ठाँटिखोला र मन्मै जोड्ने पुलको काम तिब्र

शुक्रबार, वैशाख १४, २०८१

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –९ को ठाँटिखोला र जाजरकोटको नलगाड नगरपालिका मन्मैस्थित ठुलीभेरी नदिमाथि पक्कि पुल निर्माणको काम तिब्र रुपमा भईरहेको छ । 

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतको १३ करोड ७० लाखको लागतमा ठाँटिखोला पुल निर्माणको काम भईरहेको हो । उक्त पुल निर्माणको ठेक्का सपना निर्माण सेवा प्रा.लि.हेटौडाले पाएको छ ।

निर्माण कम्पनीका प्राविधिक सिर्जन बर्तौलाका अनुसार ६२.५ मिटर प्रिसेस प्रविधि, २५ मिटर नर्मल स्लाब र ११ मिटर चौडाई भएको उक्त पुलमा तीन वटा पिल्लर बन्नेछन् । आर्थिक वर्ष ०७९÷८० मा ठेक्का खोलिएको यो पुल निर्माणको समयावधी तीन वर्ष तोकिएको छ । तोकिएकै समयमा पुल निर्माण गर्ने गरेर काम भईरहेको प्राविधिक बर्तौलाले बताउनुभयो । 

निर्माणधिन उक्त पुलको आठविसकोट नगरपालिका प्रमुख रबि केसी, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका प्रमुख जगदिश शर्मासहितको टोलीले अनुगमन समेत गरेको छ । अनुगमन टोलीले समयमै गुणस्तरिय काम गर्न निर्माण व्यवसायीलाई अनुरोध गरेको छ ।

यो पुल निर्माण भएमा रुकुम पश्चिम हुदै डोल्पा जोड्ने सडकको दुरी छोटिनुका साथै स्थानीयलाई आवाजजावतमा सहज हुने बताईन्छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्