चुन्बाङ जोड्ने चार पुलको एकैसाथ उद्घाटन

बुधबार, वैशाख १२, २०८१

रुकुम पूर्वको भूमे गाउँपालिका ९ चुन्बाङ गाउँ जोड्ने चारवटा पक्कि पुलहरुको एक साथ उद्घाटन गरिएको छ । 

बुधबार रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर घर्तीले रिवन काटेर पुलको उद्घाटन गर्नुभएको हो । उहाँले चुन्बाङ (बञ्चरे खोला) सडक पुल, च्याङचुङ खोला (लङजुला) सडक पुल, च्याङचुङ खोला (लाखर) सडक पुल र च्याङचुङ खोला (च्याङचुङ) सडक पुलको उद्घाटन गर्नुभएको हो । 

पक्की पुल उद्घाटन गर्नुहुँदै प्रतिनिधी सभा सदस्य घर्तीले तोकीएको समयमै पुल बनाएर निर्माण कम्पनीहरुले राम्रो काम गरेको बताउनुभयो । यस कार्यले सकारात्मक सन्देश प्रवाह हुनका साथै जनताले सहज सेवा पाउने उहाँले उल्लेख गर्नुभयो । उहाँले अन्य स्थानमा सुस्त गतिमा निर्माण कार्य भइरहेका आयोजनाहरुलाई समयमै पुरा गर्न आफू लागि पर्ने बताउनुभयो । उहाँले सबैभन्दा पहिला जिल्लाको ३१ वटै वडाका हरेक गाउँहरुमा सडक सञ्जाल पुर्याउन आवश्यक रकेको बताउनुभयो । 

f3fa012d-7991-42df-bd8c-23c34ffd448c-1713969540.jpeg
विकट गाउँ मानिने चुन्बाङ गाउँमा एकैपटक चार वटा पक्की पुल निर्माण भएपछि भूमे गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम रुकुमकोटसम्म सहज यातायात सेवा हुने भन्दै चुन्बाङवासीहरु खुसी भएका छन् । 

उक्त चारवटा पक्की पुलहरु सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वले निर्माण गरेको सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख थम प्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षको चैत महिनामा चार वटै पक्कि पुलहरुको निर्माण सकिएको थियो । चारवटै पक्की पुलहरु तोकिएकै मितिमा निर्माण भएको सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वले जनाएको छ ।

चुन्बाङ (बञ्चरे खोला) सडक पुल निर्माणको ठेक्का हिम शिखर हिरा सप्लासर्य ईन्जिनियरिङ जेभिले पाएको थियो । २५ मिटर लामो उक्त सडक पुल निर्माणका लागि जेभिले तीन करोड ९६ लाख २५ हजार रुपियाँमा २०७९ चैत ७ गते सम्झौता गरेको थियो । 

२०७९ चैत २ गते च्याङचुङ खोला (लङजुला) सडक पुल निर्माणको लागि राजबिर निर्माण सेवा रोल्पासँग ठेक्का सम्झौता भएको थियो । तीन करोड ७१ लाख १५ हजार १५८ रुपियाँमा उक्त पुल निर्माणको लागि सम्झौता भएको थियो । उक्त पुलको लम्बाई १६ मिटर रहेको छ । 

त्यस्तै च्याङचुङ खोला (लाखर) सडक पुलको ठेक्का कालापानी किरण जेभिले पाएको थियो । यो पुल निर्माणका लागि तीन करोड ३१ लाख चार हजार ५३२ रुपियाँमा ठेक्का सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वले जनाएको छ । १४ मिटर लामो उक्त सडक पुल निर्माणका लागि २०७९ चैत १२ गते उक्त सम्झौता भएको थियो ।

२०७९ चैत १२ गतेकै दिन च्याङचुङ खोला (च्याङचुङ) सडक पुल निर्माणको लागि राजबिर निर्माण सेवा रोल्पासँग ठेक्का सम्झौता भएको थियो । तीन करोड ५२ लाख रुपियाँमा उक्त पुल निर्माणको लागि सम्झौता भएको थियो । उक्त पुलको लम्बाई १४ मिटर रहेको छ । 

बञ्चरे खोलामा पुल निर्माण भएपछि दुईखोली – बाघमारा – चुन्बाङ सडकखण्डमा जोडिएका छन् भने लङजुला, लाखर र च्याङचुङ खोलामा सडक पुल निर्माण हुँदा चुन्बाङ– कोर्जा– महत सडकखण्ड जोडिएका छन् । 

पुल निर्माण पश्चात यातायात सेवा सहज भएको भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताउनुभयो । अब भूमे गाउँपालिका वडा नम्वर ६ र ८ जोड्ने दोमैस्थित थबाङखोलामा पुल निर्माण भएपछि चुन्बाङवासीले रुकुमकोटसम्म सिधा सडक सेवा पाउन सक्नेछन् ।

भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य पूर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ, उप प्रमुख मोहन बहादुर केसी, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्य, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख थम प्रसाद पाण्डेय लगायत सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधि, निवर्तमान जनप्रतिनिधिहरु, राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको कार्यक्रमको सञ्चालन सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वका सुचना अधिकारी विकास गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्