केन्द्रबाट सेवा सुरु भएसँगै मातृ र शिशु मृत्युदर कम हुने र होम डेलिभरीलाई शून्यमा झार्न जोड दिईने नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर घर्ती, वडा नम्वर ७ का वडा अध्यक्ष जीवन सिंह ठकुरी, वडा नम्वर ११ का अध्यक्ष विरबहादुर बुढामगर लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्