सल्यानमा बर्षौदेखि राहत शिक्षकको दरबन्दी रिक्त

सोमबार, वैशाख १७, २०८१

सल्यानको एक विद्यालयमा शिक्षक भर्नाको लागि विज्ञापन गरेको पाँच वर्ष बितिसक्दा पनि शिक्षक नियुक्त गर्न सकिएको छैन । 

बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ मा रहेको सरस्वती प्राथमिक विद्यालय फुर्केसल्लीमा राहत दरबन्दी भएको पाँच वर्ष र विज्ञापन गरेको दुई वर्षसम्म शिक्षक नियुक्ति हुन नसकेको हो । २०७६ साल भदौ देखि खाली रहेको राहत शिक्षक कोटामा अहिले सम्म शिक्षक नियुक्ति हुन सकेको छैन । 
राम्रालाई भन्दा हाम्रालाई खोज्दा शिक्षक नियुक्तिमा ढिलाइ भएको स्थानीयले बताएका छन । एक स्थानीयका अनुसार शिक्षक राख्ने तयारी गर्ने तर  आफ्ना मान्छे नहुने भएपछि परिक्षा नै नराउने गरिएको छ । 

उक्त विद्यालयमा रिक्त राहत शिक्षक दरबन्दी पााच वर्ष अघि रिक्त भएको थियो । पदपूर्तिको लागि दुई वर्ष अघिमात्र विज्ञापन खोलिएको थियो । उक्त पदका लागि दरखास्त दिएका केही परीक्षार्थीहरु विदेश गैसकेका छन् भने केहीले स्थायी जागीर खाइसकेका छन् ।

तर पनि आफ्ना मान्छेलाई नहुँदा अझैपनि शिक्षक भर्ना गर्न कुनै चासो छैन । नयाँ शैक्षिक शत्र सुरु भएपछि भने स्थानीयले शिक्षक भर्ना हुने आशा राखेका छन् ।  

यसैगरी बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर १ मा रहेको भैरवी निमावि बेलखोलामा पनि एक वर्ष देखि राहत शिक्षक नियुक्ति हुन सकेको छैन ।
त्यस्तै बालज्योती प्रावी बनगाड कुपिण्डे नगरपालिका ३ पाट्के, बासुका प्रावी बनगाड कुपिण्डे नगरपालिका २ फल्तेपानी र श्री कुपिण्डेश्वरी प्रावी बनगाड कुपिण्डे नगरपालिका वडा न ८ चारखुवामा  विगत २ वर्ष देखि कार्यालय सहयोगी विज्ञापन खोलेर परीक्षा हुन सकेको छैन ।

यस वर्ष अभिभावक शुल्कका नाममा यस नगरपालिका भित्रका माध्यमिक तथा आधारभूत गरि १७ वटा विद्यालयमा मनोमानी शुल्क अशुल्दा समेत स्थानीय सरकार मौन बसेको बताईन्छ । नगरपालिकाले शिक्षा क्षेत्र आफ्नो पहिलो प्राथमिकता हो भन्दै प्रत्येक वर्ष २ करोड बजेट विनियोजन गरेपनि अहिले सम्म कार्यान्वयन गरेको छैन ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्